नेपालमाथि झुण्डिरहेको छ भूकम्पको तरवार

१२ बैशाख २०७८, आईतवार ०९:३५ मा प्रकाशित (3 हप्ता अघि)
पुनहिल संवाददाता

भूकम्प प्राकृतिक प्रकोप हो, यो दैवी प्रकोप होइन । सामान्यतः भूकम्पले हामीलाई ठूलो क्षति पुर्याउँछ । जुन कुरा हामीले रोक्न वा पन्छाउनै सक्दैनौँ ।

पहिले पहिले मानिसलाई भूकम्प किन र कसरी आउँछ भन्ने कुरा थाहा हुदैनथ्यो । तर, अहिले विज्ञानको विकास र प्रगति सँगसँगै भूकम्प आउने कारण तथा पृथ्वीको कुन कुन खण्ड वा भागमा भूकम्प आउँछ भनेर थाहा पाउन सकिन्छ । अझ कुन ठाउँमा कति रेक्टरसम्मको भूकम्प आउन सक्छ र त्यसअनुसारको भूकम्प गएपछि कतिसम्म क्षति हुन सक्छ भन्ने सम्भावनाको आँकलन गर्न सकिने हदसम्म विज्ञानको विकास भएको छ ।

भूकम्प पृथ्वीको उत्पत्तिकालदेखि नै निरन्तर घटित र पृथ्वकिो अन्त्यसम्म पनि आइरहने, गइरहने छ । भूकम्प आफैले केही गर्दैन तर हामीले बनाएका कमजोर संरचनाको आधारमा त्यसले बढी क्षति गर्छ । हाम्रो आफ्नै सीमितता र बाध्यताले भएको प्रविधिको पनि प्रयोग गर्न सकिरहेका छैनौं । घर बनाउँदा झ्यालको तल र माथि डण्डी राख्यो भने १० प्रतिशतभन्दा बढी खर्च हुँदैन अहिले बनाइरहेको घर भन्दा सुरक्षित हुन्छ भनेर हामीले सुनिराखेकै हुन्छौं । तर हामी घर बनाउँदा त्यो पनि गर्दैर्नौं । आफ्नो घर मात्रै बलियो बनाएर हुँदैन, सबैले आ–आफ्नो घर बलियो बनाए तथा आफू वरिपरिका संरचनाहरु बलियो भए मात्रै सुरक्षित होइन्छ भन्ने चेतना सबैमा आउनु जरुरी छ ।

हाम्रो देश भूकम्पको जोखिम क्षेत्रमा पर्छ । तलबाट इण्डियन प्लेट र माथिबाट तिब्बतीयन प्लेटले ठेलिरहेको स्थानबीचमा नेपाल छ । इण्डियन प्लेट नेपालको चुरेको मुनिबाट उत्तर पूर्वतिर सरिरहेको छ । यो प्रतिवर्ष सरदर चार सेन्टिमिटरको दरले तिब्बतीयन प्लेटको तलतिर छिरिरहेको छ । तिब्बततिर सजिलै छिर्छ तर नेपालमा हाम्रो हिमालले इण्डियन प्लेटलाई  सजिलै छिर्न दिदैन । फलतः त्यो भाग खुम्चिएर अग्लिदै जान्छ । त्यही प्रक्रियाबाट नै हिमालयहरु बनेका हुन् ।
तर निश्चित सीमामा अर्थात् ठेल्ने र ठेलिने प्रक्रिया चलिन्जेल त्यो खुम्चने प्रक्रिया चलिरहन्छ । त्यसपछि त्यो प्लेट इलाष्टिक तन्केपछिको अवस्थामा जस्तै आफ्नै ठाउँमा फर्कने हुन्छ । त्यही क्रममा प्लेट टुक्रने धाँजा फाट्ने जस्ता क्रियाहरु हुने गर्छन् ।

