छैन पढ्ने संस्कार!

१२ भाद्र २०७८, शनिबार मा प्रकाशित (3 हप्ता अघि)
पुनहिल संवाददाता
केही दिन अगाडि डाक्टर अच्युत वाग्लेले आफ्नो ट्वीटर अकाउन्टमा ‘एम फिलमा भर्ना खोजेका ३५ उम्मेदवारको अन्तर्वार्ता सकियो। सबैलाई १ साझा प्रश्न सोधेको- तपाईंले जीवनमा आध्योपान्त पढेको कोर्स बुकबाहेक एउटा पुस्तकको नाम भन्नुस्। ३३ जनाले कुनै त्यस्तो पुस्तक पढेका थिएनन्। लट्पट गफ दिन्थे। ३० देखि ४० भएका यी युवाले भोलि देश चलाउनु छ। निराशा!’ यस्तो  ट्विटपछि सामाजिक सञ्जालमा एक किसिमको तरंग नै आएको देखियो। विभिन्न मिश्रित प्रतिक्रिया देखियो। कतिपयले सकारात्मक रूपमा लिएको पाइयो भने धेरैजसो प्रतिक्रिया नकारात्मक नै थिए। मलाई लाग्छ कि यो एउटा गम्भीर विषय हो र यो बारेमा केही लेख्न मन लाग्यो। सिकाइ निरन्तर चलिरहने प्रक्रिया हो मानिस जन्मेदेखि नमरुन्जेलसम्म सिकाइ चलिरहन्छ। सिकाइ विभिन्न तवरले हुने गर्दछ। नेपालमा पढ्ने भनेको स्कुल, कलेज र युनिभर्सिटी गएर पढ्ने र एउटा तहको डिग्री लिनुलाई बुझिन्छ। यो धेरैजसो मानिसमा रहेको सामान्य धारणा हो। धेरैजसो मानिसमा यो सोच रहेको छ कि बाहिरी किताब पढ्नु भनेको कुनै उत्पादनमूलक काम गर्नु होइन। स्कुल, कलेज र युनिभर्सिटीमा डिजाइन गरिएको पाठ्यक्रममा भएका किताब पढाइन्छ र तोकिएको निश्चित अवधिपछि परीक्षा लिइन्छ।
उक्त जाँच कम्तीमा २ घण्टाको र धेरैमा ४ घण्टाको हुने गर्दछ। जुन जाँचमा विद्यार्थीले आफूले पाठ्यक्रममा तोकिएको किताब पढेर बुझेर लेख्नु पर्दछ। त्यही लेखाइको आधारमा उच्च र कम अंक दिइन्छ र राम्रो पढ्ने र नराम्रो पढ्ने विद्यार्थी भनेर मूल्यांकन गरिन्छ। त्यहाँ अरू कुनै विद्यार्थीको क्षमता मापन गर्ने विकल्प नि हुँदैन र गरिँदैन पनि। जस्तै: विद्यार्थीले कति जीवन उपयोगी सीप सिकेको छ, समस्याको समाधान कसरी गर्दछ, तार्किक क्षमता कस्तो छ, कति बाहिरी ज्ञान हासिल गरेको छ, कति बाहिरी किताब पढेको छ आदि। केबल २ घण्टाको आधारमा मूल्यांकन गरिन्छ। अनि कसरी हुन्छ त बाहिरी किताब पढ्ने र समाज बुझ्ने बानीको विकास? समस्या त कुनै व्यक्तिमा मात्र नभएर सिंगो व्यवस्थासँग छ। माफ गर्नुहोला यहाँ कतिपय शैक्षिक संस्था छन् जहाँ फरक तरिकाले मूल्यांकन गर्छन् र विद्यार्थीलाई थुप्रै पुस्तक पढ्ने वातावरण सृजना गरिन्छ। तर अधिकांश ठाउँमा यस्तो पाइँदैन। किन छैन त नेपालमा पढ्ने संस्कार? किन पुस्तक पढ्नुलाई पढाइको रूपमा लिइँदैन त? समस्या कहाँ छ त ? डाक्टर वाग्लेको विचारलाई लिएर धेरै किसिमका प्रतिक्रिया सन्जालमा छरप्रस्टरूपमा देखिए। कतिपय मानिसहरूले नेपालमा पढ्ने बानी नभएको भनेर चिन्ता व्यक्त गरेका थिए भने धेरैले गाली गरेका थिए। त्यहाँ आएका कमेन्टमध्ये कतिपय युवाहरूको कमेन्ट थियो ‘के देश चलाउनको लागि पढ्नैपर्छ र?’ यो कमेन्ट मलाई धेरै विरोधाभासपूर्ण लाग्यो। यसमा  कता-कता देश चलाउनेहरूलाई व्यंग्य हानेको देखिन्छ भने अर्कोतिर नेपालको शैक्षिक व्यवस्थाप्रति निराशा व्यक्त गरेको देखिन्छ। उनको भनाइ थियो कि को चाहिँ राम्रो पढेको छ र! नपढे पनि देशको उच्च ओहोदामा बसेर देश हाँकिरहेका छन्। यदि राम्रो पढेको मान्छेको हातमा देश भएको भए आज देशको हालत यस्तो हुने नै थिएन। अर्कोतिर राम्रो पढेर नि भनेजस्तो अवसर नपाएर निराशामा बाँच्नु परेको बिडम्बना त छँदैछ।
नेपालमा चाहेजस्तो  विकास नहुनु र सधैं पछाडि पर्नुको मुख्य कारण स्पष्ट विचार, दुरदर्शिता र मानिसहरूको  शिक्षाप्रतिको गलत धारणा हो। मैले पढेको थिएँ सन्त नेता भनेर चिनिने नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद भट्टराईको किताबमा ‘नेपाली राजनीतिमा यदि नेताहरूले कविता पढ्ने, पुस्तक पढ्ने र गीत संगीत सुन्ने हो भने हाम्रो राजनीति धेरै माथि उठ्ने थियो’। मलाई यो भनाइ निकै सही लाग्यो। हुन पनि हो, हाम्रा नेताज्यू, मन्त्री ज्यूहरूले राम्रो अध्ययन गर्ने, पुस्तकहरू पढ्ने हो भने साँच्चै नै हाम्रो देशलाई सही तरिकाले नेतृत्व गर्थे होलान्। सदाचारिता, इमानदारिता, कर्तव्यनिष्ठा जस्ता गुणहरू पटक्कै पाइँदैन हाम्रो देश हाक्नेहरूमा। यो सब सोच, खोज र अध्ययनको कमीले गर्दा हो। नेपालमा औपचारिक शिक्षाको त्यति लामो इतिहास नभएता पनि शिक्षामा राम्रै प्रगति भएको देखिन्छ। धेरै मानिसहरू औपचारिक रूपमा साक्षर छन्। धेरै जनासँग विभिन्न तहको डिग्री र सर्टिफिकेट छ। तर दु:खको कुरा डिग्री हातमा छ तर कुनै जीवन ज्यूनको लागि अतिआवश्यक सीप, ऊर्जा र दृष्टिकोण छैन। यो कुनै व्यक्तिको समस्या नभएर सिंगो देशको समस्या हो। धेरैजसो युवाहरू एउटा निश्चित तहको पढाइ सकाएपछि रोजगारीको सिलसिलामा भौंतारिने गर्छन् र भनेजस्तो अवसर नै नपाएपछि आफूले पढेको बेकार भयो भन्दै आफ्ना सबै आशा र इच्छालाई निराशामा बदल्छन्। यो किन हुन्छ भने उनीहरूले विभिन्न तहको  औपचारिक अध्ययनको क्रममा कहिले पनि जीवन कसरी जिउने भन्ने कुरा सिकाइएको हुँदैन। न त घर परिवारले सिकाउँछ, न त समाजले, न त स्कुल, कलेज र