FLASH NEWS
  • Loading...

योगमा म्याग्दीका गृहणीको आकर्षण बढ्दो

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २७५ पटक पढिएको
योगमा म्याग्दीका गृहणीको आकर्षण बढ्दो

विहान ५ नबज्दै बेनीबजारका सडकमा मात्र होईन ग्रामिण भेगका गोरेटोमा कोही हल्का दौडिरहेका त कोही लमकलमक हिंडिरहेका गृहणीहरु देख्न सकिन्छ ।
उनीहरु झिसमिसेमै खेतीवाली वा घाँसदाउरा गर्न जान लागेका हैनन । नत गाग्री वोकेर पानी भर्न पँधेरमा भर्न हिँडेका गृहणी नै । वास्तवमा उनीहरु विहान पाँच नबज्दै खुल्ने योगसाधना केन्द्र र मर्निङ वाक गर्न हिँडेका ब्यक्तिगत स्वस्थ्यमा सचेत गृहणीहरु हुन ।
मर्निङ वाकिङ र योगसाधना केन्द्रमा देखिने महिलाको संख्याले गृहणीहरुमा शारिरिक तथा मानसिक स्वास्थ्यको लागी योगसाधना र शारिरिक ब्यायामको मामिलामा जागरणको संकेत मान्न सकिन्छ ।
‘बिहानीको डुलाइसँगै योग गर्न थालेको १० वर्ष पुग्यो । पछिल्लो ५ बर्षदेखी त निरन्तर नै गरिरहेकी छु । योगले मलाई स्वस्थ्य र प्रफुल्ल भै बाँच्न सिकाएको छ’ बेनीबाजरकी ओमकुमारी थापाले भनिन, ‘वास्तवमा धेरै रोग हाम्रो आफ्नै दैनिक ब्यवहार मिलाउन नसक्दा र खाना खान नजान्दा हुने रहेछ । योगले शारिरिक ब्यायामसँगै मानसिक तन्दुरस्ती राखेको छ ।’
मेडिटेसन सहितको योगले तनावपूर्ण परिस्थिती र खराव स्वास्थ्यसँग जुधिरहेका सवै उमेर समुहका महिलाको जीवनशैलीमा परिवर्तन ल्याएको छ । योगले घरगृहस्थीमा २४ सै घन्टा अल्झेका गृहणीलाई वाहिर निक्लेर जीवन जीउने कला सिक्दा ब्यक्तिलाई मात्र तनावमुक्त र स्वस्थ्य रहन सहयोग गरेको होईन, परिवारिक एवं ब्यवसायीक ब्यवहारमा पनि लाभ पुर्‍याएको उनीहरुको अनुभव छ ।


योगले प्राकृतिक रुपले शरिरमा रोग प्रतिरोधक क्षमता बढ्दा रुखाखोकी, स्वासप्रस्वासको संक्रमण नहुने र पाचन प्रणाली पनि मजवुत वनाउने नियमित योगमा लागेकाहरु बताउँछन । योगसँग स्वास्थ्य खानपिन र आनीबानी जोडिएको हुनाले के खाना/गर्न हुने एवं नहुने गृहणीलाई सचेत गराएको छ ।
‘योग शारिरिक अभ्यास मात्र होईन रहेछ, बास्तवमा जीवन जिउने कला पनि रहेछ । हामी सँधै काम गर्छौ, खाना खान्छौं, पानी पिउँछौं तर त्यही कुरा ढङ्ग पुऱ्याएर गर्दा शारिरिक तथा मानसिक तनाव र वोझ कम हुने रहेछ’ बेनी क्याम्पसचोककी कमलकुमारी पुनले भनिन्, ‘प्रणायाम, केही योग आसन, ध्यान र आहार–विचारमा थोरै ख्याल गरे शरिर स्वत फुर्तिलो हुने रहेछ, परिवारमा आफै प्रेम फैलने रहेछ ।’
जिल्लामा ०६० सालमा मनोक्रान्ति योग शिविर संञ्चालन गरेका र योगी विकासानन्दद्धारा दिक्षित योगगुरु नविन जुग्जालीको नेतृत्वमा ०७२ सालदेखी नविन आनन्द योग केन्द्रबढी सकृय छ । केन्द्रले हालसम्म ७ हजारबढीलाई योग, ध्यान र जीवन जीउने कला सिकाएको जनाएको छ । केन्द्रद्धारा दिक्षित योगप्रशिक्षकहरुले बेनीसमेत जिल्लाका विभिन्न ८ स्थानमा नियमित एक हप्ते, १५ दिने र एक महिने योग प्रशिक्षण गरिरहेका छन ।


