FLASH NEWS
  • Loading...

यसपालिको मनसुनमा बढी वर्षा हुने

  • पुनहिल डट कम
  • २ साल अघि
  • १८७ पटक पढिएको
यसपालिको मनसुनमा बढी वर्षा हुने

यसपालिको मनसुनका समयमा मुलुकका धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती प्रदशेका अधिकांश स्थानमा तथा प्रदेश नं १ को मध्य तथा पश्चिम पहाडी भूभागमा सदरदभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ । त्यहाँ ३५ देखि ६५ प्रतिशत वर्षा हुने अनुमान छ ।

दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च ‘सास्कोप’ र जल तथा मौसम विज्ञान विभागले हालै नेपालसहित समग्र दक्षिण एसियाको मनसुन विश्लेषण गरेको थियो । सो अध्ययनले यस वर्षको मनसुनमा मुलुभर औसत वर्षा हुने प्रक्षेपण गरेको हो।

औषतभन्दा बढी वर्षाले मुलुकमा बाढी पहिरोको सम्भावना बढी हुने भएकाले अहिलेदेखि नै सावधानी र क्षति न्यूनीकरणका कार्यक्रम तीब्ररूपमा अघि बढाउनुपर्ने मौसमविद्को भनाइ छ । विभागका उपमहानिर्देशक डा अर्चना श्रेष्ठ गत वर्ष बाढी पहिरोले क्षति पुर्याएको ठाउँमा  र भूकम्पले असर गरेको क्षेत्रमा यसपाली पनि विशेष सावधानी अपनाउन सुझाव दिन्छिन् ।

प्राप्त विवरणमा लुम्बिनी, गण्डकी, वाग्मती, प्रदेशको तराई र प्रदेश नं २ को पश्चिमी भूभागमा सरदर वर्षा (३५ देखि ४५ प्रतिशत) हुने, र प्रदेश १ को तराई र प्रदेश नं २ को पूर्वी जिल्लामा सरदरभन्दा कम वर्षा हुने अनुमान गरिएको छ । यसपाली आगामी जेठ १८ देखि नेपालमा मनसुन भित्रिँदै छ । यसको अवधी असोज १४ सम्म रहने जनाइएको छ । गत वर्ष मनसुन शुरु भएको दिनदेखि नै भारी वर्षा हुँदा ठूलो जनधनको क्षति भएको थियो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १ र २ को पूर्वी भाग, गण्डकी, सुदुरपश्चिम प्रदेशको अधिकांश भागमा न्यूनतम तापक्रम सदरदभन्दा बढी र लुम्बिनी प्रदेशको तराई क्षेत्र बाहेकमा सरदरभन्दा कम तापक्रम हुने अनुमान गरिएको छ । यही १५ वैशाखमा दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको भर्चुअल बैठक भएको थियो । त्यसमा नेपाल, भारत, म्यान्मालगायत ९ देशका मौसमविद्को सहभागिता थियो । उक्त सम्मेलनमा विश्व मौसम सङ्गठन, त्यसको क्षेत्रीय लजवायु केन्द्र भारत, युके मेट अफिस वेलायत, रिम्स थाइल्याण्ड, ईन्टरनेशनल रिसर्च इन्स्टिच्युट अमेरिका, जापान मेट्रोलोजिकल एजेन्सीलगायत संस्थाका विज्ञको सहभागिता थियो ।

विभागले विश्व मौसम सङ्गठनको विश्वभर तथा क्षेत्रीयस्तरको जलवायू सूचना उत्पादन गर्ने केन्द्रको हावापानी प्रारुप, जलतथा मौसम विज्ञान विभागको मनसुनी वर्षा र दक्षिण एसियाली जलवायू दृष्टिकोण मञ्चको आँकलनको आधारमा उक्त निष्कर्ष निकाली सार्वजनिक गरेको जनाएको छ ।

नेपालको वर्षाको मनसुनी प्रणालीमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने ‘एन्सो’, हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय प्रणालीको हालको अवस्था, जलवायू प्रारूपको मनसुन अवधिको आँकलन, यूरोप तथा एसियामा गत हिउँद तथा प्रिमनसुनको अवधिमा परेको हिउँ, अन्तरऋतु परिवर्तनशिलताका कारकलाई समेत मध्यनजर गरी उक्त आँकलन तयार पारिएको हो ।

दक्षिण एसियाको पनि वर्षा आँकलन 

विज्ञहरूले दक्षिण एसियाका धेरै मुलुकमा मनसुनका अवधिमा सरदरभन्दा बढी वर्षा हुने निष्कर्षका साथ साझा दृष्टिकोण सार्वजनिक गरेका छन् । दक्षिण एसियाका उत्तर–पश्चिम, हिमालका काख, उत्तर–पूर्व भेगका केही भूभाग तथा मध्य भागका धेरै भूभागमा सरदरभन्दा बढी वर्ष हुने आँकलन गरिएको छ । सुदुर उत्तर–पश्चिम, र उत्तर–पूर्वका भागका धेरै स्थानमा सरदरभन्दा कम वर्षा हुने आँकलन छ ।

प्राप्त विवरणअनुसार गत वर्ष सन् २०२० को जुलाइबाट प्रशान्त महासागरमा शुरु भएको मध्यमस्तरको ‘लानिना’ हाल आएर अत्यन्तै कमजोर भई झण्डै तटस्थ अवस्थामा रहेको र आगामी मनसुन अवधिमा ध्रुवीय सामुद्रिक तापक्रम सूचक हाल तटथ नै रहे पनि मनसुनको अवधिको अन्त्यतिर ऋणात्मक  विकसित हुने आँकलन गरिएको छ ।