यसरी ठूलो भुइँचालो जाँदा कुनै स्थानमा जमीन सर्छन्, कुनैमा उचालिन्छ, कुनैमा धसिन्छन् । ७२ सालमा भूकम्प जाँदा धुन्चेबाट उत्तरतिरको भाग गणेश हिमालको  ७० सेमि तल धसियो । काठमाडौँ त्यति नै उचाईमा माथि उचालियो ।  ककनी १ मिटर २० सेन्टिमिटर माथि उचालियो । पहिलेको स्थानबाट काठमाडौं ४५ सेमी सर्यो । ठूला भुइँचालोहरु जाँदा यो प्रक्रिया निरन्तर रुपमा चलिनैरहेको हुन्छ । नेपालको ठाउँ भनेको जमिनसँग जमिन जुधेको ठाउँ हो । इण्डोनेशिया, चिली, जापानमा जमिनसँग समुद्र जुधेको स्थिति हो ।

भूकम्प एउटा निश्चित समयमा जान्छ भनेर त्यसलाई वर्षको प्याटर्नमा बाँध्न मिल्दैन ।  पश्चिममा ठूलो भूकम्प जाने सम्भावना रहेको छ । ५०० वर्षदेखि त्यहाँ भूकम्प जाने शक्ति सञ्चित भइरहेको छ । भूकम्प कहिले जान्छ भनेर हामीले भविष्यवाणी गर्न सक्दैनौँ । पश्चिममा गोरखादेखि देहरादुनसम्मको भागमा ठूलो भुइँचालो लामो समय गएको छैन, जसलाई हामी ‘सेस्मिक ग्याप’ भनेर बुझ्छौं । ठूला समयसम्म भुइँचालो नगएको तर जान सक्ने सम्भावना भएको यो निक्कै खतरनाक स्थिति हो । यसले त्यस क्षेत्रमा भूकम्प जाने धेरै शक्ति सञ्चित भएको छ भन्ने देखाउँछ । त्यसरी धेरै शक्ति सञ्चित हुनु भनेको ठूलो भूकम्प जान सक्ने सम्भावनाको संकेत हो ।

चुरेदेखि गोरखाको माथिल्लो भागसम्म शक्ति जम्मा भएको थियो । त्यसको आधाउधी शक्ति चाहिँ ७२ को भुइँचालोमा गयो । बाँकी रहेको आधाउधी शक्ति पनि भुइँचालोले नै जाने हो । त्यहाँ शक्ति बाँकी हुनु भनेकै खतरा हो किनभने त्यसको अर्थ नै भुइँचालो जान्छ भन्ने हो । तर यो कहिले जान्छ र कसरी जान्छ भन्ने सवाल मुख्य हो । हामीले भूकम्प मापन गर्न थालेदेखिको सबैभन्दा ठूलो भूकम्प नै ७२ सालको हो ।

समग्र हिमालय बेल्ट नै भूकम्पीय जोखिम क्षेत्र हो । हिमालयको लम्बाई पाँचसय किमि छ त्यसको एक तिहाई ८०० किलोमिटर नेपालमै छ । एक तिहाई अर्थात् ८०० किलोमिटर क्षेत्र नेपालमै परेको हुनाले भूकम्पको हिसाबले हामीकहाँ पटक पटक भूकम्प आइरहन्छ । नेपालको कुनै पनि क्षेत्रमा ठूलो भुइँचालो जाने सम्भावना जीवितै छ ।

भूकम्प आउनु भन्दा अघि आउने स–साना कम्प पूर्वकम्प हुन् भने मूख्य भूकम्पभन्दा पछि आएका साना भूकम्प पराकम्प हुन् । सबै भुईचालोमा पूर्वकम्प हुन्छ भन्ने छैन । कुनैमा पूर्वकम्प हुन्छ, कुनैमा हुँदैन । पूर्वकम्प नआइकन एकैपटक ठूलो भूकम्प आउन पनि सक्छ । १८९० विसं. मा पूर्वकम्प आएको थियो त्यसैले त्यसको क्षति अलि कम भएको थियो । २०७२ साल वैशाख १२ को भूकम्पलाई मुख्य भन्ने कि नभन्नेमा बडो द्विविधा थियो । संसारमा ७.८ वा त्योभन्दा ठूलो भुइँचालो आइसकेपछि लगत्तै झन ठूलो भूकम्प आएको उदाहरण छ । ९० सालको भूकम्पमा पूर्वकम्प गएको थियो तर ७२ सालको भूकम्पमा त्यस्तो पूर्वकम्प गएन ।

