FLASH NEWS
  • Loading...

पोखरे–चित्रे सडक कालोपत्रे अलपत्र पर्ने संकेत, ठेकदार र प्राविधिक कार्यस्थल छोडे, मजदुर धमाधम भाग्दै

  • पुनहिल डट कम
  • २ साल अघि
  • १०५ पटक पढिएको
पोखरे–चित्रे सडक कालोपत्रे अलपत्र पर्ने संकेत, ठेकदार र प्राविधिक कार्यस्थल छोडे, मजदुर धमाधम भाग्दै

राष्ट्रिय पुननिर्माण प्राधिकरणले भुकम्प प्रभावित सडक अन्र्तगत अन्नपूर्ण गाउँपालिका, ६ घारको पोखरे– चित्रे १८.५ किलोमिटर सडक कालोपत्रे कार्यक्रम अलपत्र पर्ने संकेत छ । ठेकदार र प्राविधिक कार्यस्थल छोडेका छन । मजदुरहरु धमाधम फर्कदै छन ।
सम्झौता अनुसार निर्धारित ०७७ जेठ २२ गतेसम्म सडक निर्माण गर्न नसकेर कोभिड वोनस अन्र्तगत थप तेस्रो म्यादको तीन महिना बाँकी रहँदा सडकको भौतिक प्रगति जम्मा ५४ प्रतिशतमा सिमित छ । योजनाको आर्थिक प्रगति५२.२५ प्रतिशत रहेको जिल्ला आयोजना कार्यान्वयन इकाइले जनाएको छ । निर्माण सम्पन्न गर्न अक्षम हुँदै गएपछि कार्यस्थलमा ठेकेदार, इन्जिनियर/प्राविधिकहरु भेटिन छोडेका छन । मजदुरहरु रातारात भाग्न थालेका छन ।
‘पोखरे–चित्रे सडकमा समस्या छ । तेस्रो म्याद गुज्रन लाग्दापनि प्रगति निराशाजनक छ । ठेकदार र इन्जिनियरसमेत कार्यस्थलमा भेटिएका छैनन । मजदुरहरु पनि धमाधम छोडेर गएको रिपोर्ट छ’ राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ प्रमुख आकांक्षा रिजालले भनिन, ‘जिल्लाबाट कार्यालय फेजआउट हुँदैछ, सडक पुर्ननिर्माणको काम झन सुस्त भैरहेको छ । ठेकेदारलाई तुरुन्त काममा फर्क भनेका छौं तर वास्ता गरेका छैनन ।’ प्रमुख रिजालले थपिन, ‘करिव एक महिना अघि मैले कार्यालयको जिम्मेवारी सम्हाल्दा सडक कार्यक्रमको अवस्था खराव भैसकेको थियो । तेस्रो म्याद कायम मिती ०७८ भदौ १६ गतेसम्म ८० प्रतिशत प्रगति पुर्‍याउने प्रयत्न रहन्छ ।’
पोखरेबगर–चित्रेसम्म १८.५ किमी सडक स्तर उन्नत गर्न मोतिदान/जयमाता जेभीले मुल्यअभिवृद्धि करसहित २७ करोड ९१ लाख ३५ हजारमा ठेक्का लिएको हो । ०७५ मंसिरबाट सुरु भएको सडकको स्तरवृद्धी कार्यक्रमको ०७७ जेठ २२ गते नियमित म्याद सकिएको थियो । ०७७ कात्तिक १ गते पहिलो, फागुन १७ गते दोस्रो म्याद पनि गुजारेको ठेकदार कम्पनीले अहिले कोभिड वोनस अन्र्तगत ०७८ भदौ १६ सम्मकालागी म्याद थप भएको छ ।
जिल्ला आयोजना कार्यान्वयन इकाइले दिएको जानकारी अनुसार सम्झौता १८.५ किमी सडक कालोपत्रे गर्ने उल्लेख भएपनि आयोजनाले समय–समयमा डिजाईन रिभाईजगरी ४.३ किमी ढुङ्गाको सोलिङ, २.३ किमी आरसिसि ढलान र बाँकी ११.५ किमी कालोपत्रे गर्ने भनेको थियो ।


