FLASH NEWS
  • Loading...

लगातारको झरीपछि पहिरोले सडक अवरुद्ध, तटवन्धमा क्षति पुऱ्याएपछि वस्ती जोखिममा

  • पुनहिल डट कम
  • २ साल अघि
  • १४० पटक पढिएको
लगातारको झरीपछि पहिरोले सडक अवरुद्ध, तटवन्धमा क्षति पुऱ्याएपछि वस्ती जोखिममा

बुधवार साँझदेखीको लगातारको बर्षापछि पहिरोले मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक र पश्चिम तर्फको बेनी–दरवाङ सढकमा यातायात अवरुद्ध भएको छ ।
बेनी–जोमसोम सडक अन्र्तगत रघुगंगा गाउँपालिकाको चमेरे, बैसरी र अन्नपूर्ण गापा, ३ दानाको गुईठे र रुप्से झरना नजिक पहिरो झरेपछि यातायात अवरुद्ध छ । त्यसैगरी सदरमुकामबाट पश्चिम जाने बेनी–दरवाङ्ग सडकको बेनी नगरपालिका, ४ तातोपानीस्थित फापरखेत र मालिका गाउँपालिका, ५ थापाचौरमा पहिरोले सडक पुरेपछि यातायात अवरुद्ध भएको हो ।

कोरोना संक्रमण चेनव्रेक गर्न गरिएको निषेधज्ञाले सडकमा धेरै सवारी साधन नचलेपनि पहिरोले यातायात अवरुद्ध हुँदा उपचारमा लैजाने विरामी र खाद्यान्नसमेतका अति आवश्यक ढुवानीमा समस्या भएको छ ।
‘लगातारको बर्षापछि जिल्लाका मुख्य सडक बेनी–जोमसोम र बेनी–दरवाङ–मुना सडकका विभिन्न खण्डमा पहिरोले यातायात अवरुद्ध छन’ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विरेन्द्र गुरुङ्गले भने, ‘ग्रामिण भेगका सडकमा पहिरोले धेरै स–साना अवरोध छन । ठूला वाढीपहिरो र विपतको खवर छैन ।’

त्यसैगरी लगातारको बर्षापछि कालीगण्डकी र म्याग्दी खोलामा जलसतह बढ्दा भुरुङतातोपानी नजिकको तटवन्ध र पश्चिम दरवाङस्थित म्याग्दीखोलामा निर्माणाधिन तटवन्धमा क्षति पुऱ्याउँदा वस्ती जोखिममा परेका छन । कालीगण्डकी नदीमा आएको बाढीले निर्माणाधिन तटवन्धमा क्षति पुऱ्याएपछि संसारको सर्वाधिक गहिरो अन्धगल्छी स्थित तातोपानी बजार नदी कटानको जोखिममा परेको छ ।
बाढीले बेनी–जोमसोम सडकको पहिलो प्याकेज अन्र्तगत तातोपानी बजार संरक्षण आरसिसि पर्खालको तटवन्धमा क्षती पुऱ्याएको हो । निर्माण ब्यवसायीले समयमै काम नगर्दा निर्माणाधिन तटवन्ध भत्काई रड, सिमेन्ट र मिक्चरहरु पनि बगाएको छ ।
‘हामीले निर्माण ब्यवसायी, सडक आयोजनाका प्रमुखहरु, जिल्लाका सिडिओ, साँसद र अनुगमनमा आएका मन्त्रीहरुलाई दशौं पटक तटवन्ध निर्माण ढिलाईले वस्ती जोखिममा परेको गुनासा राखेका थियौं’ अन्नपूर्ण गाउँपालिका, २ तातोपानी स्थित कालीगण्डकी कटानको पहिलो जोखिममा रहेका श्याम रानाले भने, ‘बेनी–जोमसोम सडक विस्तारको क्रममा पुरानो संरचना भत्काईएको र नयाँ तटवन्ध नभएकोले कतिवेला कालीगण्डकीमा बाढी आउँछ र बगाउँछ भन्ने डर भैरहन्छ ।’
निर्माण ब्यवसायी महाँसघका केन्द्रीय कोषध्यक्ष सकुन्तलाल हिराचनले निर्माण ठेक्का लिएको यो तटवन्ध समयमै पुरा नहुँदा गत वर्षको मनसुनमा पनि यही ठाउँको आरसिसि तटवन्ध कालीगण्डकी नदीले बगाएको थियो । बेनी–जोमसोम सडकको सवैभन्दा कमजोर काम यही क्षेत्रमा भैरहेको कालीगण्डकी करिडोर आयोजनाले जनाएको छ ।
त्यस्तै पश्चिम मालिका गाउँपालिका मुकाम रहेको दरवाङ बजार संरक्षण गर्न तटवन्ध निर्माण ढिलाई हुँदा म्याग्दी खोलामा आएको बाढीले क्षती पुऱ्याएको छ । करिव ५६ मिटर लामो आरसिसि तटवन्ध निर्माण ढिलाई हुँदा बाढीले क्षति पुऱ्याएको हो ।
‘निर्माण ढिलाई हुँदा तटवन्धको पहिलो ढलाई पछिको भाग पुरेको छ । बाढीले म्याग्दी खोलामा पानीको सतह बढेकोले कति क्षति पुऱ्यो भन्न सकिने अवस्था छैन’ मालिका गापा, ६ दरवाङ्गका वडाध्यक्ष सन्तोष सुवेदीले भने, ‘हामीले समयमै ताकेता गर्दा निर्माण ब्यवसायीले अटेर गर्दा म्याग्दी खोलामा आएको बाढीले बनेको संरचनामा क्षति पुऱ्यो, ब्यवसायीलाई पनि घाटा, बजार पनि जोखिममा रह्यो ।’
त्यस्तै, लगातारको झरीले कान्ला भत्कदा अन्नपूर्ण गापा, १ दोवामा दुई घरमा क्षति पुगेको छ । सोही गापा, ७ हिस्तान स्थित खेलमैदानको स्टेडियम भत्कदा सामुदायीक होटलको डायनिङ हलमा क्षति पुगेको छ ।