ताण्डव नृत्य: सृष्टिको मूल कि शास्त्रीय नाचको एक अङ्ग

२४ फाल्गुन २०७७, सोमबार २२:०३ मा प्रकाशित (1 महिना अघि)
पुनहिल संवाददाता

जब शिवरात्रि नजिकिन्छ, गुगलमा शिव ताण्डव खोज्नेहरू र युट्युबमा ताण्डव नृत्य हेर्नेहरूको सङ्ख्या ह्वात्तै बढ्छ।

युट्युबमा ताण्डव भनेर खोज्दा पाइने एउटा नृत्य २५ करोडभन्दा बढी पटक हेरिएको देखिन्छ। अर्को एउटा ताण्डव साढे नौ करोडभन्दा बढी पटक हेरिएको छ।

अन्य कैयौँ ताण्डव नृत्य पनि करोडौँ पटक हेरिएको छ। लय, शब्द र शैली फरक भएका तर डमरुको डमडम आवाज र ऊर्जायुक्त थरी-थरीका ताण्डव नृत्य युट्युबमा टन्नै छन्। धर्मशास्त्रका जानकारहरू ताण्डवलाई भगवान् शिवसँग जोड्छन्। यसैकारण शिवरात्रि नजिकिएका बेला ताण्डव नृत्य खोज्नेहरूको सङ्ख्या निकै बढ्ने गरेको छ।

ताण्डव के हो?

धर्मशास्त्रका जानकार तथा महेन्द्र संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति विदुर पौडेल भन्छन्, “शिव ताण्डवलाई ब्रह्माण्डको सृष्टि मानिएको छ। प्रोटोन, न्युटन जस्ता भौतिक पदार्थहरूको क्रिया-प्रतिक्रिया नै ताण्डव हो।”

धर्मशास्त्रका अनुसार शिव ताण्डव भनेको शिवले गर्ने नृत्य हो।

प्राचीन कथ्य उल्लेख गर्दै पौडेल भन्छन्, “पाणिनीले शिवको तपस्या गर्दा गर्दा पाणिनीलाई शिव ताण्डवमार्फत व्याकरणको सिद्धि प्राप्त भएको थियो।”

उनी भन्छन्, “शिवजीले बोल्नुपर्दैन। डमडम, डमडम, डमडम गरेपछि कसैलाई ज्ञान प्राप्त हुन्छ, कसैलाई भक्ति प्राप्त हुन्छ।”

पौडेल भन्छन्, “अनन्तकालदेखि भएको सृष्टिलाई ताण्डवले बताउँछ। शिवको नाच भनेको त्यही हो।” पौडेलका अनुसार तन्त्र शास्त्रहरूमा ताण्डवको बृहत् वर्णन छ। अन्य धर्मशास्त्रमा पनि ताण्डवको वर्णन छ।

ताण्डव के हो?

भगवान् शिवले हरेक कुरा सृष्टि गर्दा ताण्डव गर्छन् भनिने पौडेलले बताए। भगवान् शिवलाई खुसी राख्न चाहनेले पनि ताण्डव गर्ने गरेको देखिन्छ।

महान् शिवभक्त भनिने ‘राक्षसराज’ रावणले रचना गरेको शिवताण्डवस्तोत्रम्‌को चर्चा निकै हुने गरेको पौडेलले बताए। धर्मशास्त्रका जानकारहरू शिव ताण्डव नृत्यमा र पार्वती लाक्षामा पारङ्गत भएको र उनीहरू नै सबभन्दा राम्रा नर्तक रहेको मान्छन्। धर्मशास्त्रको व्याख्या एकातिर छ, आधुनिक समयमा ताण्डवलाई शास्त्रीय नृत्यका रूपमा सिकाउने गरिएको छ।

ताण्डव नृत्य कसरी गर्ने?

