FLASH NEWS
  • Loading...

बेनी अस्पतालमा छुट्टै कोरोना व्लक बन्दै

  • पुनहिल डट कम
  • २ साल अघि
  • १६२ पटक पढिएको
बेनी अस्पतालमा छुट्टै कोरोना व्लक बन्दै

नयाँ भेरियन्ट सहित कोरनाको दोस्रो लहर समुदायमा ब्यापक फैलिएसँगै बेनी अस्पतालमा छुट्टै कोरोना सेक्सन बन्न थालेको छ ।
निर्माणाधिन भवनका चार वटा कोठामा संरचनात्मक सुधारगरी अक्सिजन पाईप लाईन जडित २० वेड क्षमताको छुट्टै कोरोना सेक्सन निर्माण भैरहेको बेनी अस्पतालले जनाएको छ । बेनी अस्पतालमा ४ वटा भेन्टीलेटर सहितको छुट्टै आईसियु पनि रहने छ ।
‘आजसम्म सदरमुकाम बेनीमा कोरोना संक्रमित विरामी भर्ना गरी उपचार गर्ने छुट्टै आईसोलेसन छैन । विभिन्न निकायसँग आर्थिक तथा भौतिक सहयोग जुटाएर निर्माण भैरहेको बेनी अस्पतालको कोरोना ब्लक दुई–तीन दिनभित्र सञ्चालन गर्नेगरी काम भैरहेको छ’ अस्पतालका सुपरिटेन्डेन्ट डा.जीतेन्द्र कंडेलले भने, ‘कोरोना संक्रमणको फैलावटको तलनामा कोरोना आईसोलेसन निर्माण ढिलाई भैरहेको छ ।’
पुरानो र साँघुरा अस्थाई संरचनामा संञ्चालन भएको बेनी अस्पतालमा जनरल विरामीसँग कोरोना संक्रमित विरामी राख्न नमिल्ने भएपछि कोरोना व्लक बनाउन थालिएको हो । एउटै कम्पाउण्डमा दुई छुट्टाछुट्टै भवनमा कोरोना अस्पताल र बेनी अस्पताल संञ्चालन रहने छ । बेनी अस्पतालले आईसियुमा भने कोरोनाका विरामी राखिने छ ।
‘बेनी जिल्ला अस्पतालका डाक्टर तथा स्वास्थ्यकर्मी परिचालन हुनेगरी अस्पतालमा कोरोना उपचार गर्ने छुट्टै सेक्सन बन्न लागेको हो’ बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले भने, ‘ठेकदारले बनाएको भवनको संरचना सुधार र पूर्वाधार जोडेर कोरोना अस्पताल बन्दै छ । अस्पतालमा लाग्ने सवै खर्च नगरपालिकाले वीलको आधारमा ब्यहोर्ने भएको छ । नगरपालिकाले छुट्टै २० वेडको प्रिआईसोलसन सञ्चालन गरेको छ ।’
बेनी नगरपालिकाले मात्र होईन, कोरोनाको संक्रमण तिब्र रुपमा समुदायमा फैलन थालेपछि मालिका गाउँपालिकाले ५ वेड क्षमताको कोभिड अस्पताल बाहेक पनि २० वेड क्षमताको छुट्टै आईसोलेसन निर्माण गरेको छ । जिल्लाका सवै ६ वटा स्थानीय तहमा एक जना डाक्टर (मेडिकलन अफिसर) सहित कोरोना अस्पताल संञ्चालनमा छन ।
यहाँका कोरोना र अन्य जनस्वास्थ्यमा सचेत स्थानीय तहले गाउँका कोरोना अस्पतालमा सरकारी तलव स्केलमा डाक्टर आउन नमानेपछि मासिक ५५ हजारसम्म पारिश्रमिक थप गरी एक लाखसम्म तलव दिएर डाक्टरलाई राखेका/अड्याएका छन ।