FLASH NEWS
  • Loading...

डाँडापाखा सवै काला, एक महिनामा सयवढी सामुदायीक वनमा डढेलो

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २३२ पटक पढिएको
डाँडापाखा सवै काला, एक महिनामा सयवढी सामुदायीक वनमा डढेलो

लामो खडेरीको कारण वायुमण्डल सुख्खा भएको र हावाहुरीको मौषममा वन, पाखा तथा चरन क्षेत्रमा डढेलो लाग्ने घट्ना दैनिक बढेका छन ।
डिभिजन वन कार्यालयको अभिलेखमा मात्र गाउँका स–साना घाँसे पाखापखेरा छोडेर चैत महिनामा मात्र झण्डै एक सय स्थानमा डढेलो लाग्यो । पछिल्लो एक सातामा मात्र १८ स्थानमा डढेलो लाग्यो । माथिल्लो हिमालमुनीको राष्ट्रिय वनमा सिकारी र गोठालाले लगाउने डढेलोको त गणना नै हुन सकेको छैन ।
डढेलोले सवै सखाप भएपछि धुँवाले आकाश धुम्म छ । वल्ला वस्तीबाट पल्लो वस्ती नदेखिने भएको छ । गाउँघरका सवै वनपाखा आगोले डढेर कालो भएका छन । जंगल सवै डढेलोले खाएपछि फिरन्ते भेडा र बाख्रा गोठलाई चरन समस्या भएको छ ।


‘भीरपाखा डढेलोले खाएर कालो भएका छन । यता हेऱ्यो कालो पहाड उता हेऱ्यो कालो पहाड । देख्दै दिक्क लाग्ने’ दुर्गम धवलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुनले भनिन, ‘लामो खडेरीले सडकमा उत्ति धुलो उडेको छ, आकाश डढेलोबाट निक्लेको धुँवाले ढाकेको छ ।’ अध्यक्ष पुनले थपिन, ‘डढेलो नलगाउ भन्यो झन धेरै ठाउँमा आगो लगाउँछन । समुदायले कतिलाई महंगो कारवाही पनी गरे, टेरे पो ।’
सदरमुकाम बेनीमा रहेको बराहपाखो सामुदायीक वनमा लागेको डढेलो नियन्त्रणमा लिन स्थानीय, सेना, प्रहरी, शसस्त्र र वन कर्मचारीलाई चार दिन लाग्यो । जम्मा जम्मी १३ हेक्टर क्षेत्रफलमा फैलिएको बराह पाखो सामुदायीक वनमा लागेको डढेलो नियन्त्रणमा लिन हजारबढी जनशक्तिबाहेक बेनी नगरपालिकाको दमकल र बाग्लुङबाट समेत दमकल झिकाउनु परेको थियो ।


वन कार्यालय, प्रशासन, सेना, प्रहरी, शसस्त्रको ब्यारेक/कार्यालय रहेको सदरमुकाम बेनीकै सामुदायीक वनमा बर्षेनी सहजै लाग्ने डढेलो उदाहरण मात्र हो, दुर्गम भेगका वन पाखामा लाग्ने डढेलोको अवस्था झन विकराल छ ।
डिभिजन वन कार्यालय म्याग्दीको अभिलेख अनुसार गत मंसिर १ गतेदेखी चैत ३० गतेसम्म जिल्लाका १ सय ३१ स्थानको १ हजार ७ सय ६० हेक्टर वन क्षेत्र डढेलोले नष्ट गरेको छ । अभिलेख अनुसार चैत महिनामा मात्र झण्डै एक सय स्थानमा र पछिल्लो एक सातामा मात्र बेनी नगरपालिका भित्रका ४ वटा सामुदायीक वन समेत १७ स्थानमा डढेलो लाग्यो । यो मध्य धवलागिरी गापा, ४ मुदीको दुई स्थानमा राष्ट्रिय वनमा बाहेक सवै सामुदायीक वन हुन ।
‘पर्यावरण र महत्व वारे हाम्रो समाज अत्यन्तै लापरवाह भयो । सुतेको नाटक गर्नेलाई बुँझउन सकन्नि भने जस्तै हाम्रो समाजलाई वन डढेलो सम्बन्धी सचेतना कार्यक्रम उस्तै रह्यो’ डिभिजन वन कार्यालयक सहायक वन अधिकृत नरबहादुर क्षत्रीले भने, ‘वन डढेलो रोकथाम र न्युनिकरण गर्ने हाम्रा कार्यक्रम पनि परम्परागत रहे । तल्लो तहसम्म पुगेन, अगुवहरु सम्म पुग्ने बजेट सक्ने, कार्यक्रम देखाउनेमा सिमित छन ।’


वन कार्यालयको अभिलेख अनुसार जिल्लाको २ लाख २९ हजार ७ सय ६ हेक्टर क्षेत्रफल मध्य ३६.७६ प्रतिशत वन, १.८५ झाडी, २१.२७ प्रतिशत क्षेत्र चरन क्षेत्रले ओगटेको छ । ढोरपाटन सिकार आरक्षले १ हजार २ सय ६० हेक्टर, एक्यापले ३ हजार ७ सय ५३ हेक्टर वन क्षेत्र ओगटेको छ । वन कार्यालयले ब्यवस्थापन गर्ने ७९ हजार ४ सय ३९ हेक्टर वनमध्य २४ हजार २ सय २ हेक्टर वन ३ सय १० वटा सामुदायीक वन उपभोक्ता समुह मार्फत ब्यवस्थापन हुँदै आएको छ । करिव ५ हेक्टर कवुलियत, धार्मिक र निजी वन छ । बाँकी सवै राष्ट्रिय वन हो ।