FLASH NEWS
  • Loading...

कोरोना दोस्रो लहर : भताभुङ्ग आईसोलेसन, अलपत्र परे आईसियु र भेन्टीलेटर

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १०९ पटक पढिएको
कोरोना दोस्रो लहर : भताभुङ्ग आईसोलेसन, अलपत्र परे आईसियु र भेन्टीलेटर

कोरोनाको दोस्रो लहर झन तिब्र, आक्रमक र घातक रुपमा फैलन थालेको छ । हाम्रा व्यवहार भने लापरवाह, खेलवाड र हेलचक्र्याई गरिरहेका छौं । राज्य तथा नागरिकको स्वास्थ्य अधिकारमा चासो राख्नेहरु कोरोना संक्रमण भयावह वन्ला कि भन्ने त्रासमा छन ।
त्यही विच हामीले कोरोना रोकथाम, नियन्त्रण तथा उपचार गर्न स्थापना गरेका आईसोलेसन र भेन्टीलेटर खोज्दै छौं । कोरोना संक्रमण तिव्र फैलिदो क्रममा बेनीको शैक्षिक तालिम केन्द्र भवनमा २० बेड क्षमताको आईसोलेसन स्थापना गरिएको थियो । छुट्टै ५ वेडको आईसियु निर्माणगरी त्यहाँ ४ वटा भेन्टीलेटर जोडिएको पनि थियो ।
साँच्चै गत वर्ष त्यत्रो ठूलो धनराशी खर्च गरेका बनाएका आईसोलेसन के भएहोला ? कोरोना संक्रमणबाट गम्भीर भएका विरामीको उपचार गर्न बनाइएको आईसियु र भेन्टीलेटर कस्तो अवस्थामा होला ?
कोरोनाको जोखम कम नहुँदै कोरोना संक्रमितलाई राख्न निर्माण गरिएको २० वेड क्षमताको आईसोलेसन र गम्भीर संक्रमितको उपचार गर्न स्थापित ५ वेड क्षमताको आईसियु दुवै भताभुङ्ग भएको छ । आईसोलेसन राखिएको भवनमा अहिले शैक्षिक तालिम केन्द्र फर्केको छ । आईसियु र त्यहाँ जोडिएका भेन्टीलेटरसमेतको उपचार सिस्टम पुरै भत्केपछि अहिले भेन्टीलेटर अलपत्र छन, प्रयोगहीन अवस्थामा ।
‘गत वर्ष स्थापना गरिएको आईसोलेसन अहिले छैन । आईसोलेसन भवनबाट मात्र होईन, पुरै संञ्चालन उपकरण, स्वास्थ्यकर्मी सहित सिस्टम नै भताभुङ्ग भएको छ’ बेनी अस्पतालका प्रमुख सुपरिटेण्डेन्ट डाक्टर जीतेन्द्र खनालले भने, ‘अहिले बेनी अस्पतालमा २ बेडको अस्थाई प्रि आईसोलेसन राखेका त छौं तर आईसोलेसन र आईसियु संञ्चालन गर्ने जनशक्ति नहुँदा कार्यान्वयनमा समस्या छ ।’
कोरोना संक्रमण वढेसँगै आईसियुमा राखी उपचार गर्नु पर्ने संक्रमितलाई थप उपचार गर्न गत वर्ष नै गण्डकी प्रदेश सरकारले पठाएको बजेटबाट खरिद गरेका दुई वटा र छुट्टै प्रदेश सरकारको आपूर्ति ब्यवस्थापन केन्द्रले पठाएका थप २ वटा समेत ४ वटा भेन्टीलेटर बेनी अस्पतालमा रहेका छन ।
बेनी अस्पताल समेत स्थानीय तहका सवै कोरोना अस्पतालमा ओपिडि सेवा लिन आएका विरामीमध्य कोरोना संक्रमणको लक्षण देखिएका विरामीको मात्र एण्टीजीन परिक्षण गर्ने गरिएको छ । बेनी अस्पतालमा २ बेडको काम चलाउ प्रि आईसोलसन बाहेक स्थानीयका कोरोना अस्पतालमा आईसियु र भेन्टीलेटर छैनन । बेनी अस्पतालमा भेन्टीलेटर भएपनि यी प्रयोगमा छैनन ।
