बाढीपहिरोको उच्च जोखिम, पूर्वतयारी छैन

२५ जेष्ठ २०७८, मंगलवार १६:३८ मा प्रकाशित (6 दिन अघि)
पुनहिल संवाददाता

समुदाय कोरोना रोगबाट आक्रान्त छ । समुदाय, स्थानीय देखी केन्दीय सरकारका निकाय सवै कोरोनाको उपचार, रोकथाम, नियन्त्रणमा केन्द्रीत भैरहेको वेला मनसुन सक्रिय हुँदैछ ।
कारोना भाईरसका विभिन्न भेरियन्ट फैलिएर समुदाय नै आकान्त रहेकोवेला जल तथा मौषमविदहरुले यस वर्षको मनसुनमा देशमा औषतबढी बर्षा भै मनसुनजन्य विपदका घट्ना बढी हुने पूर्वानुमान गरेका छन ।
म्याग्दी जिल्ला पनि मनसुनजन्य विपदको उच्च जोखिममा रहेको छ । कोरोना कहरले थलिएका स्थानीय सरकारहरु आसन्न मनसुन र आशंकित मनसुनजन्य विपदतको सामना गर्न विपत पूर्वतयारी भने गर्न भ्याएका छैनन । कोरोना महामारीविच पनि मनसुनजन्य विपदको सामना गर्ने प्रतिकार्यमा लाग्नु पर्ने देखिएको छ ।
‘मनसुन सक्रिय हुँदै गर्दा जिल्लामा विपद प्रतिकार्य योजना अन्र्तगत रहेर मनसुनजन्य आपतकालिन प्रतिकार्य योजना अध्यावधी गर्ने क्रममा छौं’ जिल्ला विपद ब्यवस्थापनि समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले भने, ‘संभावित विपदका क्षेत्र पहिचान गर्ने, खोजउद्धारमा जुट्ने जनशक्ति तयारी, उद्धार सामाग्री जोहो गर्ने समेतका पूर्वतयारीका प्रकृयामा लकडाउनले गर्दा सरोकारवाला निकाय विच समन्वयमा केही कठिनाइ आएको छ ।’
मनसुन आपतकालिन कार्ययोजनाले जिल्लामा बाढी, पहिरो र नदी तथा खोला थुनिने गरी तीन वटा क्षेत्रमा विपद आउने भनेको छ । अभिलेख अनुसार जिल्लाका सवै ६ नगर/गाउँपालिकाका ४५ मध्य २९ वडाका वस्ती र विद्यालय पहिरोको उच्च जोखिमा छन । सदरमुकाम बेनी आफै बाढीको उच्च जोखिममा रहेको देशका थोरै शहर मध्यको एक हो । जिल्लाका कालीगण्डकी नदी, म्याग्दी खोला र राहुघाट खोला समेत यी खोलाका जलाधार क्षेत्र नै बाढी र पहिरो आई थुनिने जोखिम क्षेत्र हुन ।
जिल्ला विपत ब्यवस्थापन समितिले मनसुन आपतकालिन कार्ययोजना अन्र्तगत स्थानीय तहहरुले आ–आफ्ना सवै वस्तीका खुल्ला स्थानको पहिचान गर्ने, खोज तथा उद्धार सामाग्री कुन–कुन निकायमा कति छन, सामानको विवरण अध्यावधी गर्ने, विपदकावेला खोज तथा उद्धारमा खटिने स्यानीय युवा स्वयम सेवकहरुको विवरण संकलन गरी आधारभुत तालिम दिने र निर्माणाधिन सडक आयोजनाहरुका निर्माण ब्यवसायी, साईड इन्चार्ज र मेशिन अपरेटरको नाम, नम्बर र वस्ने स्थानको विवरण संकलन गर्ने भने पनि अझै विवरण अध्यावधी हुन सकेको छैन ।
‘स्थानीय मनसुन प्रतिकार्यको तयारीमा छौं । शुक्रवार मात्र वैठक बसेर टोल–टोलमा युवाहरुको रेस्क्यु टिम गठन गर्ने र उद्धार सामाग्री अद्यावधी गर्ने र थप सामाग्री खरिद गर्दै छौं । मनसुनजन्य प्रकोप ब्यवस्थापन गर्न ८० लाखको कोष पनि स्थापना गरेका छौं’ मालिका गाउँपालिका उपाध्यक्ष्य खरमायाँ विटालुले भनिन, ‘हामी बाढी, पहिरोको संकटासन्न अवस्थामा छौं । आपतकालिन उद्धार र राहत सामाग्री पुर्‍याउन सवै वडामा हेलिप्याड बनाएका पनि छौं तर हामीसँग परिचायलन गर्ने संयन्त्र, उद्धार तथा राहत सामाग्री र दक्ष जनशक्ति भने छैन ।’
अधिकांश वस्ती बाढीपहिरोको उच्च जोखिममा भएपनि स्थानीय सरकारसंग विपत्तका वेला आवश्यक खोज, उद्धार, प्रविधी र जनशक्ति मात्र होईन उद्धारपछि उपलब्ध गराउनु पर्ने राहत सामाग्री पनि अझै जोहो गरेका छैनन ।
