FLASH NEWS
  • Loading...

सुर्तीजन्य पदार्थको बढ्दो प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर

  • पुनहिल डट कम
  • २ साल अघि
  • २१८ पटक पढिएको
सुर्तीजन्य पदार्थको बढ्दो प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर

सुर्तीजन्य पदार्थ बढ्दोको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पारेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्न बनेका कानूनहरुको कार्यान्वयन गर्न समेत जोड दिएका छन् ।

मंगलबार स्वास्थ्य पत्रकार मञ्च नेपाल र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को संयुक्त आयोजनामा गरिएको कोेभिड – १९ को सन्दर्भमा सुर्तीजन्य पदार्थ र नसर्ने रोग सम्वन्धी कार्यशाला गोष्ठी आयोजना गरिएको थियो । सो गोष्ठीमा सहभागी अधिकांश विज्ञहरुले सुर्तीजन्य पदार्थको प्रयोगले जनस्वास्थ्यमा पारेको विविध असरका बारेमा तथ्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले कोभिडको – १९ को संक्रमणका बेला सूर्तीजन्य पदार्थ र नसर्ने रोगको जोखिमबारे छलफल गर्नु निकै नै सान्दर्भिक रहेको बताए । उनले सूर्तीजन्य पदार्थ नियन्त्रणमा नेपालले विश्वमा छुट्टै पहिचान बनाएको बताए । ‘कामै नभएका होइनन्, धेरै राम्रा काम भएका छन् र अझ धेरै गर्न बाँकी छ । हामीले गर्नुपर्छ । यस्ता कार्यक्रमबाट आउने सुझावले सरकारलाई नीतिगत रुपमा संसोधन गर्न समेत सजिलो हुन्छ,’ श्रेष्ठले भने ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का उपाध्यक्ष प्राडा गौरबराज ढकालले सुर्तीजन्य पदार्थको प्रयोगले मानव स्वास्थ्यमा निकै हानी पारिरहेको भन्दै यसलाई नियन्त्रण र निरुत्साहित गर्नुपर्ने बताए । उनले यसका लागि स्वास्थ्य पत्रकारहरुको भूमिका समेत महत्वपूर्ण रहेको बताए । उनले सुर्तीजन्य पदार्थ भन्ने वित्तिकै मुटु, क्यान्सर तथा मधुमेह जस्ता रोगहरुमात्रै अगाडी आउने गरेको भन्दै अरु धेरै रोगहरुमा पनि यसको असर देखिएको बताए । उनले भने, ‘मुटु क्यान्सर जस्ता रोगहरु मात्रै होइन सुर्तीजन्य पदार्थ सेवनकर्तालाई स्पाइन सम्वन्धी समस्याहरु बल्झिराखेको हुन्छ । सर्जरी गर्दा घाउ पाक्ने सम्भावना हुन्छ । यस्ता कुराहरु पनि जनमानसमा आउनु पर्दछ ।’

उनले स्वास्थ्य पत्रकार मञ्चसंग परिषदले अरु अनुसन्धानात्मक कार्यक्रमहरुमा पनि सहकार्य गर्ने बताए ।

परिषदका प्रमुख कार्यकारी सदस्य सचिव डा प्रदिप ज्ञवालीले सुर्तीजन्य पदार्थको प्रयोगकर्ताहरु अपेक्षित रुपमा नघटी रहेको अवस्थामा नसर्ने रोगको जोखिम बढ्दै गएको भन्दै अनुसन्धान र जनचेतना जगाउने कार्यलाई संगसंगै अघि बढाइएको बताए । उनले नेपाल र विश्वमा यसको अवस्था कस्तो छ ? कसरी घटाउन सकिन्छ भन्ने उपायका बारेमा अनुसन्धानात्मक रुपमा केन्द्रीत गरिएको बताए । उनले आगामी दिनमा पनि मञ्चसंग सहकार्य गरी अघि बढ्ने जानकारी दिए ।

कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष रामप्रसाद न्यौपानेले सुर्तीजन्य पदार्थ, नसर्ने रोग र कोभिड १९ को सम्वन्धका बारेमा परिषदसंग मिलेर कार्याशाला गोष्ठी गर्न पाउँदा खुशी लागेको बताए । उनले कार्यक्रमबाट स्वास्थ्य पत्रकारहरुका लागि जवरजस्त इस्यु उठेको भन्दै एनसीडी, सुर्तीजन्य पदार्थको असर , कोभिड-१९ को असरको बारेमा विज्ञबाट धेरै जानकारी मिल्ने बताए । उनले स्वास्थ्य पत्रकार मञ्चले आगामी दिनमा स्वास्थ्य अनुसन्धानका विषयमा एनएचआरसीसंग सहकार्य गरी अघि बढ्ने बताए ।