कोरोनाकालमै मुक्तिनाथको आम्दानी २२ लाख ३० हजार

७ असार २०७८, सोमबार १०:३८ मा प्रकाशित (1 महिना अघि)
पुनहिल संवाददाता

हिमालपारी मुस्ताङ्गमा अवस्थित तिर्थस्थल मुक्तिनाथ मन्दीरमा कोरोना कालमा २२ लाख ३० हजारबढी आम्दानी भएको छ ।
पहिलो चरणको कारोना संक्रमण र लकडाउनपछि ०७७ वैशाखदेखी ०७८ जेठ महिनासम्म मुक्तिनाथ मन्दीरले उक्त रकम आम्दानी गरेको हो । मुक्तिनाथ विकास समितिका अनुसार भक्तजन तथा पर्यटकले मन्दीर बाहिर राखिएको दानपेटीमा १० लाख ६० हजार तीन सय ५३ राखेका थिए । छुट्टै भक्तजनले रसिद काटेर ११ लाख ६९ हजार ६ सय ४७ रुपैयाँ चन्दा पनि सहयोग गरेका छन ।
गत जेठ मसान्तमा मुस्ताङ्गका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेल नेतृत्वमा सहायक प्रजिअ, शसस्त्र, जनपद प्रहरी, मालपोत अधिकृत, मुक्तिनाथका लामा, आनी समेतको रोहोवरमा दानपेटीका खोली संकलित रकम गणना गरिएको हो । ८ लाख १८ हजार ५ सय ५० र भारतीय १ लाख ५१ हजार ४ सय ४५ रुपैया जम्मा भएको हो । बाँकी अमेरिकी, सिङ्गापुर, चिनियाँ समेत अन्य देशका मुद्रा रहेका छन ।
‘कोरोना कालभरीमा मुक्तिनाथ मन्दीर बाहिर राखिएको दान पेटिकीमा दश लाखबढी रकम जम्मा भएको छ’ मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले भने, ‘दर्शनार्थी र भक्तजनले मुक्तिनाथमा चढाउने खास र ठूलो भेटी रकमको अभिलेख र गणना हुँदैन । पछिल्ला केही वर्षदेखी वल्न मुक्तिनाथको आम्दानी खोज्न थालिएको हो ।’
रकम गणनामा सहभागी सहायक प्रजिअ अर्यालका अनुसार दानपेटिकामा नेपाली, भारतिय बाहेक भारतीय रुपैयाँ बाहेक म्यानमारी मुद्रा क्याट, चिनिया युवान, भुटानी, गुल्टम्प, युएई दिराम, सउदी रियाल, सिंङ्गापुर, अमेरिकी डलर, मलेशियन रिङ्गेटस राखिएको थियो ।
‘नेपाली र भारतिय रुपैयाँको गणना गरेका छौं । नेपालमा सटही हुने विदेशी मुद्रा सटही गर्न अनुकुल समयमा काठमाण्डौ पठाउने गरी हाल तेस्रो मुलकका सवै मुद्रालाई पेटिकामै राखेका छौं’ सप्रजिअ अर्यालले भने, ‘मुक्तिनाथको आम्दानी सोही मन्दीर ब्यवस्थापनमा खर्च गर्ने र बचतलाई मुद्धती खाता बनाई जम्मा गर्ने गरिएको छ ।’
मुक्तिनाथ मन्दीर भित्र भक्तजन र दर्शनार्थीले चढाउने भेटी रकम भने मन्दीरका आनी तथा पुजारीहरुले आफै लैजाने भएकोले मक्तिनाथको आम्दानी हिसावमा समावेश गरिदैन । मुक्तिनाथ मन्दीर परिसरमा ७ वटा दान पेटिका राखिएको छ ।
मुक्तिनाथको आम्दानी ब्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालयमा संस्था दर्ता ऐन अनुसार प्रमुख जिल्ला अधिकारी पदेन अध्यक्ष रहनेगरी मुक्तिनाथ विकास समिति दर्ता भएको छ । सोही समितिको नाममा बैंक खाता संञ्चालन गरी मुक्तिनाथ मन्दीरमा दर्शनार्थीले चढाएको दान र दिएको चन्दा रकम जम्मा गर्ने गरिएको छ । ब्यवस्थापक, पुजारी (बौद्ध धर्मका आनी, लामा बाहेक), सरसफाई कर्मचारी, विधुत समेतका खर्च कटाएर समितिको खातामा ५ करोड बढी रकम जम्मा भएको छ । जसमध्य ३ करोडबढी मुद्धति खातामा र बाँकी चल्ती खातामा रहेको छ ।


मुक्तिनाथ मन्दीरका मुख्य दुई खाले आम्दानी छन । मुक्तिनाथ सदावर्त गुठी र चन्दा, दान र भेटी । म्याग्दी, कास्की र स्याङ्जामा रहेको सयौं रोपनी गुठी जग्गाको आम्दानी राष्ट्रिय गुठी संस्थानले लैजान्छ । मन्दीरमा उठ्ने नगद तथा भौतिक चन्दा, दान र भेटीमध्य मन्दीर भित्र चढाईने सवै भेटी बौद्ध धर्म सम्प्रदायका लामा र आनीहरुले लैजाने गरेका छन । बाँकी बाहिर थापिएको बाकसमा खसालिएको रकम मात्र मुक्तिनाथ विकास समितीको आम्दानी हो ।
‘मुक्तिनाथको आम्दानी पारदर्शिताको कुरा उठेपछि संस्था दर्ता ऐन अन्र्तगत विकास समिति क्रियाशिल छ । मन्दीरको भेटी बाहेकको आम्दानी मासिक रुपमा वैंक जम्मा गर्ने गरेका छौं । यहीबाट मन्दीरको ब्यवस्थापन हुँदै आएको छ’ मुक्तिनाथ विकास समितिका सदस्य सचिव रहेका मालपोत अधिकृत टिकाबहादुर कुँवरले भने, ‘मन्दीरको गुठी जग्गा तर्फको आम्दानी गुठी संस्थानले, मन्दीरमा चढाईने सवै भेटी आनी, लामाले र दान तथा चन्दा रकम मात्र समितिले लिने गरेको छ ।’
हिमालपारीको जिल्ला मुस्ताङ्गमा अवस्थित मुक्तिनाथ मन्दीर बौद्ध तथा हिन्दुहरुको पवित्र तिर्थस्थल हो । पेगोडा शैलीको मन्दिर वि.सं १८७१ मा निर्माण गरिएको मुक्तिनाथ मन्दीर जीर्ण भै ढक्लेपछि ०७१ सालमा शैलीमा पुन:निर्माण गरिएको हो । तिब्बती भाषामा मुक्तिनाथलाई छु–मिग–ग्या–च्या पनि भनिन्छ । मुक्तिनाथ मन्दीरको पछाडि (पूर्वतिर) भागमा ४ मुखे, १२ हाते, दुई खुट्टे बज्र चक्रदेवको मुक्र्ति छ । मुक्तिनाथमा आगोको ज्वाला बलिरहेको बज्रवराहीको थान छ ।