म्याग्दीका लेकाली वस्तीमा आलु थन्क्याउने चटारो

१३ असार २०७८, आईतवार ०८:०० मा प्रकाशित (3 हप्ता अघि)
पुनहिल संवाददाता

संस्कृत भाषामा बटाटा, स्पेनि भाषाको ‘पटाटा’ हुँदै अँग्रेजीमा ‘पोटाटो’ले प्रख्यात बहुउपयोगी कन्दमुललाई नेपालीमा आलु भनिन्छ । पकाउने विधी र खाने शैली फरक–फरक भएपनि विश्वभर नै सदावहार उपयोग गरिने आलुलाई तरकारीको राजा भनेर चिनिन्छ ।
धनी र गरिव दुवै समुदायले जन्मेदेखी नमरुन्जेल उत्तिकै उपभोग गर्ने आलुले केही वर्षसम्म गरिवको खाना मात्र परिचत थियो । तर हिजोआज आर्थिक हैसियत अनुसार आलु उपभोग गर्ने फेरिँदो शैलीले उच्च भेगको ग्रामिण क्षेत्रमा पाईने आलुको ‘टिपिकल’ स्वाद ब्यवसायीक उन्मुख छ । यो लेकाली वस्तीमा आलु थन्क्याउने मौषम हो । मध्य असार–साउन महिना यहाँका ग्रामिण भेगको मुख्य खानाको रुपमा आलु प्रयोग गरिन्छ । लेकाली वस्तीमा ‘उसिनेको आलु’ पाहुनालाई स्वागत गर्ने शैली विस्तारै ब्यवसायीक वन्न थालेको छ ।


‘म्याग्दीले आलु उत्पादन ठूला शहरमा समेत निर्यात गर्छ । यहाँका कृषकले आलु बेचेर ४५ करोड बढी आम्दानी भित्राउने गरेका छन’ कृषी ज्ञान केन्द्रका कृषी प्रसार अधिकृत गोविन्द पाण्डेले भने, ‘राम्रो मल, विउ, सिंचाईको ब्यवस्था र उन्नत खेती गर्ने हो भने उत्पादन दोब्बर बढी बनाउन सकिन्छ । अहिले भैरहेको खेती जिल्लाका लेकाली क्षेत्रमा परम्पारगत प्रणालीमा आधारित छ ।’
कृषी ज्ञान केन्द्र म्याग्दीको तथ्याड्ढ अनुसार एक हजार छ सय १५ हेक्टर क्षेत्रफलमा आलु खेतीबाट १८ हजार २ सय ८१ मेट्रिकटन आलु उत्पादन हुन्छ । यस सिजनमा कृषकले ११ हजारबढी मे.टन आलु जिल्ला बाहिर र जिल्ला सदरमुकाम समेत जिल्ला भित्र ७ हजार मे.टन आलु विक्रि भएको हो ।
यहाँका लेकाली आलुको उच्च मुल्यमा पनि सहरमा माग बढी छ । आलु खेती विस्तार र ब्यवसायीक बनाउन स्थानीय गाउँपालिकाहरुले पनि गरेका छन । ज्ञान केन्द्रले पनि समुह मार्फत विउ, खेत र भण्डारण समेतमा ५० प्रतिशतसम्म अनुदान दिएको छ । यहाँका कृषकले स्थानिय जातबाहेक कर्डिनल जातको आलु खेती बढी गर्र्छन । तल्लो क्षेत्रमा एम.एस ४२–३ र डिजिरे जातका आलु लगाउने गरिन्छ । ढोरपाटन क्षेत्र वरपर भने स्थानिय सेतो र लाम्चो आलुको खेती गरिन्छ ।


ग्रामिण सडक उत्पादनशील हुनु पर्छ । नगद आम्दानी विना जीवनस्तर उकासिन सक्दैन । सडक भए यातायात चल्छ, ढुवानी सहजहुँदा गाउँको उत्पादन बजार पुग्छ, दैनिक उपभोग्य बस्तु सस्तो मुल्यमा दैलोमा आईपुग्छ । जिल्लाको उच्च क्षेत्रमा उत्पादनहुने आलु सदरमुकाम बेनीबजार बाहेक बाग्लुङ्ग, पोखरा र काठमाण्डौसम्म पुग्ने गरेको छ ।
सडक दैलोमा पुगेपछि जिल्लाको उत्तरी भेगका कृषकले आलु मात्र बेचेर ४५ करोडबढी रकम जिल्ला भित्राएका हुन । धान नफल्ने यी लेकाली बस्तीमा सडक पुगेपछि उत्पादन भएका आलु, बन्दा, काउली, टमाटर समेतका तरकारी विक्रिगरी हात–हातमै पैसा आएको छ ।
‘रैथाने वीउ प्रयोग गरिएकोले तरकारीमा कुनै पनि रासायनिक मल र औषधीहरु प्रयोग गरेका छैनौं । परम्परागत खेती प्रणालीमा थोरै सुधार मात्र गरेका छौं’ अन्नपूर्ण गाउँपालिका, ८ राम्चेका कृषक फासबहादुर गर्वुजाले भने, ‘आलु बजार पठाउने बेलामा बाढीपहिरोले सडकमा क्षति गरेकोले केही समस्या भएको छ । पहिला पहिला सवै आलु खेर जान्थ्यो अहिले सडक पुगेपछि कृषकले आलु विक्रि गरी राम्रै आम्दानी गर्छन ।’


जिल्लाको अधिकांश लेकाली वस्तीको मुख्य खेती आलु वाली हो । विषादी रहित तथा स्वादिलो हुने भएकोले बेनी, बाग्लुङ्ग, पोखरा र काठमाण्डौसम्मका शहरमा लेकाली आलुको माग बढेको हो । विविध कारणले शहर झरेकाहरु भने खोजीखोजी लेकाली आलु खाने गर्छन् ।
आलुमा पोषणयुक्त र वलबद्र्धक खाद्य पदार्थ मात्र नभै औषधिय गुण समेत हुन्छ । एक सय ग्राम खान योग्य आलुमा २२.९ प्रतिशत कार्वोहाईड्रेड, १.६ प्रतिशत प्रोटिन, ७४.७ प्रतिशत पानी, ०.०१ ग्राम चिल्लो,०.६ ग्राम मिनरल्स, ०.१ प्रतिशत क्याल्सियम, ४० मिलिग्राम भिटामिन ए र ०.७ मिलिग्राम फलाम पाईन्छ ।


‘कार्यालयले आलुको वीउ भण्डारण, उपचार गरिएका दाना वीउ, वियाँ वीउको प्रयोगमा अनुदानका कार्यक्रम र कृषकमा जागृत भएको ब्यवसायीक सोँचले आलुमा राम्रो प्रगति भएको हो’ अधिकृत पाण्डेले भने, ‘तर जिल्लाका सवै क्षेत्रका कृषकहरु अझै ब्यवसायीक खेतीमा लागेका छैनन । एक सिजनमा प्रयाप्त आलु उत्पादन भएपनि बेसिजनमा भने बाहिरका आलु ल्याउनु पर्ने बाध्यता उस्तै छ ।’
लेकाली वस्तीमा ‘उसिनेको आलु’ पाहुनालाई स्वागत गर्ने शैलीको रुपमा प्रचलित छ । टिमुर, मरेटी, सिल्टिमुर, हरियो खुर्सानी, लसुन र चुल्ठे अमिलोको चट्नीसंग घ्यू वा तेल राखेर उसिनेको लेकाली आलु ज्यादै मिठो हुन्छ । वेंशीका आलु भने उसिनेर खाँदा तम्तमाउने हुन्छ ।