FLASH NEWS
  • Loading...

अाज धरहराको उद्घाटन हुँदै

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १७४ पटक पढिएको
अाज धरहराको उद्घाटन हुँदै

भूकम्पले क्षति पुर्याएको धरहरा पुनःनिमार्णपछि रातिमा यस्तो देखियो ।

विसं २०७४ कात्तिक २७ गते मन्त्रिपरिषद् बैठकले धरहरा पुनःनिर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिने निर्णय गरेको थियो । विसं. २०७५ असोज १४ गते प्राधिकरणले धरहरा पुनःनिर्माण शुरु गरेको थियो । पहिलोपटक प्रधानमन्त्री बनेका बेला २०७२ फागुन ४ गते केपी शर्मा ओलीले ‘मेरो धरहरा मैं बनाउँछु’ अभियान शुरु गरेका थिए ।

धरहरा निर्माणको कूल लागत रु तीन अर्ब ४८ करोड रहेको छ । धरहरा बाहिरबाट हेर्दा ११ तलाको देखिए पनि समग्रमा धरहरा २५ तलाको हुने छ ।

जमिनमाथिबाट गजुरसहित धरहराको उचाइ ८३.८५ मिटर छ । भूमिगत तलासहित ९२.२५ मिटर हुन्छ । धरहराभित्र दुई लिफ्ट राखिएको छ । लिफ्टमा एक पटकमा १० जनाले यात्रा गर्न सक्ने छन् । लिफ्टका कारण वृद्धवृद्धा तथा अपाङ्गता भएकालाई धरहरा चढ्न सहज हुनेछ । धरहरामा फलामको भ¥याङसमेत जडान गरिएको छ ।

धरहराबाट उपत्यकाको दृश्यावलोकनका लागि २०औँ तला बाहिर २.५ मिटर चौडाइको बार्दली समेत बनाइएको छ । बाइसौँ तलामा पुरानो धरहराबाट झिकी सुरक्षित राखिएको शिवलिङ्ग स्थापना गरिएको छ । धरहरामुनिको दुईतले भूमिगत संरचनामा दुईवटा ‘विद्युतीय स्वचालित भर्याङ’ बाट तलमाथि गर्न सकिने गरी संरचना तयार पारिएको छ ।

धरहराको इतिहास

विसं. १८८२ मा महारानी ललिता त्रिपुरासुन्दरीको आज्ञामा नेपालका पहिलो प्रधानमन्त्री भीमसेन थापाले ६१.८८ मिटर अग्लो ११ तल्ले धरहरा बनाउन लगाएको इतिहास छ । विसं. १९१३ मा बज्र (चट्याङ) ले भत्केपछि विसं १९२३ मा धरहराको जीर्णोद्धार गरिएको थियो ।
विसं. १९९० माघ २ गतेको भूकम्पले भत्किएको धरहरा दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरको शासनकालमा पुनःनिर्माण गरिएको थियो । पुनःनिर्माणका क्रममा ११ तले धरहरालाई नौ तलामा सीमित गरिएको थियो ।

यो धरहराभन्दाअघि विसं. १८८१ मा थापाले नै लगनटोलमा आफ्नो नाममा धरहरा निर्माण गरेका थिए । त्यसको नाम पनि भीमसेन स्तम्भ नै राखिएको थियो । विसं १८९० मा भत्किएपछि लगनटोलको धरहरा पुनःनिर्माण नभएको ऐतिहासिक दस्तावेजमा उल्लेख गरिएको छ ।