FLASH NEWS
  • Loading...

प्रवासीले पहिरोबाट पीडित ४० परिवारलाई घर हस्तान्त्रण

  • पुनहिल डट कम
  • २ साल अघि
  • २२२ पटक पढिएको
प्रवासीले पहिरोबाट पीडित ४० परिवारलाई घर हस्तान्त्रण

गतवर्ष असार २६ गते विहान आएको भिषण पहिरोले घर बगाएपछि करिव एक बर्ष त्रिपालमुनी विताएका मालिका गाउँपालिका, ७ विम नैरुङका ७२ बर्षिय अमप्रसाद दर्जीले यो वर्ष भने सुरक्षित थलोमा नयाँ घर पाएका छन ।
अमप्रसादको मात्र होईन, पहिरोले बगाएपछि घर बनाउने आफ्नो थातथलो नभएका र आफ्नै वुताले घर बनाउन पनि नसक्ने मालिका गापा, ७ विम १० परिवार नयाँ घरसहित एकिकृत वस्तीमा पुर्नवास गरेका छन ।
‘पोहोर असार २६ गते विहान आएको पहिरोले टोलका सवै ५ घर पहिरोले पुरै लग्यो । ज्यान वाँच्यो । एक वर्ष झरी र हिउँका कष्टपूर्ण दिन त्रिपालमुनी वित्यो । कहाँ जाउँला कसरी बसौंला भन्ने थियो, घर पायौं, खुसी छौं’ मालिका गाउँपालिका, ७ विम नैरुङका ७२ बर्षिय अमप्रसाद दर्जीले भने, ‘ज्यानमा सास भए आस आउने रहेछ । बाहिर देश गएकाहरुले उठाएको पैसाले घर बनेको हो । हामीले त नयाँ घरमा सऱ्यौं, हामीसँगै पहिरोमा परिवारसहित घर गुमाएका अन्यको घर कहिले वन्ला भन्ने लगेको छ ।’
मालिका गापाका विमका पहिरो पीडितजस्तै सोही रातीको भारी वर्षापछि आएको दर्जनबढी पहिरोले परिवारका सदस्यसहित घरवार बगेपछि धवलागिरी गाउपालिका, ६ मराङको पहिरोग्रस्त वस्ती छेउका पाखोमा पाल राखेर बस्दै आएका गोरे सुनार, ओमप्रसाद लाम्गाडे, नरेश लाम्गाडे, डिलबहादुर जुग्जाली, लालभक्त, इकप्रसाद पुन, खिम पुन समेत १४ परिवारले पनि नयाँ घर पाएका छन ।
प्रवासमा रहेका जिल्लाबासीको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले उनीहरुलाई नयाँ घर निर्माणगरी हस्तान्त्रण गरेको हो । धवलागिरी र मालिकामा मात्र होईन, गत वर्षको विपद (बाढीपहिरो)बाट घरविहीन २ सय ४७ घरपरिवार मध्य मोनाले ४० घर परिवारलाई पुर्नवावास गराउने जिम्मा लिएको थियो ।
मोनाले नवनिर्मित निजी आवास (घर) स्थानीय जनप्रतिनिधी मार्फत पीडित परिवारलाई चावी सहित घर हस्तान्त्रण गरेका हुन । जेठ अन्तिमदेखी नै मनसुन सुरु भएकोले पालमुनी बसेका पीडित परिवार यस अघि नै नयाँ घरमा सरिसकेका छन ।
विमका १० र मराङका १२ परिवारलाई स्थानीय वडा कार्यालयले विभिन्न श्रोत जुटाई एकिकृत वस्ती बसाउन जग्गा खरिद गरि सो जग्गामा निर्मित घररहित जग्गाधनी पुर्जा पनि पीडित परिवारलाई हस्तान्त्रण गरिएको छ । पहिरोले जग्गा जमिन सवै बगाएप्छि घर बनाउन वडा कार्यालयले जग्गा ब्यवस्थापन गरेको हो । सोही जग्गामा मोनाले घर बनाई दिएको हो ।
‘रोजगारी र अवसरको खोजीमा विस्वभर छरिएका प्रवासी म्याग्देलीले गास काटेर जम्मा गरेको रकमले जन्मभुमिको दुखसुखमा सहकार्य गर्न पाउँदा खुशी छौं’ मोना अन्र्तराष्ट्रिय अध्यक्ष ओमनारायण जुग्जालीले भने, ‘स्थानीय पालिका र जिल्ला विपद ब्यवस्थापन समितिले सिफारिस गरेका विपन्न आर्थिक अवस्थाका ४० घरपरिवारलाई पुर्नवास गराएका हौं ।’
मोनाले धवलागिरी गाउँपालिकामा १४, मालिका गाउँपालिकामा १० र मंगला, अन्नपूर्ण, रघुगंगा गापा र बेनी नगरपालिकामा ४–४ वटाका दरले १६ घरसमेत ४० परिवारलाई नयाँ घर निर्माण गरी हस्तान्त्रण गरेको हो । मोनाले ५ लाख रुपैयाँ लागतमा शौचालय जडित ४ कोठे घर निर्माण गरेको हो । घर बनाउन इन्टरलक ब्लकको पर्खाल र जस्तापाताको छाना राखिएको छ ।
‘मनसुन सुरु भएपछि ४० परिवारमध्य ३५ घरपरिवारलाई पालको बासबाट जेठ अन्तिम साता नै नवनिर्मित घरमा स्थानन्त्रण गरेका थियौं । अहिले औपचारिक रुपमा लालपुर्जासहित पीडितलाई घर हस्तान्त्रण गरेका हौ’ सुरुदेखी फिल्डमा जुटेका पुर्नवास कार्यदलका सदस्य दल शेरवुजाले भने, ‘कोरोना र निषेधज्ञाले गर्दा केही ढिला भएको छ ।’
मोनाले पुर्नवास गराएका ४० घर परिवार मध्य पहिरोबाट सवैभन्दा बढी प्रभावित धवलागिरी गाउँपालिका, ६ मराङ र मालिका गाउपालिका, ७ वीममा १०–१० घरलाई एकिकृत वस्ती राएिको छ । स्थानीय धवलागिरी गाउँपालिकाले मराङका २३ परिवार र मालिका गाउँपालिकाले विममा २२ परिवारलाई एकिकृत वस्ती राख्ने योजना अन्र्तगत मोनाले एकिकृत वस्ती बनाएको हो ।
मराङ र विमका स्थानीय वडा कार्यालयहरुले पनि विभिन्न संघ संस्थाबाट सहयोग जुटाई एकिकृत वस्ती बसाउन जग्गा ब्यवस्थापन गरेका हुन । मराङले राम्चेमा १६ रोपनी ६ आना र अस्कारेमा १२ रोपनी गरी २८ रोपनी ६ आना जग्गा खरिद गरी एकिकृत वस्ती बसालेको छ ।


