FLASH NEWS
  • Loading...

महतोको फेरि विखण्डनकारी राग, चौतर्फी आलोचना

  • पुनहिल डट कम
  • २ साल अघि
  • ८२ पटक पढिएको
महतोको फेरि विखण्डनकारी राग, चौतर्फी आलोचना

संविधानसभाबाट नेपालको संविधान जारी भएको दिन २०७२ असोज तीनमा तराईमा ब्ल्याक आउट गरियो। असोज ६ बाट भारतको अघोषित नाकाबन्दी भयो। र तत्कालिन सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सीमा नाकामा बसेर काठमाडौंको दानापानी बन्द गरिदिने विवादास्पद अभिव्यक्ति दिए।

उनै महतो अहिले नेपाल सरकारको उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री नियुक्त भएका छन्। ओली सरकारमा चौथो वरियता प्राप्त महतोले फेरि विखण्डनकारी राग अलापेका छन्। शुक्रबार उपप्रधानमन्त्रीको शपथ लिएको केही मिनेटमै सिंहदरबारमा पदभार ग्रहण गर्दै उनले बहुल राष्ट्रिय मुक्ति आन्दोलनका लागि आफूहरु सरकारमा सहभागी भएको विावदास्पद अभिव्यक्ति दिए। र शनिबार जसपाको एउटा समूह महन्थ ठाकुर समूहले आयोजना गरेको बधाई कार्यक्रममा पनि उनले सो भनाइ दोहोर्याए।

नवनियुक्त उपप्रधानमन्त्री महतोको यो विवादास्पद भनाइको चौतर्फी आलोचना भइरहेको छ। र यसरी आलोचना गर्नेहरुमा धेरैजसो सत्तारुढ दल एमालेकै नेताहरु छन्। शुक्रबार राति नै ट्वीट गर्दै एमाले नेता योगेश भट्टराईले महतोको अभिव्यक्ति राम्रो संकेत नभएको भन्दै मन्त्रीहरुको बोलीमा लगाम लगाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन्।

शुक्रबार महतोको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जाल तरंगित बनेको छ। सामाजिक सञ्जालमा सो अभिव्यक्तिलाई लिएर तिब्र आलोचना भइरहेको छ। सामाजिक सञ्जाल मार्फत नै एमालेका अर्का नेता तथा राष्ट्रियसभा सांसद वामदेव गौतमले महतोको भनाइ अस्वीकार्य भएको बताएका छन्। उनले महतोको यस्तो अभिव्यक्तिबारे प्रधानमन्त्री ओली अनभिज्ञ भएकामा आफू आश्चार्य चकित भएकोसमेत बताएका छन्।