FLASH NEWS
  • Loading...

४२ मेगावाटको मिस्त्रीखोलाबाट तत्काल २८ मेवा मात्र उत्पादन

  • पुनहिल डट कम
  • २ साल अघि
  • २०२ पटक पढिएको
४२ मेगावाटको मिस्त्रीखोलाबाट तत्काल २८ मेवा मात्र उत्पादन

अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङमा निर्मित ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविधुत आयोजनाले ब्यवसायीक उत्पादन थालेको छ ।
असार १५ देखी ब्यवसायीक उत्पादन थालेको ४२ मेगावाटको मिस्त्रीखोला आयोजनाले हाल पूर्ण क्षमतामा भने उत्पादन गरेको छैन । विधुत प्राधिकरण लोडसेन्टरको माग अनुसार दैनिक २८ मेगावाट मात्र विधुत उत्पादन गरी ग्रीडमा पठाइएको आयोजनाले जनाएको छ ।
‘जेठ १५ बाट मिस्त्रीखोलाले विधुत उत्पादन गरी ग्रीडमा पठाएका छौं । असार दोस्रो सातादेखी ब्यवसायीक विधुत उत्पादन गरिरहेका छौं । प्राधिकरणको प्राविधिक कारणले लोड सेन्टरको माग अनुसार २८ मेगावाट मात्र विधुत उत्पादन भैरहेको छ’ मिस्त्रीखोला जलविधुत आयोजनाका अप्रेसन म्यानेजर दीपक शाहले भने, ‘ब्याक डेट देखी नै ब्यवसायीक विधुत उत्पादन भैरहेको भएपनि विधुत प्राधिकरण र मिस्त्रीखोला जलविधुत उत्पादक माउण्टेन इनर्जी विच भोली (मंगलवार) मात्र सम्झौता पत्रमा हस्ताक्षर हुँदैछ ।’


मिस्त्रीखोलाबाट उत्पादित विधुत अन्नपूर्ण गाउँपालिका, ३ दाना स्थित कालीगण्डकी करिडोर २२० केभिए प्रशासरण लाईनको सवस्टेसनमा जोडिएको छ । मिस्त्रीखोलाबाट विधुत उत्पादन सुरु भएसँगै पर्वत, बाग्लुङ, म्याग्दी र मुस्ताङमा पहिलो पटक विधुत पुऱ्याउने विधुत प्राधिकरणको स्वामित्वको अन्नपूर्ण गापा, ४ घराप स्थित २ मेगावाट क्षमताको तातोपानी सानो जलविधुत आयोजना बन्द गरिएको छ । विधुत खरिद सम्झौता अनुसार तातोपानी सानो जलविधुत केन्द हिउँदमा बन्द गर्ने र बर्खायाममा भने चलाउने सर्त रहेको मिस्त्रीखोला जलविधुत आयोजनाले जनाएको छ ।
माउण्टेन इनर्जी (साविक रोवष्ट इनर्जी) प्रालिले ०७३ जेठबाट निर्माण थालेको आयोजना सम्पन्न गर्न ५ अर्व ६४ करोड खर्च भएको छ । प्रति मेगावाट लागत १३ करोड ५० लाख उत्पादन लागत रहेको मिस्त्रीखोला नेपालकै सस्तो प्रोजेक्ट भएको आयोजनाले दावी गरेको छ । आयोजनाले विधुत प्राधिकरणसँग प्रति यूनिट बर्खा याममा ४ रुपैयाँ ६६ पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसामा बिधुत खरिद सम्झौता गरेको छ ।