‘पहिरोग्रस्त क्षेत्रमा पुन:वस्ती बसाउन नमिल्ने भएपछि तुलनात्मक सुरक्षित दुई ठाउँमा जग्गा खरिद गरेर प्लटिङपछि सडकले जोडेका छौं । खानेपानी र विधुतको तारपाले पुगेको छ’ वडाध्यक्ष राजाराम सुवेदीले भने, ‘एकिकृत वस्ती बसाउँदा जातिय क्लस्टर र पीडितहरुको रोजाई अनुसार खेतीपाती तथा पाईपलनलाई ख्याल पुर्‍याएका छौं ।’ वडाध्यक्ष सुवेदीले थपे, ‘एकिकृत वस्ती बसाउन स्वदेश तथा विदेशबाट पठाएको सहयोग रकम उपयोग भएको छ । गाउँपालिका/वडा कार्यालयले सडक, खानेपानी, विधुत, ढलको निर्माण गरेको ।’
त्यसैगरी गतवर्षको मनसुनजन्य विपतबाट अति प्रभावित मध्यको मालिका गाउँपालिका, ७ वडा कार्यालयले पनि समुदायको सकृयतामा पहिरो पीडितलाई पर्नुवास गराईएको छ । विम मालिका संघ काठमाण्डौले १० परिवारलाई पुर्नवास ५ रोपनी जग्गा खरिद गरेको छ ।
त्यसैविच सरकारी तहबाट पनि गत वर्षको मनुसन जन्यविपदबाट घरविहिन भएका परिवारलाई पुर्नवास गराउन लाभग्राहीलाई घर पुर्ननिर्माण गर्न प्रति परिवार ५ लाख, मर्मतगरी पुन:प्रयोग गर्न ५० हजार र निजी आवास निर्माण गर्ने जग्गा नभएका ब्यक्तिलाई घरबनाउने जग्गा खरिद गर्न थप ३ लाख स्थानिय नगर/गाउँपालिका मार्फत अनुदान दिन थालेको छ ।
प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीका अनुसार हालसम्म धवलागिरी गाउँपालिकाले ३४ घर र मंगला गापाले १८ परिवारलाई पुर्नवास गराउन घर पुर्ननिर्माण गर्न पहिलो किस्ता रकम लगेका छन । पहिलो किस्ता पाएका अधिकांश लाभग्राहीको घर पुर्ननिर्माण अन्तीम चरणमा छन ।
पुर्नवासकालागी पुर्ननिर्माण कार्यविधी अनुसार विपतबाट घरवारविहीनलाई पुर्नवास गराउन स्थानीय तहले १० प्रतिशत, प्रदेश सरकारले ३० प्रतिशल र संघीय सरकारले ६० प्रतिशत रकम जिल्ला विपद ब्यवस्थापन समितिको खातामा जम्मा गरेपछि लाभग्राहीलाई किस्ता वन्दीमा रकम भुक्तानी दिने ब्यवस्था छ ।