बेनी नगरपालिका अन्र्तगत बेनीबजार, भकिम्लीको तोराखेत, बगरफाँट, बाँस्कुना, चिप्लेटी, पात्लेखेतको बान्द्रीखाल्टी, मालिका गाउँपालिकाको ओखरवोट, धौलागिरी गाउँपालिकामा पर्ने दर गाउँ, मुदी, लुलाङ्ग, रघुगंगा गाउँपालिकाको दग्नाम, बान्दुक, कुईनेको चौरखानी, रायोखोर, घ्याङग्रीखोला पहिरो, मंगला गाउँपालिमा पर्ने बरंजा खस्रुपानी, र अन्नपूर्ण गाउँपालिकाको शिख तल्लो गाउँ, फलाटे, घार तथा रिमा वस्ती समेत जिल्लाका साना–ठुला २० वटा जलाधार क्षेत्रका २६ बस्ती अझ बढी जोखिममा छन ।
गत वर्षको मनसुनजन्य विपतमा परि धवलागिरीका १९ जना, मालिकामा ८ जना, रघुगंगामा ३ जना र अन्नपूर्णमा १ जनागरी ३१ जनाको मृत्यु भएको थियो । धौलागिरीमा २, मालिकामा २ र अन्नपूर्णमा १ जनागरी ५ जना बेवत्ता छन । अभिलेख अनुसार गत वर्षको मनुसनजन्य विपदबाट रघुगंगा गापामा १६, अन्नपूर्ण गापामा १५, मंगला गापामा २३, बेनी नगरपालिकामा ५७, धौलागिरी गापामा ५९ र मालिका गापामा ८९ घर बाढीपहिरोले पुरै वगाएको/पुरेको थियो ।
अधिक भिरालो तथा कमजोर भूवनावट, खोलानालाको किनारा, भिरको कन्दरामा गुचुमुच्च परेका वस्ती र अब्यवस्थित मोटरबाटो समेतका विकासे योजना निर्माणले अधिकांश वस्ती थप बाढीपहिरोको जोखिममा परेका हुन ।
सदरमुकाम समेत सवै ग्रामिण सडक बाढीपहिरोको उच्च जोखिममा रहेको छ । सदरमुकाम बेनीको देव्रे किनारामा बग्ने म्याग्दी र दायाँ कालीगण्डकी नदीले निरन्तर कटान गरिरहन्छ । त्यसैगरी बेनीको उत्तरपश्चिम माथी अर्थुङ्गेबाट झर्ने भेलबाढी र वराहपाखो सामुदायीक वनको पाखोबाट झर्ने पहिरोबााट पनि उत्तिकै जोखिममा छ ।
‘नदी कटान र मोटरबाटोको कारण भलपानीको उचित ब्यवस्थापन नहुँदा सतही बाढीपहिरोले बढी क्षति पुर्‍याएको छ । अब्यवस्थित मोटरबाटोले बर्षाको पानी जमिनमुनी सोसिन नपाउँदा मुहान सुक्ने समस्या बढेका छन’ बेनी नगरपालिकाका प्रमख प्रशासकीय अधिकृत छविलाल सुवेदीले भने, ‘कमजोर भु–वनावटको कारणले दुई दर्जनबढी जमिनको भित्री तहदेखी बगेका पहिरो भौर्गभिक अध्ययन र योजना बनाई कार्यान्वयन गर्न सकेका छैनौं ।’
रेडक्रसका अनुसार कालीगण्डकी नदी किनाराका वस्तीहरु बेनी, घुमाउनेताल, बैंशरी, तिप्ल्याङ्ग, महभीर, रातोपानी, पोखरेबगर, भूरुङ्गको तातोपानी, दानाको दुवाढी, तितर र म्याग्दी नदी किनाराका दरवाङ्ग, बाबियाचौर, सिङ्गातातोपानी, बगुवाखोलाहुँदै बेनीसम्मका वस्ती बाढीका जोखिमयुक्त वस्ती हुन ।
बेनीमा रैथाने बृद्धबृद्धाहरुको भोगाई अनुसार २०२१ सालको साउनमा म्याग्दी नदीमा बाढी आउँदा बेनीको पश्चिम मंगलाघाट बजारमा क्षति पुर्‍याएको थियो । ०३८ साल सर्जेनीको पाखोमा पहिरो गएपछि सदरमुकाम बेनीको अधिकांश बस्ती र खेतवारी पुरेको थियो ।
त्यसैगरी ०४४ सालमा कालीगण्डकी नदीमा आएको बाढी पस्दा कालीपुल बजार डुवानमा परेको थियो । बाढीले कालीपुलदेखी एक किलोमिटर तल दोविल्लासम्म एकसय मिटरसम्म भित्र पसेर कटान गरेको थियो । पछिल्लो पटक २०५० सालमा म्याग्दीनदीमा आएको बाढीले मंगलाघाट बजारमा क्षति पुर्‍याएको थियो ।
०४५ साल असोज ५ गते राती भिषण पहिरो खस्दा जिल्लाको दोस्रो ठूलो ब्यापारिक दरवाङ्ग बजार पुरिँदा एक सय आठ जनाको मृत्यु भएको थियो । थुपै पशुपंक्षि बगाएको थियो । छ घन्टासम्म पहिरोले म्याग्दी नदीलाई थुन्दा तटिय क्षेत्रका बाबियाचौर, सिङ्गा सदरमुकाममा समेत कटान गरेको थियो । ०५४ सालको असोज १० गते विहान अन्धगल्छीमा भिषण पहिरो खस्दा कालीगण्डकी नदी १० घन्टा थुनिएपछि पर्यटकिय वस्ती तातोपानी बजारका करिव १२ पर्यटकिय होटल, २५ आवसिय घर, विद्यालय, श्वास्थ्य चौकी र प्रहरीचौकीसमेत डुबानमा परेको थियो ।