कोरोना त्रासले फेरियो खेती प्रणाली

७ जेष्ठ २०७८, शुक्रबार मा प्रकाशित (4 महिना अघि)
पुनहिल संवाददाता
विश्वभर स्वास्थय आतंक फैलाएको कोरोना भाईसरे परम्परागत खेती प्रणाली (खेती गर्ने, थन्काउने) तरिका प्रभावित हुन थालेको छ । कसरी ? कोरोना संक्रमण समुदायमा तिब्र फैलिएपछि गत वैशाख २२ गते रातीदेखी संक्रमणको चेन ब्रेक गर्न सुरु भएको लकडाउनले सदरमुकाम समेत बजार क्षेत्रका बासिन्दा घरवन्दी भएका छन । स्थानीय सरकारहरुको आग्रहमा जिल्ला प्रशासन कार्यालयले जारी गरेको निशेधज्ञा अनुसार लक डाउनको बेलापनि निश्चित स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउने गरी निर्माण क्षेत्र र कृषी क्षेत्र भने खुल्ला छ । गाउँघरका खेतवारीमा भने कृषी कर्म चलिरहेको छ । कोरोना कहरमा संक्रमणको चेनव्रेक गर्न गरिएको लकडाउन (घरवन्दी)को समयमा कृषी क्षेत्रमा नियमित काम गर्न खुल्ला भएपनि खेतीवाली लगाउने, खेती गर्ने र वाली थन्क्याउर्ने परम्परागत तरिकामा भने प्रभाव पारेको छ । छर–छिमेकी मिलेर डफ्पा/पर्म/हुद्दा लगाई आलो–पालो खेती गर्ने/ वाली थन्यकाउने रैथाने तरिकालाई कोरोना कहरले खण्डित गरेको छ । कोरोना संक्रमणको त्रासले कृषकहरु अर्म–पर्म गर्ने चलनबाट पछि हटेर आ–आफ्नो खेती एकै परिवाले मात्र संहान्नु पर्ने बाध्यतामा फसेका छन । कोरोना त्रासले कृषी मजदुरहरुको रोजीरोटी समेत गुमेको छ । ‘कोरोनाको डरले अरु मान्छे वोलाएर काम गर्ने अवस्था नै छैन । जति सकिन्छ परिवारका सदस्य मिलेर काम गर्ने हो’ अन्नपूर्ण गाउँपालिका, ८ राम्चेका कृषक राजु गर्वुजाले भने, ‘पहिला पहिला जस्तो साथीभाई (तरुनी–तन्देरी) मिलेर अर्मपर्म गरी काम गर्ने जमाना गयो । पुराना दिन सम्झने एक्लै काम गर्ने, एक्लै लुकेर खाने अवस्था आयो ।’ सदरमुकाम वरपरका वस्तीमा विवाह, ब्रतवन्ध, चौरासी पुजा समेतका भोजभतेरका भीडभाड हुने कार्यक्रमबाट कोरोना संक्रमण घर–घर पुगेको देखेपछि संक्रमण नपुगेको लेकाली वस्तीमा मान्छे जम्मा भएर गर्ने कार्यक्रम रोकेका हुन । यतिवेला तल्लो क्षेत्रमा मकैवाली गोड्ने (खन्ने), बारीबाट नलसहित वा वाला मात्र काटेर ल्याएको गहुँ दाई गर्ने वा चुटेर थन्क्याउने चटारो छ । भने लेकाली वस्तीमा आलुमकैमा उकेरा लगाउने, खेतको आली खन्ने समेतका कामको चटारो छ । धान खेती हुने क्षेत्रमा ब्याड राख्ने काम पनि धमाधम भैरहेको छ । ‘गाउँका घरै पिच्छे कोही न कोही विरामी परेका छन । कोहीले कसैलाई काममा बोलाउने हिक्मतै गर्दैनन । सवै त्रसित छन’ मंगला गाउँपालिका, ५ की सावित्री केसीले भनिन, ‘साथीहरु सँग मिलेर उही काम गर्दा धेरै गरिन्थ्यो, एक्लै गर्दा पट्यार लाग्ने रहेछ । यो कोरोनाले पनि अ‍ैचोपैचो र अरिमपरिम गरेर काम गर्ने कुरा पनि खायो ।’ बाक्लो जनघनत्व भएका शहर, बजार क्षेत्र खुल्ला हुँदा भीडभाड बढ्ने हुँदा मुख्य वजार क्षेत्रमा औषधी पसल खुल्ला रहेका छन । तरकारी, दुधजन्य पसलहरु अत्यावश्यक सेवाको विहान केही घन्टा खुल्ने बाहेक बन्द गरिएको छ । एम्बुलेन्स, स्वास्थ्य संस्थाका सवारी, संञ्चारकर्मी, खाद्यन्न बोक्ने, दुध बोक्ने र निर्माण सामाग्री बोक्ने बाहेक सवै सवारी संञ्चालनमा रोक लागेको छ । सहर र सडक सुनसान छन ।