युनिभर्सिटीले नै सिकाउँछ। न त कुनै त्यस्तो पुस्तक नै पढेको हुन्छ। सिकाइ र अध्ययन भनेको औपचारिक रूपमा मात्र  नभएर अनौपचारिकरूपमा नि हुने गर्दछ। त्यस्ता कतिपय मनिसहरू छन् जो जिन्दगीभर औपचारिक शिक्षा नलिएका तर जीवनमा धेरै महत्वपूर्ण कुरा सिकेका। मैले एक जना दिदीलाई भेटेको थिएँ संयोगवश। केहीबेरको  बसाइपछि म अति नै प्रभावित भएको थिएँ। उहाँ कहिले पनि स्कुल, कलेज जानु भएको रहेनछ तर उहाँको बौद्धिकता, सक्षमता र हरेक क्षेत्रको ज्ञान देख्दा लोभ लागेर खपिनसक्नु भएको थियो मलाई। उहाँले कम्तीमा नि ४००० पुस्तक पढ्नु भएको रहेछ विभिन्न क्षेत्रको, नेपाली तथा अंग्रेजी दुबै भाषामा उतिकै अब्बल। अलिकति फुर्सद भयो कि अध्ययनमा लागिहाल्नु हुँदोरहेछ। यही कुराबाट प्रस्ट हुन्छ कि पुस्तक पढ्नुको कमाल नै छुट्टै हुन्छ भन्ने कुरा। एक जना विदेशी केटीसँग केही समय अगाडि भेट भएको थियो। उसको झोलामा २-३ वटा मोटा-मोटा किताब थिए। उसको कुरा अनुसार विदेशमा औपचारिक शिक्षालाई पढ्नैपर्छ भनेर जबर्जस्ती धेरै जोड दिइँदैन तर पुस्तक भने हरेक व्यक्तिले पढ्छन्। उनीहरूलाई हरेक समाज, संस्कार र भेषभुषाको ज्ञान हुन्छ। त्यो सब पुस्तक पढेर। उनको भनाइबाट थाहा हुन्थ्यो कि विदेशीहरू धेरै अध्ययन गर्दा रहेछन्। एक वर्ष अगाडि मैले एक जना स्कुलमा पढाउने एक जना भर्खरको शिक्षकलाई भेटेको थिएँ। केहीबेरको वार्तालापपछि, प्रसंगवश हाम्रो किताबको बारेमा कुरा चल्यो। मेरो झोलामा एउटा किताब थियो। मैले त्यो किताब निकालेर देखाएँ तर बिडम्बना उनको प्रतिक्रिया बिल्कुल फरक थियो। उनले भनिन्- यस्तो नि के पढेको, यो लेखकले कुन मुडमा, आफू दिक्क भको बेला लेखेको कुरा हामीले किन पढ्ने, समय किन खेर फाल्ने? बरु बजारमा कसरी पैसा कमाउन सकिन्छ भनेर सिक्ने? उनको यो प्रतिकृया देखेर म अकमक्क परें। बाँच्नको लागि पैसा कमाउनु अर्कै कुरा हो। तर एउटा शिक्षण पेशामा लागेको व्यक्तिले त्यस्तो कुरा गर्नु निकै निराशाजनक कुरा थियो। मैले सोधें- कलेजमा कुन विषय पढ्नु भयो? उनको उत्तर थियो- इंग्लिस र सोसिओलोजी। उनको यो उत्तर सुनेपछि, मेरो निराशाले सीमा नाग्यो। एक त शिक्षण भनेको धेरै खोज र अध्ययन गर्नुपर्ने क्षेत्र अनि अर्को कुरा उनले अध्ययन गरेको विषयमा धेरै समाज, साहित्यको र सिंगो मानव संसारको अध्ययन गर्नुपर्ने हुन्छ। उनी त एउटा प्रतिनिधि पात्रमात्र हुन्। यस्ता धेरै व्यक्तिहरू छन् जो आफूले पढेको विषय के हो भनेर नै अलमल्लमा परिरहेका हुन्छन्।  