बेनी अस्पतालले ५ बेड क्षमताको आईसियु र भेन्टीलेटर उपलब्ध भएपनि जनशक्ति अभावहुँदा आईसियु संञ्चालन गर्न नसकिने जनाएको छ । आईसियु संञ्चालन गर्ने र विरामीलाई भेन्टिलेटर चलाएपछि २४ सै घन्टा चल्नु पऱ्यो । त्यसकालागी कम्तीमा ३ जना मेडिकल डाक्टर र १२ जना स्टाफ नर्स आवश्यक पर्ने अस्पतालले जनाएको छ ।
‘भेन्टीलेटर चलाउनु ठूलो कुरा होईन । यो हामीसँग तालिम प्राप्त जनशक्ति छ । तर आईसियु संञ्चालन गर्ने र विरामीलाई भेन्टीलेटरमा राखेपछि २४ सै घन्टा एक जना डाक्टर र स्टाफ नर्स स्टाण्डवाई रहनु पर्छ । मनिटरिङ गर्न मुख्य समस्या हो’ मेडिकल सुपरिटेण्डेन्ट डा. खनालले थपे, ‘अस्पताललाई नियमित विरामी परिक्षण र उपचारमै डाक्टर अभाव छ । स्थाई तर्फ एक जना एमडिजिपी र करारका ४ जना मेडिकल अफिसरको भरमा अस्पताल चलेको छ । यी मेडिकल अफिसरमध्य दुई जना पनि अध्ययनकालागी जाँदैछन ।’
डा. खनालले थपे, ‘दैनिक ८ घन्टाको ड्युटी राख्दा एक जना विरामीको केयर गर्न २४ घन्टामा तीन–तीन जना डाक्टर र नर्स आवश्यक पर्छ, जुन जनशक्ति हामीसँग छैन । नर्मल अवस्थामै उपचार सेवा प्रभावित छ, आईसियु झन परको कुरा भयो । तर स्थानीय तहले ३ जना मेडिकल अफिसर समेत १२ जना स्टार्फ नर्सकालागी मासिक ५ लाख हाराहारी बजेट ब्यवस्था गर्ने हो भने आईसियु राम्रोसँग संञ्चालन गर्न सकिन्छ ।’
जिल्लामा फेरी कोरना संक्रमणको लहर फैलन थालेको छ । बेनी अस्पतालको ओपिडिमा पछिल्लो १० दिनमा कारोना संक्रमणको लक्षणसहित उपचार गराउन आएका २१ जना विरामीको एन्टिजीन परिक्षण गर्दा ८ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।
स्वास्थ्य कार्यालयको अनुसार जिल्लामा हाल ५ जना कोरोनाका सक्रिय संक्रमित होम क्वारेन्टाईनमा रहेका छन । हालसम्म २ सय ६० जनामा कोरोना संक्रमण भएको थियो । बेनी, पोखरा र काठमाण्डौका अस्पताल पत्ता लागेका संक्रमित मध्य १० जनाको कोरोनाबाट मृत्यु भएको छ ।
बेनी अस्पतालमा मात्र होईन स्थानीय तहमा पनि आईसोलेसन छैनन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो ३ महिनाकालागी एक जना मेडिकल अफिसर, २ स्टाफ नर्स र १ कार्यालय सहयोगी नियुक्त गर्न बजेट ब्यवस्था भए अनुसार स्थानीय तहले कोरोना अस्पताल चलाएका हुन । तर कोरोना अस्पतालमा काम गर्न सरकारी तलव स्केलमा डाक्टर आउन नमानेपछि स्थानीयले तहले मासिक ५५ हजारसम्म पारिश्रमिक थप गरी एक लाखसम्म तलव दिएर डाक्टरलाई राखेका/अड्याएका छन ।