तीन सय वर्ष पुरानाे राखु भगवतीकोट मन्दीर प्यागोडा शैलिमा पुननिर्माण

१५ भाद्र २०७८, मंगलवार मा प्रकाशित (2 हप्ता अघि)
पुनहिल संवाददाता
रघुगंगा गाउँपालिका, २ स्थित भर्लाको डाँडामा अवस्थित राखु भगवती कोट मन्दीर पुननिर्माण गरिएको छ । राखु भगवतीकोट ‘धजाअक्षेता’ शिर्षकमा सरकारी खर्च (बजेट) आउने जिल्लाको एक मात्र मन्दीर हो । राष्ट्रिय गुठी संस्थानले जिल्ला मालपोत कार्यालय मार्फत हरेक बर्षको दशैंमा ‘धजाअक्षेता’ खर्च पठाउने गरेको छ । तत्कालिन राजा गिर्वाणयुद्ध विक्रम शाहकी रानी सूवर्णप्रभा तीर्थाटनका लागि मुक्तिनाथ जाँदा/फर्कदा यही राखुमा बास बसेको र गोर्खा फर्केपछि राखु भगवती कोटमन्दीरमा पनि पुजा संञ्चालनार्थ धजाअक्षेता खर्च निरन्तर आईरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्र्तगतको पुरातत्व विभागको ६९ लाख ३० हजार ५ सय ६६ रुपैयाँ लागतमा भुकम्प प्रतिरोधी प्रविधी अपनाएर मन्दीर पुननिर्माण भएको हो । एतिहाँसिक मन्दीरको पुरातात्वीक बस्तुको महत्वको संरक्षण गर्न मन्दीरको वास्तुकला, मौलिक प्रविधीको अनुकरण प्रयास गरिएको छ । प्यागोडा शैलिमा पुननिर्माण गरिएको मन्दीर पुरानै शैली अनुसार चुना, गिट्टी, ढुङ्गा, वालुवा र काठको प्रयोग भएको भगवती कोट पुर्ननिर्माण समितिले जनाएको छ । मन्दीरको छाना पनि स्थानीय छाई ढुङ्गा (स्लेट) प्रयोग भएको छ ।   ‘भगवती कोट मन्दीर ०७२ सालको भुकम्पले थप जीर्ण बनाएपछि मन्दीरको ऐतिहाँसिकता र पुरातात्वीक महत्व मर्न नदिने पुरातात्वीक विभागमा प्रस्ताव पेश गरेका थियौं । विभागले सोही अनुसार मन्दीर पुननिर्माण गराएको हो’ भगवती कोटमन्दीर पुजा ब्यवस्थापन समितीका अध्यक्ष देवेन्द्रबहादुर मल्लले भने, ‘आरसिसी गरी बनाएको भए मन्दीर रंगिन बनाउन सकिन्थ्यो होला तर सम्पदा नासिन्थ्यो । हामीले सम्पदा संरक्षण गर्न चाह्यौ र मन्दीर पुरानै शैलीमा पुर्ननिर्माण भएको छ ।’ करिव ७ सय वर्ष अघि रुईसेमा दरवार रहेको तत्कालिन भुरे राजाले भर्लाको डाँडामा (मैदान नजिकै) स्थापना गरेको यस कोटमन्दीर रघुगंगा गाउँपालिका अन्र्तगतका (साविकका चिमखोला, दर्मिजा, दग्नाम, मौवाफाँट, पिप्ले, भगवती, वेग गाविस) साझा मन्दीरको रुपमा रहेको छ । नवदुर्गा भगवती मन्दीर शक्तिपीठमा पशु वली दिने हिन्दु धार्मिक परम्परा छ । परम्परा अनुसार भगवती कोट मन्दीरमा वली चढाईने सरकारी राँगो मार हन्न (काट्न) संभवत नेपालमै सर्वाधिक धेरै रकम वोलकवोल हुने गरेको छ । अघिल्लो वर्ष सरकारी राँगो मार हान्न दुई लाख सम्म वोलकवोल भएको थियो । ‘यो यस क्षेत्रकै एतिहाँसिक कोट मन्दीर हो । यहाँको सरकारी राँगो काटेपछि मनले आँटेको पुग्छ भन्ने जनविश्वास भएकोले दुर्गाभगवतीलाई वली चढाईने राँगो मार हान्न ठूलो हानथाप नै हुन्छ’ जिल्ला समवन्य समितिका संयोजक समेत रहेका स्थानीय देवेन्द्रबहादुर केसीले भने, ‘बाईसे/चौविसे राज्यकालदेखी यहाँको कोटमन्दीरमा बढीबढाउ गरी राँगो हान्ने (काट्ने) चलन छ ।’ प्राचिन स्मारक संरक्षण ऐन २०१३ (संशोधनसहित)को परिभाषा अनुसार स्थापत्यकालको दृष्टिकोणले सय बर्ष नाघेका मन्दिर, घर, देवालय, शिवालय आदी तथा सो ठाउँमा रहेका स्मारकहरुको भग्नावशेषलाई ‘प्राचिन स्मारक’ र सो कालमा मानिसले निर्माण गरी उपभोग गरेका वस्तु तथा इतिहास बोध गराउने अभिलेखहरु, मुद्रा वा एतिहासिक विशिष्ट ब्यक्ति बसेको घर र घरायसी सामाग्री, मुर्ति, देवी देवताको मन्दीर, चैत्य, शालिक आदीलाई ‘पुरातात्विक बस्तु’ भन्ने गरिएको छ । पूर्व सांसद तथा म्याग्दीको इतिहाँसका अध्यता चन्द्रप्रकाश बानियाँका अनुसार स्थानियमा सम्पदा तथा स्मारकको महत्व बारे जानकारी नै भएन । दोस्रो, पुरानो बास्तुकलालाई दुरुस्त पुन:निर्माण गर्ने सीप स्थानिय कालीगढमा भएनन । र तेस्रो गुठी जग्गा, मन्दीरमा उठ्ने भेटी रकमले मठमन्दीर आय श्रोतको केन्द्र बन्न थालेपछि स्वार्थ समुहले नियतबस सम्पदा/स्मारकको स्वरुप फर्ने वा ओझेलमा पार्ने गरिएको छ । ‘तत्कालिन पर्वत राज्य कला, बास्तुकलाको हिसावले विशिष्ठ स्वरुप भेटिदैनन । राजा रजौटाका दरवार, मठमन्दीर सवै सामान्य स्वरुपका देखिन्छन । जे जस्ता स्वरुपका भएपनि यी एतिहाँसिक सम्पदा हुन । सोही स्वरुपमा संरक्षण गर्नु पथ्र्यो तर त्यो संभव भएन । राणाकालमा जीर्णोद्धार/पुननिर्माण गरिएका संरचना पनि धमाधम नासिँदै छन’ म्याग्दीको इतिहाँसका अध्यता समेत रहेका पूर्व सांसद बानियाँले भने, ‘म्याग्दीको सम्पदा तथा स्मारकहरु अज्ञानता, बास्तुकलाको कालीगढ सीप अभाव वीच राखु भगवतीको कोट मन्दीर पुननिर्माणमा पुरातात्वक महत्व संरचण प्रयास भएको कुरा राम्रो हो ।’