यसबाट नि प्रष्ट हुन्छ कि नेपालमा पढ्ने संस्कार कस्तो छ! अब कुरा गरौं नेपालको विश्वविद्यालय तहको पढाइको। धेरै मानिसहरू युनिभर्सिटी जान्छन्, युनिभर्सिटीमा अध्यापन गराइन्छ पाठ्यक्रममा भएको विषयवस्तुको। त्यहाँ कुनै ऊर्जा जगाउने, विषयवस्तुसँग थप ज्ञान बढाउने पुस्तकहरू कहिल्यै पढाइँदैन र विद्यार्थीलाई पढ्नको लागि  उत्प्रेरणा नि कमै दिएको पाइन्छ। बस कोर्स सकायो, जाँच लियो सकियो। हरेक वर्ष नयाँ नयाँ अनुहार आइहन्छन्  यही क्रममा अध्ययन- अध्यापन चलिरहन्छ। अनि अर्को कुरा युनिभर्सिटीका ठूला- ठूला भवनमा कुनै एउटा भनेजस्तो लाइब्रेरी हुँदैन। यदि लाइब्रेरी भएता पनि व्यवस्थित हुँदैन। हरेक कलेजमा व्यवस्थित लाइब्रेरी होस्, हरेक क्षेत्रका पुस्तकहरूको संकलन होस्, हरेक कक्षाका विद्यार्थीलाई पढ्ने उत्प्रेरणा जगाउँदै लाइब्रेरीबाट विद्यार्थीहरूलाई पुस्तकहरूको व्यवस्था गरियोस्। अवश्य पनि हरेक विद्यार्थीले आफ्नो रोजाइ अनुसारको पुस्तक पढ्छ नै। अनि पो हुन्छ र पढ्ने बानीको विकास। खै त पढ्ने वातावरण? हरेक कलेजले चाह्यो भने यो वातावरण सृजना गर्न सक्छ, तर यहाँ समस्या व्यवस्थासँग छ। हरेक क्षेत्रको विद्यार्थीले आफ्नो कोर्सबुकभन्दा बाहेकको पुस्तक पढ्नैपर्छ। चाहे डाक्टर, इन्जिनियर, पाइलट आदि  जोसुकै होस्।  सबभन्दा बढी त आर्ट्स र एजुकेसन क्षेत्रको विद्यार्थीले पढ्नुपर्छ। तर नेपालमा यो कतै पनि पाइँदैन। पहिला कुरा त धेरै विद्यार्थीहरू आफूले पढेको क्षेत्रको विशेषता के हो? के पढिरहेको छु, कसरी निखार्न सक्छु आफूलाई र आफूले पढेको क्षेत्रमा अब्बल बन्न सक्छु भन्ने कुरामा नै स्पष्ट हुँदैनन्। अर्को कुरा आफ्नो क्षेत्रसँग सम्बन्धित र बाहिरी किताब नै पढ्दैनन्। कोही-कोहीमा स्पष्ट बुझाइ र धारणा होला तर अधिकांशमा छैन। आर्ट्स र एजुकेसन पढ्ने विद्यार्थीले धेरै पुस्तक पढ्ने भए पक्कै पनि हाम्रो देशको एजुकेसन सेक्टर धेरै राम्रो हुने थियो। मेरो एक जना अंकल लामो समयदेखि शिक्षण पेशामा काम गरिरहनु भएको छ। उहाँले कम्तीमा पनि दश हजार जति  विभिन्न क्षेत्रका पुस्तक पढ्नु भएको छ। उहाँको भिजन निकै फराकिलो छ। शिक्षा क्षेत्र भनेजस्तो राम्रो नहुनुको मुख्य कारण शिक्षकले अध्ययन नगर्नु यसको मतलब आफ्नो क्षेत्रलाई निखार्न, समाज बुझ्न, बालमनोविज्ञान बुझ्न, शिक्षामा आएका परिवर्तन बुझ्न बाहिरी पुस्तक पढेर अध्ययन नगर्नु हो। यसको लागि उहाँले एउटा अनुसन्धान गर्नुभयो। नेपालको धेरैजसो