FLASH NEWS
  • Loading...

पर्वतमा विश्वकै दोस्रो लामो जिपलाइन बन्दै, दशैंमा संञ्चालनमा आउने

  • पुनहिल डट कम
  • २ साल अघि
  • २२१ पटक पढिएको
पर्वतमा विश्वकै दोस्रो लामो जिपलाइन बन्दै, दशैंमा संञ्चालनमा आउने

आगामी दशैंसम्म संञ्चालनमा ल्याउने गरी पर्वतमा विश्वकै दोस्रो लामो दावी गरिएको जिपलाइन निर्माण भैरहेको छ ।
सदरमुकाम कुश्मा नगरपालिका ५, चाक्लेको डिलबाट कालीगण्डकी नदीको किनारमा रहेको साउनेबगर सम्म १४ सय मिटरको दूरीमा जिपलाइन बनाउन थालिएको हो ।
७ जना युवाको १३ करोडको लगानीमा हार्नेश जिपलाइन प्रालिले बनाउँदै गरेको जिपलाइनको ९० प्रतिशत काम सकिएको प्रालिले जनाएको छ ।

‘अहिले रिसोर्टतर्फको काम पनि धमाधम भइरहेको छ । तर त्योभन्दा पहिले नै सञ्चालनमा ल्याउने गरी  जिपलाइन र हाइड्रोलिक पिङको काम अन्तिमतिर आइपुगेको छ’, कम्पनीका निर्देशक राजकुमार बस्नेतले भने,‘पर्वतमा एडभेन्चर टुरिजमको विकासको लागि यो जिपलाईन पनि महत्वपूर्ण हुनेछ ।’

उनका अनुसार जिपलाईनको परीक्षण अबको १५ दिन जिपलाइनको परीक्षण हुनेछ भने ६ महिनाभित्रमा रिसोर्टसहित सबै संरचना बनाएर पर्यटकहरूलाई मनोरञ्जनात्मक साहसिक खेलसँगै आरामदायी बसाइको व्यवस्था गरिनेछ । जिपलाइनका अर्का लगानीकर्ता एवं संरक्षक तथा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले पर्यटन प्रवद्र्धनका माध्यमबाट पर्वतको समृद्धि सम्भव रहेको बताए ।

‘छिमेकी जिल्ला कास्कीको पोखरामा जता हिँडे पनि पर्यटकहरु नै ठोकिन्छन् । कुश्माको बाटोहुँदै दैनिक सयौँ पर्यटकहरु मुस्ताङ पुग्छन्, तर यहाँ ओर्लिँदैनन’ नगरप्रमुख जोशी भन्छन्, ‘कालीगण्डकी र मोदी नदीमा अग्ला र लामा झोलुङ्गे पुलहरू र जिपलाइनले यहाँको पर्यटन प्रवद्र्धन हुन्छ ।’

हार्नेश जिपलाइनले पर्वत जिल्लालाई साहसिक खेलको जिल्लाकै रूपमा परिचित गराउन कालीगण्डकी नदीमा जेटस्की (वाटर बाइक) समेत सञ्चालन गर्ने योजना बनाएको छ । जेटस्कीको परीक्षण सफल भएमा कालीगण्डकी नदीको सतहमा मोटरसाइकल जस्तै गुडेजस्तै गरी गुड्ने साधनमा खेल्न पाइने छ ।