FLASH NEWS
  • Loading...

कोरोना संकट सामना गर्न जुट्दै दल र सामाजिक संस्था

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १३१ पटक पढिएको
कोरोना संकट सामना गर्न जुट्दै दल र सामाजिक संस्था

जिल्लामा सक्रमितको संख्या थपिदै गएपछि कारोना संकटको सामना गर्ने सहयात्रीहरु पनि बढ्दै गएका छन ।
स्वास्थयकर्मी, स्थानीय निकाय र सरोकारवाला निकायले मात्र कोरोना संकट ब्यवस्थापन गर्न चुनौति देखिएपनि राजनैतिक दल समेत सामाजिक संस्थाहरु अगाडी सर्न थालेका छन ।
नेकपा एमाले म्याग्दीले बेनी नगरपालिका, २ हाडेभीर स्थित दुई तल्ले कार्यालय भवनमा आईसोलेसन राख्न दिने र संक्रमितको उपचार, रोकथाम र नियन्त्रणमा पार्टी कार्यकर्ता परिचालन गर्ने र सवारी साधनलाई एम्बुलेन्सको रुपमा परिचालन गर्ने निर्णय लगत्तै प्रमुख प्रतिपक्षी काँग्रेस पनि अगाडी सरेको छ । विभिन्न संघसंस्थाहरु पनि हातमा हात मिलाउन अग्रसर हँुदै छन ।

‘हाम्रा परम्पारगत वस्तीहरु गुचुमुच्च परेका छन । एकअर्को घर जोडिएका छन । एक घरमा संक्रमण देखिए पुरै समुदाय प्रभावित हुने देखिएको र स्वास्थ्य सुरक्षा मापदण्ड पालनाको चेतनापनि नदेखिएकोले कोरोना संक्रमण भयावह भैरहेको छ’ एमाले अध्यक्ष हरीकृष्ण श्रेष्ठले भने, ‘युवा, विद्यार्थी परिचालन गरी हेल्पडेस्क मार्फत संक्रमितको पहिचान र आईसोलेट गर्न सकियो भने जेठसम्ममा कारोना संक्रमण नियन्त्रणमा लिन सकिन्छ ।’

एमालेले कोरोना तथा आसन्न मनसुनजन्य विपतलाई समेत ख्याल गर्दै ‘ नेकपा एमाले विपद ब्यवस्थापन कोष’ स्थापना गरेको जनाएको छ । कोषमा एमाले जिल्ला अध्यक्ष हरीकृष्ण श्रेष्ठले २५ हजार सहयोग गरी कोषको सुरु गरिएको एमाललेले बताएको छ ।
कोरोना संक्रमण अनियन्त्रित फैलिएपछि नेपाली काँग्रेस म्याग्दीले फुड बैंक, एम्बुलेन्स सेवा र हेल्पडेस्क स्थापना गरी दुर्गम गाउँका विरामीलाई स्वास्थ्य संस्थामा पुऱ्याउने, स्वास्थ्य सामाग्री उपलब्ध गराउने र लकडाउनको कारण रोजीरोटी गुम्दा छाक वसेका (भोकमरीमा परेका) परिवारलाई खाद्यान्न सहयोग थालेको जनाएको छ ।

त्यस्तै गरी नेपाली काँग्रेस म्याग्दी जिल्ला समितिले पनि तरुण दल र नेविसंघ परिचालन गरी गाउँपालिका स्तरमा हेल्प डेस्क राखेर गाउँका विरामीलाई स्वास्थ्य संस्थामा पुऱ्याईरहेका छन ।
‘कोरोना महामारीको संकट ब्यवस्थापनमा सरकारी उपस्थिती कमजोर छ । यो महामारीको विपतमा सरकारको मुख ताकेर बस्दा गाउँका जनता उपचार नपाई मर्ने अवस्था देखियो । त्यसैले दुर्गम–दुर्गम वस्तीका विरामीलाई स्वास्थ्य संस्था पुऱ्याउने र समुदायलाई कोरोनाबाट वच्न जनचेतना फैलाउने अभियान थालेका हौं’ काँग्रेसका जिल्ला सभापति खमबहादुर गर्वुजाले भने, ‘खाद्यान्न हाम्रो प्राथमिकता होईन तर लकडाउन लम्बिने अवस्थामा भोकमरीमा परेको अवस्थामा कोही पनि भोकै मर्न त दिनु भएन नि ।’


राजनैतिक दलहरु मात्र होईन, जिल्लाका केही सामाजिक संस्थाहरु पनि हेल्प डेक्क स्थापना र आफ्ना निजी सवारी साधनलाई एम्बुलेन्सको रुपमा प्रयोग गरी दुर्गमका संक्रमितलाई सदरमुकाम समेतका स्वास्थ्य संस्थामा पुऱ्याउने तथा गाउँवस्तीमा चिन्हलक्षण सहितका विरामी र उनीहरुको सम्पर्कमा रहेका विरामीलाई आईसोलेट गर्न सहयोग गर्दै आएका छन ।
‘सदरमुकाम समेत बजार क्षेत्रका केही घरमा अक्सिमिटर समेत यातायातको पहुँच होला तर गाउँका कसैसँग पनि अस्पताल पुग्ने सवारी साधन छैन । घरमा मोटरसाईकल भएप्नि सिकिस्त संक्रमित वा विरामीलाई राखेर लैजान मिल्दैन त्यसैले ७ वटा गाडी तयारी अवस्थामा राखेका छौं, माग अनुसार निशुल्क विरामी बोक्छौं’ गंगा फाउण्डेसनका नारायण जिसीले भने, ‘दुर्गममा मात्र होईन यही नगरपालिका भित्रका गाउँमा पनि धेरै विपन्नको घरमा पोहोर किनेको एउटा मास्कले अहिले सम्म काम चलाएको छ । स्वास्थ्य सामाग्री वितरण गरेका छौं ।’
कोरोना महामारीको यो संकटमा पनि मानवीय सेवामा जुटेका राजनैतिक दल, तिनका भातृ संगठन र सामाजिक संघ/संस्थाले धेरै प्रशंसनीय काम गरिरहे पनि फोटो, भिडियो प्रर्दशन र प्रचारमोहबाट भने मुक्त हुन सकेका छैनन । केही ब्यक्तिले गरेको सानो सहयोगमा पनि बढी प्रचार मोहले गर्दा मानवीय सेवामा तल्लिन कार्यकर्ता ओझलमा पारेको छ ।