म्याग्दीमा धान रोपाई सुरु

२० जेष्ठ २०७८, बिहीबार २०:४६ मा प्रकाशित (1 हप्ता अघि)
पुनहिल संवाददाता

सिंचाई सुविधा रहेको जिल्लाका उपल्लो भेगमा मध्य जेठबाट धान रोपाई सुरु भएको छ ।
नजिकै पानीको मुल भएका सिमखेत र पाईपबाट सिंचाई सुविधा पुऱ्याउन मिल्ने समुन्द्री सतहदेखी १२ सय मिटरमाथीका खेतमा मध्य जेठदेखी धान रोपाई सुरु भएको हो ।
असार १५ पछि माथिल्लो क्षेत्रमा पानी चिसो हुने हुँदा मध्य जेठबाट नै रोपाई गरिन्छ । यो क्षेत्रमा रोपाई ढिला हुँदा (पछ्ययो) भने धान खेती राम्रो हुँदैन ।
‘हाम्रोमा मध्य जेठबाट नै धान रोपाई सुरु भएको छ । सिमखेत भएकोले समयमै धान रोप्ने गरिन्छ । सिंचाई नभएको खेतमा हामीले पनि आकाशे पानी नै पर्खनु पर्छ’ बेनी नगरपालिका, ४ सिङ्गा अर्जेखोलाका लोकेस पुनले भने, ‘दुई बाली मात्र गरिने भएकोले मध्य जेठमै धान रोप्न सकिएको हो । तल्लो क्षेत्रमा तीन वाली लगाउने भएकोले रोपाई साउनमा पुग्छ ।’


अन्नपूर्ण गाउँपालिकाको घार, रघुगंगा गापाको भगवती, बेनी नगरपालिकाको पात्लेखेल, घतान, पुलाचौर, सिङ्गा, भकिम्ली, मंगला गापाको पूर्णगाउँ, बरंजा, अर्मन, धवलागिरीको ताकम समेतको क्षेत्रमा अहिल्यै रोपाई सुरु भएको हो ।
पाईपबाट गरिने सिंचाईले धान खेती गर्न सजिलो भएपनि कुलो खनेर गरिने परम्परागत सिंचाई प्रणाली नासिएपछि कुलो मुनीका सिमखेत र पानीका मुलहरु सुक्ने समस्या बढेको छ । जिल्लाका अधिकांश खेतमा रैथाने जातका धान खेती हुन्छ ।
‘खेतको छेउ/सिरानमा पानीको बाह्ैमास मुल हुने खेतमा जेठमै रोपाई नगर्ने हो भने असारमा सवैले एकै साथ धान रोपाई सुरु गर्दा पानी पुऱ्याउन सकिन्न । र विवाद हुन्छ । मुहानका खेतमा सुरुमा धान रोप्दा आकासे पानीलाई संकलन गर्न पनि सजिलो हुन्छ’ धवलागिरी गापा, ७ ताकमका कृषक प्रकाश भण्डारीले भने, ‘आसरपछि माथिल्लो क्षेत्रमा पानी चिसो हुने र धानवालीले चिसो सहन्न त्यसैले जतिसक्दो छिटो रोप्ने गरिनछ ।’
जिल्लामा दर्माली, झिनुवा, मार्सी, ताकमारे आदी स्थानिय जातका धान बढी मात्रामा उत्पादन हुन्छ । सदरमुकाम सेरोफेरो तथा मध्य क्षेत्रका बगरफांट, रत्नेचौर, सिमलचौर, पिपलबोट, मौवाफाँट, पोखरेबगर, ताराखेत, सहस्रधारा, हिल्वाङ्ग जस्ता धानको पकेट क्षेत्रमा गौरिया, गुडुर, पोखरेली जेठोबुढो, र लुम्ले बास्मती तथा उपल्लो भेगमा माछापुच्छ्रे–३ र छोम्रोङ्ग धान खेती गरिन्छ । कालीगण्डकी कोरीडोरको सवै भन्दा माथिल्लो क्षेत्रमा धान खेती गरिने वस्ती घार हो । यहाँ दुई हजार दुई सय मिटरसम्म धान खेती गरिन्छ ।
कृषी ज्ञान केन्द्रको अभिलेख अनुसार जिल्लाको कुल खेतीयोग्य जमिनको ३ हजार ८ सय ९५ हेक्टर खेतमा धान खेती हुन्छ । धानखेती योग्य जमिनको २६ प्रतिशत क्षेत्रफलमा मात्र सिंचाई सुविधा बाँकी खेती आकासे पानीको भरमा निर्भर छ । जिल्लामा १० हजार ५ सय ६० मेट्रीक टन धानको उत्पादन हुन्छ ।


अनदी, आँगा र कालो मार्सी धान लोपुन्मुख
जिल्लाका अधिकांश खेतमा रैथाने जातका धान खेती हुन्छ । रैथाने धान मध्य चोटपटक लाग्दा र सुत्केरीकालागी लोकप्रिय बढी उपयोगी अनदी तथा कालोमार्सी लोपउन्मुख छ ।
तिब्र बसाई सराईले उपल्लो क्षेत्रका धान हुने खेत बाँझो हुन थालेपछि अनदी, आँगा र कालोमार्सी धान लोपुन्मुख हुन पुगेको हो । बजारबाट गाउँसम्म ट्याक्टरले चामल दैलोमै पुर्‍याउन थालेपछि गाउँले अल्छी बन्दा दैलोको खेतबाहेक बाँकी खेत बाँझो छोड्न थालेपछि रैथाने धानको जात समस्यामा परेका हुन ।
‘पशुपालन घटेपछि मन नहुँदा उत्पादन घट्यो । खेतीमा लाग्ने लगानीले बजारको चामल किन्न सस्तो पर्ने भएकोले धान खेतीमा आकर्षण छैन’ घारका कृषक नन्द खड्काले भने, ‘काम गर्ने उमेरका सवै युवा विदेश हिंडेपछि खेती गर्ने कृषक कै समस्या छ । परम्परातग गाईबस्तु पाल्ने, गोठबस्ने र खेती लगाउने प्रचलन पनि हट्यो ।’