भू-भागमा, अध्यापन गरिरहेका धेरै शिक्षकलाई सोध्नुभएछ कति अध्ययन गर्नुहुन्छ, कति पुस्तकहरू पढ्नुहुन्छ, स्कुलमा लाइब्रेरीको कस्तो व्यवस्था छ, विद्यार्थीहरू कसरी पुस्तक पढ्छन् कुन-कुन दिन पढ्छन् भनेर सोध्नु भएछ। तर उत्तर शून्य। यो देखेर उहाँले धेरै असन्तुष्टि व्यक्त गर्नुभयो। नेपालमा अध्यापन गरिरहेका शिक्षकहरू र नेपालको सिंगो शैक्षिक व्यवस्थाप्रति। उहाँले आफ्नै बलबुताले सकीनसकी विभिन्न दाताहरूसँग हारगुहार गरेर पुस्तकहरू संकलन गर्नुभयो। गाउँमा पढ्ने बानीको विकास होस् भनेर एउटा लाइब्रेरीको स्थापना गर्नुभयो। तर लज्जास्पद कुरा कोही कसैले पढ्नेनन्, पढ्न मनै लगाएनन्। सबभन्दा दुखलाग्दो कुरा त शिक्षकले नै नपढ्नु। अनि त्यो लाइब्रेरी स्रोत केन्द्रमा जिम्मा लगाउनु भएको छ। यसबाट बुझिन्छ कि नेपालमा शिक्षकहरू कति पढ्छन् भनेर। सामाजिक सन्जाल धेरै मानिसहरूको मोह तथा समय कटाउने माध्यम  बनेको छ। यसले धेरै हदसम्म मानिसहरूलाई मनोरन्जन तथा सूचना दिने गर्ने काम गरेको छ। तर सामाजिक सन्जाललाई नियालेर हेर्दा धेरैजसो रंग न ढंगको पोस्ट भइराको देखिन्छ, न त कुनै स्पष्ट विचार न त भन्न खोजेको कुराको भाषागत शुद्धता। अनि अर्को नराम्रो कुरा,  कसैको बारेमा, कुनै पनि समाचारको विषयमा राम्रो जानकारी नभई  जानकारी नलिई मनलाग्दी, नानाभाती कमेन्ट गरेको देखिन्छ। कति हदसम्म त व्यक्तिगत रूपमा चरित्र हत्या गरेको देखिन्छ। यो सब अध्ययनको कमीले हो, बुझाइको कमीले गर्दा हो। यदि कुनै पनि विषयको वस्तुपरक अध्ययन गर्ने हो भने कुरा के हो भनेर स्पष्ट बुझेर सही कमेन्ट गर्थ्यो होला। धेरै मानिसहरू धर्मको नाममा, भाषाको नाममा, जातीयताको नाममा पार्टीको नाममा धेरै झगडा गरेको देखिन्छ, तर त्यो झगडामा राम्रो तर्क देखिँदैन। यो सब यी विषयको वस्तुपरक अध्ययन नगर्नु हो। यदि राम्रो अध्ययन गर्ने हो भने तर्कसंगत कुरा गर्थे होलान्। सामाजिक सन्जाल हेर्दा नै थाहा हुन्छ कि नेपालमा मानिसले अध्ययन कति गर्छन् भनेर। मैले पढेको थिएँ विश्वका सम्पन्न र विकसित देशमा धेरै मानिसहरूले छुट्टीको बेला पुस्तक पढेर बिदा मनाउँछन्। अनि विद्यार्थीहरूलाई लामो बिदामा बढीभन्दा बढी पुस्तक पढ्न लगाइन्छ। धेरैजसो मानिसको  हरेक नयाँ वर्ष सुरू हुँदा त्यो वर्षभरि कति पुस्तक पढ्ने, कति ठाउँ घुम्ने भनेर योजना नै हुन्छ। यसरी योजनबद्ध ढंगले किताब पढ्ने र ठाउँहरू घुम्ने गर्दा रहेछन्। कतिपय जागिरको लागि लिइने अन्तर्वार्तामा अन्तर्वार्ताकारले