FLASH NEWS
  • Loading...

म्याग्दीको मंगला गाउँपालिका पशुको पूर्णखोपयुक्त बन्दै

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १५३ पटक पढिएको
म्याग्दीको मंगला गाउँपालिका पशुको पूर्णखोपयुक्त बन्दै

मंगला गाउँपालिकाका सवै गाईभैसी, भेडाबाख्रा, सुगुरबंगुर र कुकुर समेत पशुलाई आवश्यक पर्ने खोप लगाएर पशुको पूर्ण खोपयुक्त बनाउने तयारी भएको छ ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बेनीले मंगला गाउँपालिकाका पुरै ५ वटा वडाका
दुई हजार नौ सय पाँच जना कृषकका एक हजार छ सय ६७ वटा गाई, चार हजार चार सय १८ भैसी, एक सय ८८ भेडा, छ हजार पाँच सय ७७ बाख्रा,१० बंगुर र दुई सय ३५ कुकुरगरी १३ हजार ९५ वटा पशुलाई पूर्ण खोप दिन सुरु गरिएको मंगला गाउँपालिका उपाध्यक्ष सृजना केसीले बताईन ।
विज्ञ केन्द्रका अनुसार पशुमा पूर्णखोप युक्त कार्यक्रम अन्र्तगत कुकुरलाई रेविज विरुद्धको खोप, गाईभैसीलाई खोरेत, भ्यागुते, चर्चरे रोग विरुद्धको खोप, भेडाबाख्रालाई पिपिआर खोप र वंगुरलाई स्वाईन फिवर विरुद्धको खोप अभियानको रुपमा एक साथ लगाईने छ ।
‘पशुपालक कृषकलाई पशु ब्यवसाय सुरक्षित गर्न र पशुवाट मानिसमा सर्ने रोगबाट कृषकलाई जोगाउन पनि पशुमा पूर्णखोप कार्यक्रम प्रभावकारी बन्ने विश्वास छ’ भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बेनी पशु सेवा प्राविधिक शुभास रेग्मीले भने, ‘सवै पशुलाई अभियानको रुपमा खोप लगाउने गण्डकी प्रदेश सरकारले सुरु गरेको पशुमा पूर्णखोप युक्त कार्यक्रम नेपालको पहिलो र नमुना कार्यक्रम हो ।’
पशु सेवा प्राविधिकहरुका अनुसार मानव स्वास्थ्यमा लाग्ने रोगहरुमध्य ६१ प्रतिशत रोग पशुबाट मानिसमा सर्छ । प्राणघातक रेविज रोग बहुलाह घरपालुवा कुकुरबाट मानिसमा सर्छ । त्यसैगरी पशुबाट मानिसमा टिवी, माल्टा फिवर, महिलामा हुने पाठेघर सम्बन्धी रोगहरु ल्याक्ट्रोस्पाईरोसिस, ट्राईकोमोनोसि, फित्ते जुका समेतका रोगहरु पशुबाट मानिसमा सर्ने रोग हुन ।