FLASH NEWS
  • Loading...

म्याग्दीको थामडाँडामा डढेलोमा परी एक जनाको मृत्यु

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २११ पटक पढिएको
म्याग्दीको थामडाँडामा डढेलोमा परी एक जनाको मृत्यु

खरवारीमा सल्केको डढेलो निभाउने क्रममा एक जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार विहिवार दिउँसो बेनी नगरपालिका, ४ थामडाँडामा लागेको डढेलो निभाउने क्रममा भीरबाट लडेर ६० बर्षिय मनबहादुर गुरुङ्गको घट्नास्थलमै मृत्यु भएको हो । पर्वतको जलजला गाउँपालिका, ५ धौलापाराका गुरुङ्ग ज्यालामजदुरी गर्ने क्रममा थामडाँडामा बस्थे । अन्य गाउँलेसँगै वनमा लागेको डढेलो निभाउन गएका गुरुङ्ग तलबाट डढेलोको लप्का आएपछि भाग्ने क्रममा भीरबाट खसेको प्रहरीले जनाएको छ ।
स्थानीय तमबहादुर विकले आफ्नो वारीमा लगाएको जिलौटो (सुकेका घाँसपात र झार पोल्ने) क्रममा आगो अनियन्त्रीत भै छिमेकी धनवहादुर गुरुङको खरवारीहुँदै थामडाँडा सामुदायीक वनमा डढेलो फैलिएको थियो । डढेलो ४ बजेपछि वर्षा भएपछि आफै नियन्त्रणमा आएको थियो ।
लामो खडेरीको कारण वायुमण्डल सुख्खा भएको र हावाहुरीको मौषममा वन, पाखा तथा चरन क्षेत्रमा डढेलो लाग्ने घट्ना दैनिक बढेका छन । डिभिजन वन कार्यालय म्याग्दीको अभिलेख अनुसार गत मंसिर १ गतेदेखी चैत ३० गतेसम्म जिल्लाका १ हजार ७ सय ६० हेक्टर वन क्षेत्र डढेलोले नष्ट गरेको छ । अभिलेख अनुसार चैत महिनामा मात्र झण्डै एक सय स्थानमा र पछिल्लो एक सातामा मात्र बेनी नगरपालिका भित्रका ४ वटा सामुदायीक वन समेत १७ स्थानमा डढेलो लाग्यो । यो मध्य धवलागिरी गापा, ४ मुदीको दुई स्थानमा राष्ट्रिय वनमा बाहेक सवै सामुदायीक वन हुन ।