पराकम्प जानुको अर्थ ठूलो भूकम्पले विभिन्न भागमा छरिदिएको शक्ति निस्काशित हुने प्रक्रिया हो । एउटा भुइँचालो गइसकेपछि छरिएको शक्तिको कारण अर्को ठाउँमा भूकम्प जान्छ, फेरि त्यसले छरेको शक्तिको कारण अर्को ठाउँमा भूकम्प जान्छ र त्यो शक्ति छरिने निरन्तर प्रक्रियाले निश्चित समयसम्म पराकम्प गइरहन्छ ।

त्यो अनिश्चितै छ । हाम्रो हिमालयमा कसरी जान्छ भन्ने अहिलेसम्म थाहा थिएन । डाटा पनि थिएन । तर यस क्षेत्रमा गएका भूकम्पहरुको प्याटर्न हेर्दा सामान्यतः  ७२ सालको भूकम्पको पराकम्पन १० वर्षसम्म पराकम्प आउँछ भन्ने कुरा अहिलेसम्मको अध्ययनको अनुमान रहेको छ । ठूलो भूकम्प गएको ठाउँमा शक्ति बाँकी छ भने पराकम्प आएपछि त्यो निख्रिँदै जान्छ, त्यो राम्रो हो ।

हामीले बुझ्नैपर्ने कुरा के हो भने भूकम्पको एक म्याग्नेच्युट फरक पर्दा पनि त्यसको शक्तिमा ३२ गुना शक्ति पर्छ । ५ रेक्टरको भूकम्पभन्दा ६ रेक्टरको भूकम्पमा ३२ गुना शक्ति फरक हुन्छ । त्यस्तै ६ रेक्टरको भुइँचालो आउँदा त्यही शक्तिमा   १०२४ गुना फरक पर्छ । यदि कुनै ठाउँमा ८ रेक्टर स्केलको भूकम्प जाने शक्ति एकत्रित रहेछ भने त्यहाँ ५ रेक्टर स्केलका भूकम्प ३२००० ओटा जानुपर्याे । ५ रेक्टरको ३२००० बराबर ८ रेक्टरको एउटा भयो । साना भूकम्प जानु त्यहाँ भएको शक्ति क्षिण हँुदै जानु हो । साना भूकम्प नजानु शक्ति सञ्चय भएको खतरा हुनु हो ।

हामीले आशा गरेका थियौं, साना भुइँचालोबाट काठमाडौंमुनि एकत्रित भएको शक्ति चुरेतिरबाट निश्कासित होला, तर त्यो भएको देखिएन । त्यो भनेको कुनै समयमा पुनः भुइँचालो जाने सम्भावना बाँकी छ भन्ने नै ।

बुझ्नैपर्ने कुरा के हो भने, भूकम्पले मार्दैन । मार्ने भनेको हामीले बनाएका संरचनाले हो । हामी बसेको संरचना नै कमजोर छ भने हामी जता गए पनि क्षति त हुने नै भयो । हामी बाहिर बस्ने भनेको भुइँचालोबाट होइन, हामीले बनाएका संरचनाबाट हुन सक्ने सम्भावित क्षतिबाट बच्नको लागि हो । त्यहाँबाट टाढा जाने ठाउँ छ र समय छ भने सम्भव भएसम्म  बाहिर सुरक्षित ठाउँमा नै जानुपर्छ । तर त्यस्तो ठाउँ छैन र सम्भव छैन भने, माथिबाट केही खसेर टाउकोमा लागेर ज्यान बचाउन टेबुलमुनि जानु भनेको हो । तर हाम्रो कमजोर संरचना अनि त्यसमाथि सिकाइ र बुझाइमा समस्या भयो । त्यसमाथि थप, भूकम्प आउँदा कसरी सुरक्षित हुने भन्नेबारे अभ्यासको पनि कमी भयो । अभ्यास नहुने हो भने जानेकै ज्ञान पनि आत्तिएर भुइँचालोकोबेला काम नलाग्ने हुन सक्छ ।