योग गुरु विकासानन्दबाहेक अहिले २५ जना योग प्रशिक्षक रहेका छन । योग सिक्ने मात्र गृहणी धेरै होईनन, योगप्रशिक्षक पनि अधिकांश गृहणीहरु नै हुन । बेनीमा नियमित संञ्चालन भैरहेको योग प्रशिक्षणमा एक सय १५ जना सहभागी छन । बेनीमा शारदा मल्ल, ओमकुमारी थापा, कमलकुमारी पुन, पवित्रा बोगटी, सुरेन्द्र पौडेल, दिपेन्द्र विश्वकर्मासमेतले योग सिकाउँछन ।
सदरमुकाम बाहिर रघुगंगा गाउँपालिका १ बेगमा दिका थजाली, लिला पुर्जा, तिप्ल्याङमा कुसुम पुर्जा, बगरफाँटमा गीता चोखाल पुर्जा, गलेश्वरमा विन्दु पुर्जा कार्की, बालकुमार विक, विममा लक्षु गौतम, शेरमन गर्वुजा, तातोपानीमा कौप्रशाद वुढा र सीता घलेले प्रणायम, आसन, ध्यान र जीवन जीउने कला सम्बन्ध योग प्रक्षिण नियमित चलाईरहेका छन । पर्यटकीय स्थल पुनहिलमा अँग्रेजी भाषामा दख्खल भएको योग प्रशक्षिकको माग छ, तर भाषा ज्ञान खड्को छ ।
‘हाम्रो नविन आनन्द योग केन्द्रमा नियमित/अनियमित योग सिक्ने र सिकाउने प्राय: महिला/गृहणीहरु नै छन । पुरुषले आहार, विहार र विचारमा उति ख्याल गरेको पाईदैन । ह्या योगले हामीलाई एक्सरसाईज पुग्दैन, त्यो त जानी हालेको छु नि भन्ने खालका बुझाईको जडता र इगो बढी देखिन्छ’ योगगुरु नविन जुग्जालीले भने, ‘पुरुषकालागी अप्सन बढी छन तर महिलाहरु बढी समय घरायसी काममा सिमित हुनेहुँदा वालवच्चा, चुहेचौको र पारिवारिक ब्यवस्थापनको दवावले तनावमा छन । त्यसैले योगले उनीहरुलाई बढी फाईदा पुर्‍याएकोले वचन विज्ञापनको आधारमा योगमा महिला/गृहणीहरुबढी आउने गरेका हुन सक्छन ।’
गण्डकी प्रदेश सरकारले पनि आयुर्वेद स्वास्थ्य केन्द्र मार्फत योग प्रशिक्षण गराईरहेको छ । त्यसैगरी गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले बेनी नगरपालिका, ४ सिङ्गातातोपानीमा प्राकृतिक तातोपानी स्पा र योग जोडेर प्राकृतिक अस्पताल निर्माण गर्दैछ ।
नविन आनन्द योग केन्द्रबाहेक ओशो ध्यान केन्द्र र ब्रह्मकुमारी राजयोगले ध्यान र योगको नियमित कार्यक्रम गरिरहेका छन । विभिन्न सम्प्रदायको योग शिविरमा सहभागी भै योगअभ्यास सिकेपछि अधिकांशले घरमै सबेर पनि नियमित योग अभ्यास गर्ने गरेका छन । ओशो ध्यान केन्दमा पुगेर ध्यान र योग सिक्नेको संख्या तुलनात्मक थोरै छन । यहाँ महिलाभन्दाबढी पुरुष पुग्ने गरेका छन ।
ब्रह्मकुमारी राजयोगले जिल्लामा अध्यात्मसँग जोडेर ध्यान र जीवन जीउने कला सिकाउने गरेको छ । बह्माकुमारी राजगोगमा पनि अधिकांश ध्यान प्रशिक्षक र प्रशिक्षाथी महिला छन । अध्यात्म जोडेर गरिने ध्यान र योगले स्वास्थ्य जीवन शैलीप्रतिको जागरुकता बढेको ब्रह्माकुमारी राजयोगकी प्रमुख रिना दिदीेले बताउँछन ।
‘शारीरिक एवं मानसिक रुपले सवल मान्छेले सकरात्मक विचार बहन गर्छ । शान्ति र तनावमुक्त मानव दिनभर तरोताज रहन्छ, परिवार, पेशा र ब्यवसायमा पनि स्फुर्त रहन्छ’ योगप्रशिक्षक कमलकुमारी पुनले भनिन, ‘मन शान्त रहे,स्वस्थ्य रहे जगत शान्त रहन्छ, स्वस्थ्य रहन्छ । तनावले आफुलाई मात्र होइन, परिवार र समाजलाई नै हानी पुर्‍याउँछ, रोग निम्त्याउँछ ।’