ठेकदारले रिभाईज गरिएको डिजाईन अनुसार पनि ४.३ स्टोन सोलिङ गर्ने भनिएकोमा वैशाख १२ गतेसम्म जम्मा २.२ किमी मात्र सोलिङ भएको छ । तर सोलिङलाई प्रेसरगरी ढुङ्गाको धुलो छर्ने भनिएपनि त्यसो गरिएको छैन । २.३ किमी आरसिसि ढलान गर्नु पर्नेमा ५ सय मिटर मात्र ढलान भएको छ ।
त्यसैगरी ११.५ किमी कालोपत्रे गर्नु पूर्व नाली सहित ६.२५ चौडा सडकमा सव वेस, वेस विच्छाउनु पर्नेमा अझै नाली बनाउने र धेरै खण्डमा भित्तामा रिटेनिङ वालको काम पनि पुरा भएको छैन । सडकका विभिन्न खोल्सामा भलबाढी तर्काउन ९० एमएमका ११ मध्य ४ वटा र ६० एमएमका ३३ वटा ह्युम पाईप राख्नै बाँकी छ ।
त्यसैविच ठेकदारले सडकको विभिन्न खण्डमा आरसिसि ढलान गर्दा सोलिङ नगरी सोझै माटोमा ढलान गरेको भन्दै वासम्बार गुनासो गरेका छन । केही खण्डमा त आयोजनाका साईड इन्जिनियरकै अगाडी स्थानीयले सडक खनेर ठेकदारको लापरवाही देखाएका थिए ।
‘पहिरो जोखिम क्षेत्रमा सडक ढलान गर्दा ४.५ मिटर चौडा ढुङ्गाको सोलिङ गरी, प्रेसर दिई सो ढुङ्गाको सोलिङमाथी आरसिसि ढलान गर्ने सम्झौता विपरित आयोजनाका प्राविधिक र ठेकदार कम्पनीको मिलेमतोमा धुलोमाटोमाथी धमाधम ढलान गरेको देखेपछि, आयोजनाका इन्जिनियरकै रोहवरमा सडक भत्काएका हौं’ स्थानीय राजाराम बरुवालले भने, ‘सामान्य ढुङ्गाको सोलिङ गर्न त ठगी गर्ने ठेकदार र नदेखेझै गर्ने फिल्डका प्राविधिकहरुले ढलान गर्दा प्रयोग हुने रड, सिमेन्टको गुणस्तर र मात्रामा अझ कति ठगी भए होला ?’
आयोजना कार्यान्वयन इकाइको पछिल्लो रिभाईज डिजाईन अनुसार पहिरो जोखिमयुक्त क्षेत्रमा पीच गर्दा वेस, सव वेस मिलाउन १० टनबढीको रोलिङ मेशिलले लोडदिंदा वरपरको पुरै जमिन भाईव्रेट भै थप पहिरो जान सक्ने भएकोले कतै ढुङ्गाको सोलिङ मात्र, कतै ढलान र धेरै पीच गर्ने गरिन लागेको आयोजनाका प्राविधिकले बताए । ढुङ्गा सोलिङ र ढलान ४.४ मिटर चौडा र कालोपत्रे भने डवलकोट ३.७५ मिटर र सिङ्गलकोट ४.५ मिटरको रहने बताईएको छ ।
‘ठेकदार कम्पनीका इन्जिनियरले आरसिसि ढलान गर्नु अघि ढुङ्गाको सोलिङ गरेको बताएपनि स्थानीयले भत्काएको सडकको फोटो र भिडियोमा भने सोलिङग नदेखिएकोले त्रुटी सच्याएर काम गर्न लगाएका छौं’ जिल्ला आयोजना कार्यान्वयन इकाइ अर्का साईड हेर्ने सवइन्जिनियर डवलबहादुर तमाङले भने, ‘ठेकदारको काम गर्ने तरिका र गति विवादस्पद छ । पटक पटक म्याद थप्दा पनि ठेकेदारले समयमा काम सक्ने संभावना न्युन देखिएको छ ।’