- Loading...
अन्धगल्छीमा पहिरोले सास्ती, एक सातामा खुल्यो अवरुद्ध यातायात
- पुनहिल डट कम
- ३ साल अघि
- १०७ पटक पढिएको
धौलागिरी र अन्नपुर्ण हिमश्रृखला विचको ६ हजार ९ सय ६७ मीटर गहिरो संसारकै गहिरो ‘अन्ध’ गल्छीको पर्ने दाना क्षेत्रमा पहिरै पहिरोले छिलोछिलो भएको छ ।
अन्नपूर्ण गाउँपालिका, ३ मा पर्ने दानाको गुईठे, ढुङ्गाखानी, रुप्से, काप्रे र बाँदरजुङसम्मको १४ किलोमिटर क्षेत्रमा निरन्तर झर्ने पहिरोले बेनी–जोमसोम–कोरोला सडकमा दैनिक यातायात अवरुद्ध हुने गरेको छ ।
त्यसैविच एक सातादेखी पहिरोले अवरुद्ध बेनी–जोमसोम यातायात संञ्चालन भएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार अन्नपूर्ण गापा, ३ काप्रेमा गएको पहिरोमा तल ग्याभिनजाली लगाएर ट्रयाक खुलेसँगै शनिवार साँझ देखी यातायात संञ्चालन भएको हो ।
गुईठेमा गत वर्षदेखी वस्ती नै विस्थापित हुने गरी सुरु भएको फगामको पहिरोबाट सडकमा लेदो आउनेहुँदा यातायात अवरुद्ध हुन्छ । रुप्सेछहरा, काप्रेगाउँ र बाँदरजुँगमा भने माथीबाट निरन्तर पहिरो आउँदै सडकको वेस सहित बगाउने गरेको छ ।
‘दानदेखी मुस्ताङ सीमासम्मको भुगोलमा दर्जनबढी पहिरो छन । गुईठे, रुप्से, काप्रे र बाँदरजुँगको भीरमा दैनिक पहिरोले यातायात अवरुद्ध हुन्छ । दिनभर पहिरो पन्छ्याएर यातायात खोल्यो, अलिअलि पानी परे राती उस्तै हुन्छ । हैरान बनायो’ सडक विभागका स्थानीय सुपरभाईजर इन्द्रसिं शेरचनले भने, ‘यो खण्डमा वर्षेनी मनसुनमा पहिरोले हैरान पार्छ ।’ सुपरभाईजर शेरचनले थपे, ‘मुस्ताङ्ग जोड्ने सडक भएकोले दैनिक पहिरो पन्छ्याउँने र यातायात संञ्चालन गर्न दवाव हुन्छ । कृषकको खेतवारी बगाएको देखेपनि डाईभर्सन खोल्नै पर्ने बाध्यता रहन्छ ।’
बेनी–जोमसोम सडकको २३ किलोमिटर तातोपानी देखी ३७ किलोमिटर घाँसासम्मको १४ किमी खण्डमा पहिरोले दैनिक यातायात अवरुद्ध पार्ने मात्र होईन दर्जनौं परिवारको घरवास उठाएको छ ।
बेनी–जोमसोम सडक विस्तार गर्न भित्ता काटेपछि गत वर्षदेखी सुरु भएको गुईठेको करिव एक सय मिटर लामो पहिरोले सडकदेखी माथी भित्तामा रहेको फगाम वस्तीका १७ घर भत्केपछि गाउँ छोडे । विस्थापित भएकाहरु दाना, सुगा, भुरुङ र केही गाउँदेखी परको पाखोवारीमा घर बनाई बसेका छन । पहिरोले उनीहरुलाई विस्थापित मात्र गराएन, भूमिहीन नै बनाएको छ । तलबाट मोटरबाटो खनेपछि पहिरोले तान्यो, अहिले यही फगामवस्तीबाट बग्ने लेदोले बेनी–जोमसोम सडक गुईठेमा दैनिक यातायात अवरुद्ध हुने गरेको छ ।
त्यसैगरी सडकले निम्त्याएको पहिरोले खेतवारी बगाएपछि सुकम्बासी बनेका मध्य एक हुन, अन्नपूर्ण गापा, ३ काप्रे गाउँका खड्ग खत्री । खत्रीको २२ रोपनी जग्गा बेनी–जोमसोम सडक र पहिरोले खाईदिएपछि भुमिहीन भएका हुन ।
पहिरोले मुस्ताङ सिमावर्ती काप्रे गाउँपनि जोखिममा परेको छ । वस्तीको पुछारमा बेनी–जोमसोम सडक निर्माण गरेसँगै सुरु भएको पहिरो बढ्दै वस्ती जोखिममा परेको हो ।
‘सुरुमा जग्गामो हाईवे पऱ्यो भनेर खुसी भए । विस्तारै पहिरो चल्यो । डोजर चलाएर पहिरो पन्छ्याईयो । पहिरो रोकिएन, फेरी यातायात खोल्न डाईभर्सन भन्दै नयाँ ट्याक खोलियो, पहिरो फेरी रोकिएन । दैनिक यातायात खोल्ने भन्दै डोजरले चलाएपछि पहिरो रोकिएन, झन गहिरो बन्दै माथीमाथी सऱ्यो’ यातायात खोल्ने नाममा दैनिक डोजर नचलाईदिन प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गर्न सदरमुकाम बेनी आएका खत्रीले भने, ‘यो वर्खाभरी डोजर लगाईदिनु भएन । मनसुन नरोकिएसम्म ग्याभिन जाली लगाएर पहिरो रोक्न असंभव जस्तै छ । हेर्दाहेर्दै २२ रोपनी वारी बग्यो, बचेको घरपनि बग्न लाग्यो । आफ्ना मान्छे भएको भए, मुअब्जा दिँदा हुन, हाम्रो बगेको बग्यै भो ।’ फोटो : इन्द्रसिं शेरचन