- Loading...
संक्रमितलाई ढाडस दिन घरदैलोमा जनप्रतिनिधी
- पुनहिल डट कम
- ३ साल अघि
- २३८ पटक पढिएको
यहाँका सवै ६ वटै स्थानीय तहले होमआईसोलेसनमा रहेका कोरोना संक्रमितको मनोवल बढाउन, आधारभुत औषधी पुऱ्याउन र स्वास्थ्य सावधानी सम्बन्धी परामर्श दिन घरदैलो थालेका छन ।
डाक्टर तथा स्वास्थ्यकर्मी, गाउँपालिका अध्यक्ष/उपाध्यक्ष समेत जनप्रतिनिधी, प्रमुख प्रशासकीय अधिकृत र प्रहरी सम्मिलित टोलीले कोरोना संक्रमितको घरमै पुगेर विरामीको स्वास्थ्य अवस्था जानकारी लिने, अक्सिजन लेभल नाप्ने, सिटामोल, जिंङ्क, भिटामिन समेतका औषधी पुऱ्याउने, होमआईसोलसनमा संक्रमित, परिवारलाई स्वास्थ्य परामर्श दिने गरेका छन ।
‘होमआईसोलेसनमा बसेको संक्रमितको स्वास्थ्य अवस्था समयमै जानकारी नहुँदा उपचारमा कठिनाई हने गरेको छ । त्यसैले संक्रमित भेट्न घरदैलो गर्ने परामर्श सुरु गरेको हो’ मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु पौडेलले भने, ‘घरदैलोबाट संक्रमितहरुको स्वास्थ्य अवस्था अपडेट भएको छ । पल्सअक्सिमिटर नाप्ने, औषधी घरमै पुऱ्याउँदा संक्रमितलाई ढाडस पुगी मनोवल उच्च भएको छ ।’ प्रमुख प्रशासकीय अधिकृत पौडेलले थपे, ‘जनप्रतिनिधी सहित टोली ओछ्यानमा पल्टेको विरामी भेट्न पुग्दा स्थानीय सरकारको अनुभुति जनताले गर्न पाएका छन ।’
कारोना संक्रमित हुँदा कतिपय विरामी आत्तीने र कतिपय घरमै निको हुन्छ भन्दै निमोनिया भैसक्दा पनि घरमै बस्ने गरेको र केहीले होमआईसोलेनमा रहँदा स्वास्थ्य सावधानी नअपनाएको गुनासा बढेपछि स्वासथ्यकर्मी समेत जनप्रतिनिधी संक्रमितको घरदैलो र जोखिमवस्तीमा सचेतना कार्यक्रम गर्न थालेका हुन ।
‘कोरोना संक्रमण समुदायमा तीव्र फैलिएपछि संक्रमणको चेनव्रेक गर्न गरिएको निषेधज्ञाले राम्रो काम गरेको छ । तर सवै संक्रमितको चेतना स्तर एकै नहुँदा कोही संक्रमित घरमै अलपत्र पर्ने कोहीले सावधानी नै नअपनाउने गरेको भेटिए’ बेनी नगरपालिका, ६ का वडाध्यक्ष कृष्णबहादुर बानियाँले भने, ‘घरदैलो कार्यक्रमले संक्रमितको अवस्था बुझ्ने, समुदायमा लुकेर रहेका संक्रमितको पहिचान गर्ने, संक्रमित र जोखिममा रहेका परिवार सदस्यलाई स्वास्थ्य उपचार तथा संक्रमतबाट वच्न परामर्श गर्ने र विरामीलाई सरकारको अनुभुति दिन सकियो ठानेका छौं ।’
स्वास्थ्य कार्यालयका अनुसार कोरोना संक्रमणको चेनव्रेक गर्न जारी निषेधज्ञाको प्रभावले भुसको आगो झै समुदायमा फैलिएको कोरोना संक्रमण विस्तारै कम हुँदै गएको छ । दैनिक चार सयबढी संक्रमित थपिने गरेकोमा अहिले दैनिक संक्रमणको दर स्वात्तै घटेको छ । बेनी अस्पताल समेत स्वास्थ्य संस्थामा उपचारमा आएका गम्भीर विरामी विरामीको संख्या पनी घटेको छ ।
‘संक्रमण उत्कर्समा रहँदा दैनिक ४ सयबढी संक्रमित थपिन्थे, सिङ्गो वस्ती पुरै संक्रमित हुन्थ्यो तर अहिले अवस्था सुधार भएको छ । संक्रमितको संख्या पनि दैनिक सय भन्दा तल झरेको छ’ स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालले भने, ‘पिसिआर विधीबाट परिक्षण रिपोर्ट ढिलाई हुन थालेपछि स्थानीय तहमा स्वास्थ्यकर्मीहरु वस्ती–वस्ती पुगेर संक्रमणको जोखिमका सवैको एन्टीजिन विधीबाट परिक्षणको दायरा पनि बढाएका छौं ।’
स्वास्थ्य कार्यालयको रिपोर्ट अनुसार शनिवार साँझसम्म जिल्लामा ३ सय ३६ जना सक्रिय संक्रमित रहेका छन । कार्यालयको अभिलेख अनुसार विहिवार ७४, शुक्रवार १९ र शनिवार २३ जना संक्रमित थपिएका थिए । ४६ जनाको स्वाव परिक्षणको रिपोर्ट आउन बाँकी छ । जिल्लामा हालसम्म ३८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु भएकामध्य कम्तीमा २८ जनाको वैशाखयता मृत्यु भएको हो ।