सोध्ने गर्दा रहेछन् आफ्नो पेशासँग सम्बन्धित कति पुस्तकहरू पढ्नुभएको छ, आफ्नो पेसाभन्दा बाहिरको कति पुस्तक पढ्नु भएको छ, कति पढ्ने योजना छ भनेर। यसबाट के बुझिन्छ भने त्यहाँ पढ्ने कल्चर धेरै छ। नेपालमा ठूला-ठूला सपिङ मल खुलिरहेका छन् दिनदिनै। भ्यु टावर खुलिरहेका छन्। यदि ठाउँ-ठाउँमा पब्लिक लाइब्रेरी खोल्ने, व्यवस्थित ढंगले सञ्चालन गर्ने हो भने अवश्य पनि धेरै मानिसले पढ्ने मौका पाउँथे र पढ्ने संस्कारको विकास हुन्थ्यो। तर दु:खको कुरा यस्तो कुरा सरकारको योजनामा नै पर्दैन। कोही कसैको चासोको विषय नै देखिँदैन। अध्ययनले मान्छेलाई ज्ञानमात्र दिँदैन। राम्रो अध्ययन गर्ने मान्छेको सोचाइको दायरा निकै फराकिलो हुन्छ, बौद्धिकता, स्पष्टता, वैचारिकरूपमा निक्कै पकड हुनुको साथै जीवन जिउने कला राम्रोसँग बुझेको हुन्छ। अध्ययन एउटा तपस्या नै हो। जोकोहीलाई सजिलै अध्ययन गर्न मन लाग्दैन तर पढ्नको लागि ऊर्जा जगाउने वातावरण, पढ्ने मानिसहरूसँगको संगत र पढ्नको लागि स्रोत छ भने यो अवश्य पनि गाह्रो हुँदैन। जब बानी पर्छ, तब मानिस झन् धेरै पढ्ने स्वभावको हुन्छ। यसरी माथिका उदाहरणबाट के प्रष्ट  हुन्छ भने नेपालमा पढ्ने संस्कार राम्रो छैन। औपचारिक अध्ययनलाई मात्र मान्यता दिने र बाहिरी पुस्तक पढ्ने संस्कारप्रति मानिसको दृष्टिकोण सही भएको पाइँदैन। पढ्ने संस्कारको विकास नहुनुका धेरै कारण छन् : घरदेखि पढ्ने वातावरण नहुनु, स्कुल कलेज र युनिभर्सिटीले पढ्नको लागि हौसला तथा लाइब्रेरीको व्यवस्था नगर्नु, पब्लिक लाइब्रेरी नै नहुनु। यो होइन कि कोही पनि पुस्तक पढ्दैनन्, सबैमा पुस्तक पढ्ने बानी नै छैन, संस्कार नै छैन। यहाँ धेरै अध्ययनशील मानिस पनि छन् तर अधिकांश व्यक्तिमा पढ्ने बानी छैन। अनि मैले यो पनि भन्न खोजेको हैन कि सधैंभरि किताब समातेर घोत्लिएर बस्नुपर्छ, किताबमा भएको सबै कुरा आफूमा लागु गर्नुपर्छ। समय मिलेसम्म पढ्ने, पढेको कुरा लागु गर्न सक्ने र मिल्ने  कुरा लागु गर्ने हो भने पढेको औचित्य हुन्छ। आफ्नो भिजनलाई फराकिलो पार्न, जीवनको लक्ष्य पहिचान गर्न, बाटो पहिल्याउन, जीवन जगतलाई राम्रोसँग बुझेर सफल जीवन जिउन धेरै अध्ययन गर्नुपर्छ। पुस्तक पढ्ने बित्तिकै मानिसको जीवनमा चमत्कार नै हुन्छ भन्ने होइन। कसरी पढ्ने र पढेको कुरालाई कसरी ग्रहण गर्ने भन्ने कुरा व्यक्ति पिच्छै फरक हुने कुरा र व्यक्तिमा भरपर्ने कुरा हो।  पवित्रा घिमिरेकाे याे लेख सेताेपाटीमा प्रकाशित छ ।