बेनी नगरपालिकाले बेनीकाे कालीपुलमा ‘भ्यु टावर’ बनाउँदै

१४ बैशाख २०७८, मंगलवार ०७:१३ मा प्रकाशित (2 हप्ता अघि)
पुनहिल संवाददाता

जिल्लाको सवैभन्दा गहिरो भुगोलमा अवस्थित छ, सदरमुकाम बेनी । बेनी बजारको पनि तल्लो खण्डको कालीगण्डकी नदी किनारामा अवस्थित छ, कालीपुल । र बेनी नगरपालिका, ८ वडा कार्यालले जिल्लाको सवैभन्दा गहिरो स्थानमा भ्युटावर बनाउन थालेको छ ।
बेनी नगरपालिका, ८ वडा कार्यालयले कालीपुल स्थित कालीगण्डकी नदीमाथी निर्मित एतिहाँसिक कालीपुल झोलुङ्गे पुलको टावरल्वक माथी ८ लाख खर्चेर फलामको भर्ञ्याङ राखी भ्यू पोईन्ट बनाउन थालेको हो । भ्यू पोईन्टबाट झोलुङ्गे पुलबाट भन्दा थप एक मिटर पनि थप दृश्य भने देख्न पाईने छैन ।
‘झोलुङ्गे पुलको टावर खेर गैरहेको थियो । त्यसैले त्यसलाई उपयोग गर्न साईडबाट फलामको रेलिङ राखेर कालीगण्डकी नदीको साईडसिन हेर्ने भ्यूप्वाईन्ट बनाउन लागेका हौं’ बेनी नगरपालिका, ८ का वडाध्यक्ष रामकृष्ण वराईलीले भने, ‘झोलुङ्गेमा रेलिङ सहितको भ्यूपोईन्टले फरकपन दिनुको साथै गर्मी सिजनमा सितलो हावा लिने ठाउँ बन्ने छ ।’
मान्छे उभिएको स्थानबाट देखिएको दृष्यभन्दा अझ परको दृश्यावलोकन गर्न जमिनभन्दा काठ, फलाम वा आरसिसी सामाग्री प्रयोग गरी केही अग्लो उठाएर बनाईएको संरचनालाई ‘भ्यू टावर’ र दृष्यावलोकन गर्ने स्थानलाई ‘भ्यु पोईन्ट’ भन्ने गरिन्छ ।
तराई वा सम्म परेको भु–भागमा अलिपरसम्म देख्न जमिनभन्दा केही अग्लो टावर बनाउने गरिन्छ । खासगरी जंगली जनावरको आक्रमणबाट वच्न वा देखवाली गर्न यस्ता भ्यु टावर बनाउने गरिन्छ । पहाडका अग्ला चुचुरामा पनि आजभोली उभिएको स्थानबाट भन्दा थपबढी कुनै दृष्य नदेखिएपनि आर्कषण ‘सो पीस’को रुपमा रहरले भ्यूटावर बनाउने चलन बढ्दो छ ।
‘बेनी नगरपालिकालाई बजेट खर्च गर्ने ठाउँ नपाएपछि झोलुङ्गे पुलको टावरमा पर्यटक आर्कषित गर्ने रे’ स्थानीय क्षेत्र गौचनले भने, ‘बर्षौ पुरानो पुलको जीपटावरमा मान्छे चढाउँदा दुर्घटना पो हुने हो कि ? बजेटमा रस वसेपछि यस्तै हो, विकास भैरहन्छ ।’
विस २०१५ सालमा भारतको सुनौलीबाट ठूला ठूला फलामका ट्रष्टहरु मान्छेले बोकेर ल्याई बेलायती प्रविधीमा निर्माण गरिएको ‘स्कटीज व्रिज’को म्याग्दी बेनी तर्फको करिव १५ मिटर अग्लो टावरब्लकको टुप्पोमा रेलिङ राखी भ्यूपोईन्ट बनाउन थालिएको हो ।
‘बेलायती प्रविधीमा निर्मित स्कटिज ब्रिज बेनीको कालीपुल बाहेक नेपालभर आधा दर्जन बढी छैनन । स्वीस प्रविधी भित्रिएपछि यस्ता प्रविधी हराएका हुन’ म्याग्दीमा झोलुङ्गे पुल निर्माणमा लामो अनुभव रहेका अन्नपूर्ण गाउँपालिकाका सव इन्जिनियर बालकृष्ण पौडेलले भने, ‘इन्जिनियरिङ र झोलुङ्गे पुलको डिजाइन अध्ययन र रुची भएकाकालागी यो पुल गज्जवको अध्ययन श्रोत हो ।’ सव इन्जिनियर पौडेलले भने, ‘कालीपुलको यो पुल मान्छे कालीगण्डकी तर्ने माध्यम मात्र होईन, यहाँको ब्यापार सभ्यता र सम्पदा पनि हो ।’
नेपालमा हाल नदीको दुई किनारामा व्लक उठाएर लठ्ठा तानी वल्लो–पल्लो छेउमा अग्लो र विचमा झोर्लेको ‘डि’ टाईप र झोलुङ्गेको विच भागलाई माथिल्लो लठ्ठाले माथि उचालेर बनाईने ‘एन’ टाईपका झोपुको मिश्रित प्रविधी रहेको कम्वाईन यस्ता झोपु हाल देशभरमा बढीमा १० वटा मात्र रहेको बताईएको छ ।