FLASH NEWS
  • Loading...

‘लङ कोभिड’का लक्षण के हुन्

  • पुनहिल डट कम
  • २ साल अघि
  • १३७ पटक पढिएको
‘लङ कोभिड’का लक्षण के हुन्

कोरोनाबाट निको भएको ६ हप्तापछि पनि केही मानिसमा थकाई लाग्ने, खोकी लाग्ने, टाउको दुख्ने र गन्ध नआउने, ज्वरो आउने जस्ता समस्या निरन्तर देखिएका छन् । यसमध्ये अधिकांशले थकान महशुस गरेको बताएका छन् भने केहीलाई मानसिक समस्याले पनि सताएको छ ।
जसकारण मेडिकल अनुसन्धानकर्तामा यसले चासो थपेको छ । त्यसो त विज्ञहरु अहिले यो लक्षणले आखिर कति समयसम्म असर गरिरहन्छ भन्ने कुराको अध्ययन गरिरहेका छन् ।

मेडिकल रिसर्चसँग जोडिएको यो समस्यालाई लङ कोभिड भनिएको छ । यो के हो, यसका लक्षण के हुन्, र यसबाट कसरी बच्ने ? यस बारेमा हामीले टेकु अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन र थोङ्ची मेडिकल कलेज वुहानका कन्सलटेन्ट फिजिसियन डा. रमेश आचार्यसँग कुराकानी गरेका छौँ ।

के हो लङ कोभिड ?

लण्डनकी एलिसा पेरेगोले गत वर्ष कोभिड–१९ भाइरसको सुरुवाती इन्फेक्शनबाट निको भएपछि पनि कायम रहेको लक्षणलाई पहिलोपटक लङ कोभिड शब्दको प्रयोग गरेकी थिइन् । यी लक्षण केही हप्ता वा महिनासम्म पनि रहन्छन् । अर्थात् शरीरबाट भाइरस निस्किए पनि त्यसका लक्षण नष्ट हुँदैनन् । केही लक्षण रहिरहन्छन् भने केही लक्षण केही दिनमा फेरि देखिन्छन् ।

अधिकांश संक्रमितमा कोभिड–१९ पीसीआर परीक्षण नेगेटिभ आउनुलाई माइक्रोबायोलोजिकल रुपमा शरीरले रिकभर गरेको भनिने डा. पुन बताउँछन् । तर क्लिनिकल लक्षण नष्ट भइसकेका हुँदैनन् । यसै आधारमा लङ कोभिड शरीरमा भाइरस देखिएको समयदेखि लक्षण नष्ट हुन लाग्ने समयावधिलाई भन्न सकिने उनको भनाई छ ।

यस्ता हुन्छन्, लङ कोभिडका लक्षण :

– मुटुको धड्कन रोकिएको जस्तो हुने

– ज्यान भारी भए जस्तो अनुभव हुने

– ज्वरो आउने

– श्वासप्रश्वासमा समस्या हुने

– छाती दुख्ने

– लामो समयसम्म जोर्नीहरुको दुखाइ भइरहने

– स्मरण शक्तिमा समस्या आउने

– मांसापेशी दुखिरहने

– एन्जाइटी र डिप्रेशन

– अक्सिजन घटिरहने

यसका साथै, कतिपयको ब्रेन स्ट्रोक भएर पनि मृत्यु भइरहेको छ । त्यस्तै कतिपयलाई प्यारालाइसिस, पार्किन्सन्स, अल्जाइमर्स भएको पाइएको डा. आचार्यले बताए ।

लङ कोभिडका २ स्टेज हुने डा. पुन बताउँछन् । ‘एउटा पोस्ट एक्यूट कोभिड र अर्को क्रोनिक स्टेज,’ डा. पुन भन्छन्, ‘यसले मानसिकदेखि मुटुसम्मको समस्या हुनसक्छ ।’