FLASH NEWS
  • Loading...

कोरोना संक्रमणको संभावित तेस्रो लहर रोकथाम म्याग्दीमा पूर्वतयारी, वच्चा विशेष वार्ड तयार पारिदै

  • पुनहिल डट कम
  • २ साल अघि
  • ८७ पटक पढिएको
कोरोना संक्रमणको संभावित तेस्रो लहर रोकथाम म्याग्दीमा पूर्वतयारी, वच्चा विशेष वार्ड तयार पारिदै

कोरोनाको तेस्रो लहर रोकथामकालागी म्याग्दीमा पूर्वतयारी थालिएको छ ।
संभावित तेस्रो लहरबाट प्रभावित भएका बालबालिकाको उपचार गर्न कोरोना अस्पताल समेत रहेको बेनी अस्पतालमा छुट्टै ५ बेड क्षमताको वच्चा विशेष वार्ड (प्याड्रिटिक इन्टेन्सीभ कियर युनिट, पिआईसियु) सेटअप गर्ने तयारी भैरहेको अस्पतालले जनाएको छ ।
त्यसैगरी कोरोनाको तेस्रो लहरको सामना गर्न बेनी अस्पतालमा रहेको २५ बेडको आईसोलेसन विस्तार गरी पाईपबाट अक्सिजन जडित १८ वटा वेड समेत ५० बेडको बनाईएको छ । अस्पतालमा २ सय २७ वटा हाईस्पीड (४० लिटर) क्षमताका अक्सिजन सिलिण्डर भर्ने काम भैरहेको छ । छुट्टै एक सयबढी थान अक्सिजन कन्सन्टेटर ब्यवस्था गरिएको बेनी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. जीतेन्द्र कंडेलले बताए ।
‘कोरोना संक्रमणको संभावित तेस्रो लहरको सामना गर्न तयारी गरिरहेका छौं । आईसोलेसनमा बेड क्षमता बृद्धी गर्ने, डाक्टरसमेत स्वास्थ्यकर्मी ब्यवस्थापन गर्ने, अक्सिजनको जोहो गरिरहेका छौं’ मेसु डा.कंडेलले भने, ‘तेस्रो लहरले बालबालिकालाई पनि प्रभावित गर्ने आंकलन गरिएकोले ५ बेड क्षमताको छुट्टै प्याड्रिटिक युनिटको सामाग्री खरिद गरी सेट अप तयारीमा छौं ।’
त्यसै विच लकडाउन खुकुलो भएसँगै कोरोनासंक्रमण बढेको र मास्क लगाएत स्वास्थ्य सावधानी पनि खुकोले भएपछि जिल्लामा पनि मास्क अनिवार्य गराउन जनचेतना फैलाउने अभियान तीव्र पारिएको छ ।
‘जिल्लाभर मास्क लगाउन र स्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गराउन जनचेतनामुलक अभियान सुरु गरिएको छ । अर्को तर्फ स्मार्ट लकडाउनको अवधारणामा छलफल पनि भैरहेको छ’ प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले भने ‘मास्क अभियान’ एक सातादेखी निरन्तर चलाईएको छ । जिल्ला भरका कोरोना अस्पतालमा वेड क्षमता अपग्रेड गराउन अध्ययन थालेका छौं ।’
कोरोना संक्रमणबाट उत्पन्न हुन सक्ने जोखिमलाई ध्यानमा राखी तोकिएका स्वास्थ्य मापदण्डको पूर्ण पालना गराउन सर्वसाधारण, सवारी चालक, सहचालक र यात्रुलाई सतर्क पारिएको छ । तर सरकारी कार्यालय, वैंक वित्तिय संस्थाका कर्मचारी र पसलका ब्यापारीले भने कार्यस्थलमा अनिवार्य मास्क लगाउने र स्वास्थ्य सावधान अपनाउन छोडेका छन ।

