FLASH NEWS
  • Loading...

मृत्यु जितेर घर फर्किन सुकमायाँ

  • पुनहिल डट कम
  • २ साल अघि
  • २६१ पटक पढिएको
मृत्यु जितेर घर फर्किन सुकमायाँ

‘वल्लो–पल्लो वेडमा बाबा र आमाको उपचार भैरहेको थियो । आमा अचेत हुनुहुन्थ्यो, हाइफ्लो अक्सिजनको भरमा मुटु धड्केको । आमालाई झै अक्सिजन दिएर पल्लो वेडमा उपचाररत बाबा वित्नु भो । अन्य कम्तीमा १५ जना आँखै अगाडी मरे’ भुपेन्द्र किसानले भने, ‘बाबा मृत्युको मुख भित्र पसिसक्नु भो, अक्सिजनको भरमा मुटु मात्र धड्की रहेकी आमा मृत्यको मुखैमा हुनुहुन्थ्यो । सासमा आस हुने रहेछ, मृत्युमा चित्त ।’
भुपेन्द्रले थपे, ‘बाबा कलेजो र मृगौला फेलर विरामी हुनुहुन्थ्यो, कोरोना जित्न सक्नु भएन भनेर चित्त बुझाएँ । तर आमाले होसमा आएपछि बाबा खै भनि सोध्नु भो, अलि निको भएर घर जानु भा छ भनें, फोन गर भन्नु भो, विग्रेको छ रे भनें, आमालाई सन्चो गराई भन्नु भएको छ भनें । आमाले चाल पाउलिन भनेर मुटुमा ढुङ्गा राखेर, आँखामा आँशु लुकाएर, बाबाको मृत्यु संस्कार समेत छोडेर आमाको साथमा रहें । आमाले कोरोना जित्नु भो, घर फर्केर बाबाको मृत्युको खवरले फेरी वल्झेलाकी भन्ने पीर छ । मुटीमाथी ढुङ्गा राखेर मन सम्हाल्न मुस्किलन हुने रहेछ ।’

कोरोना संक्रमण भै डिप निमोनियाको अवस्थामा पुगेपछि जेठ ३ गते बेनी अस्पताल पुऱ्याईएकी मंगला गाउँपालिका, १ पैयुँपाटाकी ३८ बर्षिया सुकमायाँ सार्की २८ दिन मृत्युलाई जितेर घर फर्कदै छिन । एक पटक हाईफ्लो अक्सिजन दिएर ठिक भएका विरामीको निमोनिया विग्रेर पुन: आईफ्लो अक्सिजन दिएर उपचार गरिएका ज्यादै थोरै विरामीको मात्र स्वास्थ्य सुधार हुन्छ । यीनै थोरै भाग्यमानी विरामी मध्य एक हुन, सुकमायाँ । एक सातासम्म २५ किलोग्राम प्रतिघन्टा हाईफ्लो अक्सिजन दिएपछि सामान्य अवस्थामा फर्केकी थिईन तर एक दिनपछि पुन: स्वास्थ्य अवस्था विग्रियो । डाक्टरहरु आत्तिए ।
‘कोरोना संक्रमित भै अस्पताल भर्ना भएका दम्पत्तिमध्य श्रीमानको उपचारक्रममा मृत्यु भैसकेको थियो । श्रीमतिको अवस्था ‘अन्तिम’ भैसकेको थियो । परिवारका सदस्यहरुले द्रुत माध्यमबाट थप उपचारकालागी पोखरा–काठमाण्डौ पुऱ्याउन सक्ने आर्थिक अवस्था थिएन । हामीले ‘झिनो आस’ राखेर दोस्रो चरणको प्रयास थाल्यौं र सफलता पनि मिल्यो’ बेनी अस्पतालका डाक्टर जीतेन्द्र कँडेलले भने, ‘१५ दिनसम्म हाईफ्लो अक्सिजन दिएर त्यो पनि एक पटक विग्रेर दोस्रो चरणमा उपचार गरेका विरामी स्वास्थ्य सुधार हुने थोरै मात्र हो ।’
‘झिनो आसा’ राखेका डाक्टरहरुले ‘अन्तीम प्रयास’ भन्दै प्रतिघन्टा ५ केजी, १५ केजी र २५ केजी हाई स्पीड फ्लो अकिसजन दिए । दोस्रो चरणमा किसानको स्वास्थ्यमा सुधार आयो । विना अक्सिजन ४८ घन्टा राख्दा किसानको मुटुको चाल प्रतिमिनेट ९८ र अक्सिजनको मात्रा ९२ प्रतिशत पुगेपछि शुक्रवार डिस्चार्ज गरिएको छ ।