FLASH NEWS
  • Loading...

बेनी अस्पतालमा इन्डोस्कोपी सेवा सञ्चालनको तयारी

  • पुनहिल डट कम
  • २ साल अघि
  • १२७ पटक पढिएको
बेनी अस्पतालमा इन्डोस्कोपी सेवा सञ्चालनको तयारी

म्याग्दीको बेनी अस्पतालमा इन्डोस्कोपी सेवा सञ्चालनको तयारी अन्तिम अवस्थामा पुगेको छ । एकसाता भित्र सञ्चालनमा ल्याउने गरी आवश्यक उपकरणहरु जडान गर्न लागिएको अस्पताल विकास समितिले जनाएको छ ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ३० लाख रुपैयाँ बजेटबाट उपकरण खरिद गरी सेवा सञ्चालन गर्न लागिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । ‘यो सेवा म्याग्दीका लागि अतिनै आवश्यक हो’ , उनले भने,‘सेवा सञ्चालनमा आएपछि धेरै बिरामीले राहत महशुस गर्ने छन् । ’

विघठित प्रतिनिधी सभा सदस्य भुपेन्द्रबहादुर थापाको पहलमा धौलागिरि गाउँपालिकालाई विनियोजन गरेको उक्त बजेट गाउँपालिकाले अस्पतालमा इन्डोस्कोपी मेसिन खरिद गर्न सहयोग गरेको अध्यक्ष कटुवालले बताए ।

अस्पतालमै सेवा सञ्चालन भएपछि इन्डोस्कोपी सेवा लिन पोखरा जानुपर्ने बाध्यता हट्ने अध्यक्ष कटुवालले जानकारी दिए । “सवै उपकरणहरु आइपुगेका छन्”, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कटुवालले भने, “एकहप्ता भित्र सेवा सञ्चालनको तयारी गरेका छौं । यो बेनी अस्पतालको नयाँ सेवा हो ।”

इन्डोस्कोपी सञ्चालनका लागि दक्ष जनशक्ति पनि भएकाले सेवा सञ्चालन गर्न कुनै कठिनाई नभएको उनले बताए । यस प्रविधिबाट अल्सर, क्यान्सर भएको समेत सहजै थाहा पाउन सकिन्छ ।