जिल्लाका राजनैतिक दलका नेता कार्यकर्ताले पनि आफ्ना राजनैतिक गतिविधी गर्दा सामाजिक दुरी र मास्क लगाउने जस्ता स्वास्थ्य सावधानीमा लापरवाही गर्ने गरेका छन ।
स्मार्ट लक डाउन तयारी
जिल्लामा कोरोना संक्रमण बढेसँगै स्वास्थ्य कार्यालयले प्रभावित क्षेत्र अनुसार गरिने स्मार्ट लक डाउन गर्ने तयारी थालेको छ । जिल्लामा साप्ताहिक संक्रमणको अनुपातमा रातो, पहेंलो र हरियो क्षेत्र विभाजन गरी पुरै, आंशिक वा सिमित क्षेत्रमा लकडाउन गर्न तथ्याङ्क विष्लेशण थालेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयका सुचना अधिकारी गणेश सुवेदीका अनुसार पछिल्लो एक सातामा जिल्लामा कोरोना संक्रणको अनुपात ४० प्रतिशत छ । यो हप्ता २ सय ८७ जनाको एन्टीजिन र पिसिआर परिक्षण गर्दा १ सय १६ जनामा संक्रमण पुष्टी भएको छ । त्यसैगरी जिल्लामा सरदर हप्तामा एक जनाको कोरोना संक्रमण भै मृत्यु हुने गरेको छ ।

सक्रिय संक्रिमित
स्वास्थ्य कार्यालयका अनुसार विहिवार दिउँसो ४ बजेसम्म १ सय २२ जना सक्रिय संक्रमित छन । यीमध्य बेनी अस्पताल र पालिका स्तरिय कोभिड अस्पतालमा गरी कम्तीमा १० जना कोरोना संक्रमितको उपचार भैरहेको छ ।
हालसम्म तीन हजार ६६ जना कोरोना संक्रमित भए । कोरोनाको कारण ७५ जना जना जिल्लावासीले ज्यान गुमाएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।
कोरोना विरुद्धको खोप
कुल एक लाख १३ हजार जनसंख्या रहेको जिल्लामा हालसम्म १८ बर्ष माथिएका जम्मा १७ हजार ५ सय जनाले कोभिशिल्ड, भेरोशिल र जोन्सन एण्ड जोन्सनका कोरोना विरुद्धको पूर्ण खोप पाएका छन । १२ हजार भन्दा बढी जनाले पहिलो डोज मात्र खोप पाएका छन ।
अभिलेख अनुसार कोभिशिल्डको पहिलो खोप पाएका १९ हजार ५ सय ८४ जनामध्य ७ हजार ५ सय ७८ ले मात्र दोस्रो डोज खोप पाए । त्यसैगरी १ हजार ६ सय १४ जनाले पहिलो डोज भेरोशिल खोप लगाएकामध्य १ हजार ५ सय १९ जनाले मात्र दोस्रो डोज खोप लगाउन सके । जोन्सन एण्ड जोन्सन भ्याक्सिन ८ हजार ४ सय ४७ जनाले लगाए ।
कोभिशिल्ड दोस्रो डोज लगाउन बाँकी मंगला, मालिका र धवलागिरी गाउँपालिकामा भदौ ८–१० गते क्याम्प राखेर खोप लगाउने योजना छ ।
‘खोप पाउने अनुमानित लक्षित जनसंख्या एक लाख १० हजार २ सय ४१ जना हो । यो संख्याको ७२ प्रतिशत मात्र १८ बर्ष माथिका हुन । यसरी हेर्दा भ्याक्सिनेटडको संख्या २५ प्रतिशत हाराहारी छ’ जिल्ला स्वास्थ्य कार्यालय प्रमुख एकनायराण लम्सालले भने, ‘सदरमुकाम बेनीमा फाट्टफुट्बाहेक खोप लगाउने लक्षित सवै समुहले ब्यवस्थित रुपमा खोप पाएका छन । भ्याक्सिन जिल्लामै थोरै आएको हो । भ्याक्सिनको संख्या बढे हामीले सोही अनुसार खोप लगाउन सक्छम छौं ।’