सिमेन्टले खाँदै छ, ढुङ्गेघर

१४ चैत्र २०७७, शनिबार १७:१० मा प्रकाशित (3 महिना अघि)
पुनहिल संवाददाता

‘न्यानो र ओभानो हुने भएकोले बस्न त ढुङ्गेघर नै जाती । यो सिमेन्टको घर त चिसो टिट्याउने पो, ढाड, घुँडा कक्रक्क पार्ने, निरोगीलाई नि रोगी बनाउने’ रघुगंगा गाउँपालिका, ७ चिमखोला पुख्यौली थलो भै हाल छोरावुहारीसँग सदरमुकाम बेनी बस्दै आएकी डिलमती पुनले भनिन, ‘गाउँको घरमा गुन्द्री ओछ्याएर त्यसै फुक्लुङ्ग सुत्दा नि हुन्थ्यो, यहाँ दुई तिन वटा प्लास्टिकको म्याटिसमा डल्लव ओछ्याएर बाक्लो सिरक ओढ्दा नि मुटु छुने चिसो हुन्छ ।’
सीपालु हातले चिटिक्क कुँदेका ढुङ्गाको पर्खाल, माटोले पोतेको, ढङ्गे छपनीको छानो । दायाँ–बायाँ र अगाडी पाली राखेको, भुईसमेत दुई तल्ले घर । पाली वारेर बनाईएको कौसी (कोठी) । फुलवुट्टे आँखी झ्याल, पालीमाथी लस्करै राखिएका फर्सी वा निगालाका सिटा । पालीका डिलमा लस्करै राखेका थाम । घरको छानामुनी वरपर राम्ररी कुँदेका काटका टोक्कल, टोक्कलमा झुण्डाएका मकैका झोता । यो हो, एउटा परम्परागत मौलिकता घर ।
गुजुमुञ्च परेका परम्परागत शैलीका ढुङ्गेघरहरु, मौलिक संस्कृति अनि सोझा, सरल र मिजासिला गाउँले वस्ती । सहरबाट माथी माथी कुना कन्दराका वस्ती छिरेका सडकले परम्परागत मौलिकतामा अतिक्रमण सुरु गरेको छ । मोटर बाटोको सुगमतासँगै गाउँ भित्रिएको सिमेन्टले परम्परागत ढुङ्गेघरलाई खप्लक्क खान थालेको छ । जहाँ सडक त्यहाँ आरसिसी घर ।
सिमेन्टले परम्परागत मौलिक घरलाई ख्वाप्पै निलेको वस्ती मध्य एक हो, नारच्याङ गाउँ । अर्को घोरेपानी । मोटरबाटो पुगेसँगै अधिकांश वस्तीका जीवन शैलीमा ब्यापक परिवर्तन आएको छ । पश्चिमका तातोपानी, बाबियाचौर, दरवाङ र उत्तरका तिप्ल्याङ, तातोपानी बजार नै भए, गाउँ–गाउँमा पनि आरसिसि घरको मोह बढेको छ ।
‘पुरानो पुस्ता अस्ताउँदै जाने र तन्नेरीहरु सवै विदेश जाने चलन बढेपछि रैथाने सीप र ज्ञान हराउँदै गएको छ । घर बनाउने सिपालु (सिकर्मी) र छाईढुङ्गा निकाल्ने ढुङ्गे सिपालु नै पाईन छोडे’ अन्नपूर्ण गापा, ४ गाडपारका ७६ बर्षिय भीमबहादुर तिलिजाले भने, ‘विदेशमा कमाएको पैसाले पुरानो शैलीको ढुङ्गेघर भन्दा सिमेन्टको घर बनाउने लहर छ । छोरीवुहारीलाई न घर लिपपोत गर्ने झन्झट न ढुङ्गा, दारपात ब्यवस्थापन गर्न हैरान ।’
३५ बर्षसम्म घर बनाउने सिपालु (सिकर्मी)को काम गरेका तिलिजाले थपे, ‘सडक पुगेपछी दैलोमै रड, सिमेन्ट आउँछ, बगरको वारी खोस्रो बालुवा र गिटी आउने भएपछि सवैले सिमेन्टको घर बनाउन थालेका छन ।’
सडक पुगेपछि सिमेन्टको सहज ढुवानी र जंगलबाट काठ बोकेर ल्याई घर बनाउनु भन्दा आरसिसि घर धेरै सस्तो पर्ने भएको छ । सामुदायीक वन विकासले वनजंगल वढेपनि लेकको वस्ती वेंशी झरेपछि वरपर घर बनाउन प्रयोग हुने वलिया जातका काठ पाईदैन । वन समितिलाई शुल्क तिरेर टाढाको जंगलबाट घर बनाउने निदल, सुना, खावो, धुरीवलो, पेटीवलो, कैची, चौकोस समेतका दारपात जम्मा गर्न महंगो पऱ्यो । काठको जोहो गरेर मात्र भएन घर छाउने छाईढुङ्गा निकाल्ने सिपालु पाईदैनन, ढुङ्गाखानी पनि पर छ, वन समितिलाइ सुल्क तिर्नु पर्ने हुँदा स्थानीय परम्परागत ढुङ्गे घरमा भन्दा आरसिसि घर तर्फ आर्कर्षित छन ।
आधुनिक शिक्षा, सूचना प्रविधीको तीव्र विकास र रोजगारीको फेरिएको स्वरुपले मानिसहरुको इच्छा र आवश्यकता फेरिएका छन । जीवन शैली, संस्कृति र सामाजिक मौलिकतामा फेरिन थालेका छन । ढुङ्गेघर विस्थापित गरी रड, सिमेन्ट, गिटीवालुवाको आरसिसि भवन बनाउने होड चलेको छ । भान्सामा जौ/गहुँ/कोदोको ढिँडो र आलुको परिकारको सट्टा भात, मासु र तरकारी पाक्न थालेको छ । घर–घरमा टिभी, हात–हातमा मोवाईल छन ।
मोटरबाटो पुगेका जिल्लका सवै वस्तीमा परम्परागत ढुङ्गे घरको सट्टा आरसिसि घर बनाउने लहर नै चलेको छ । स्थानीय सरकार र गाउँपालिका केन्द्रमा त झन तिब्र गतिमा आरसिसि घर निर्माणसँगै सहरीकरण बढ्दो छ । आरसिसि घर निर्माणसँगै सुरु भएको सहरीकरणले घरको मौलिकता मात्र होईन, पारस्परिक सद्भाव र एकतालाई पनि टुटाउँदै लगेको छ ।
‘मानव स्वास्थ्यकालागी परम्परागत ढुङ्गेघर भन्दाबढी आरसिसि घर रोगी भएपनि समाजको आर्कषण त्यतै छ । गाउँमा सुविधा पुर्‍याउन डोजरले मोटरबाटो खन्न कडाभीर पहरा फोडेसँगै मोटरबाटोले परम्परागत समाजमा जर्वजस्त संस्कृति, संस्कार, सभ्यता नासेको छ’ दुर्गम धवलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुनले भनिन, ‘केही पाउँदा केही गुमाउनुलाई स्वभाविक मान्नु पर्छ । हत्केलाले समाज रुपान्त्रण रोक्न पनि सकिन्न नी ।’