शास्त्रीय नृत्यका जानकार सुरेश मिश्र आफैँ ताण्डव गर्छन् र अरूलाई सिकाउँछन्।

नृत्य, गायन र वादनमा आफ्नो परिवार दशौँ पुस्तादेखि संलग्न रहेको बताउने मिश्रले बच्चैदेखि बाबुबाजेबाट ताण्डव सिकेको बताउँछन्।

भारतमा नृत्य विषयमा एमए गरेका मिश्र शास्त्रीय नृत्यमा थरी-थरीका ताण्डव रहेको र आफूले तिनैका आधारमा सिकाउने गरेको बताउँछन्।

उनका अनुसार वीर ताण्डव, रौद्र ताण्डव, शृङ्गार ताण्डव, राक्षसले गर्ने ताण्डव, क्रोध ताण्डव, संहार ताण्डव र उमा ताण्डव गर्ने गरिन्छ।

ताण्डव गर्दा आफ्नो सृजनात्मक अभिव्यक्तिमार्फत भावभङ्गीमाले कुरा बुझाउन सक्नुपर्ने मिश्रको भनाइ छ। तर धर्मशास्त्रका कतिपय जानकार शिव ताण्डव मात्र ताण्डव रहेको मान्छन्।

विदुर पौडेल भन्छन्, “ब्रह्मा र विष्णुले पनि बेलाबखत नाच्छन् तर तिनलाई ताण्डव भनिँदैन। शिवजीको ताण्डव मात्र विशुद्ध ताण्डव हो। शिवजीले गर्ने सृजना हो ताण्डव।”

ताण्डवबारे फरक-फरक विश्लेषण र धारणामा कोही सहमत होलान्, कोही नहोलान् तर पद्मकन्या क्याम्पसमा नृत्य पढाएर हालै अवकाश पाएका मिश्रको एउटा भनाइसँग सम्भवतः सबै सहमत हुन सक्छन्- “ताण्डव अरूभन्दा फरक छ। ताण्डव गर्न विशेष ऊर्जा चाहिन्छ।”

रावणरचित शिवताण्डवस्तोत्रम्‌को एक विवेचना

भगवान् शङ्कर ताण्डव स्वरूपको प्रवर्तक हुनुहुन्छ। शिवलाई नटराज भन्ने कारण ताण्डव नाच नै हो।

संस्कृतमा ताण्डव शब्दको अर्थ उग्र, स्वच्छन्द वा नियन्त्रणरहित भन्ने हुन्छ। यद्यपि शास्त्रहरूमा दुर्गा ताण्डव, भैरव ताण्डव र राम ताण्डवको समेत वर्णन छ।

महिषासुरमर्दिनी दुर्गाले महिषासुरको वध पछि र भगवान् श्रीरामले रावण विजय पश्चात् ताण्डव गरेको प्रसङ्ग पाइन्छ। तर ताण्डव नृत्यले मूलतः नटराज शङ्करकै नृत्यको प्रसिद्धि रहेको छ।

वीर तथा बीभत्स रस मिसिँदा ताण्डव हुने हो। भाषिक लबजले वा शाब्दिक प्रयोगधर्मिताले ताण्डवभन्दा एक प्रकारको उपद्रो वा उद्दण्डताको विम्ब दिमागले जनाउँछ।

तर ताण्डव नाच प्रकृतिको सुन्दर आराधना हो। यसले विचारको वा मस्तिष्कको सम्पूर्ण उद्‌घाटन हुने र समग्रमा हाम्रो प्राज्ञिक क्षितिजलाई फैलाउने काम गर्दछ।

नृत्यमा ताण्डव नृत्य र युद्धमा पाण्डी युद्धले नै नवीन युगको सुरुवात हुने धर्मविद्‌हरू भन्ने गर्छन्। ऊर्जा र चैतन्यको प्रकटीकरण ताण्डव नृत्यले गर्दछ।

शिवजीको यो नृत्यमा सारा तारागण, ग्रहमण्डल, पृथ्वी र व्योममण्डलकै कम्पन हुने कुराको उल्लेख शिव पुराणमा पाइन्छ।

संस्कृतका श्लोक र मन्त्रहरूको पठन ता के उच्चारण समेत निकै दुरूह सम्झने आधुनिक पुस्तामा समेत निकै लोकप्रिय भएको शिव ताण्डव स्तोत्रको रचना त्रेता युगमा राक्षसराज रावणले गरेको मानिन्छ।

१५ वटा श्लोक भएको यो स्तोत्र पञ्च चामर छन्दमा संरचित छ भने यसको भाषा निकै रोचक र प्रौढ छ। रावणले यो स्तोत्रको गानबाट भगवान् शङ्करलाई प्रसन्न बनाइ लङ्कापुरीको निर्माण गरेको उल्लेख पाइन्छ। यसको पहिलो श्लोकमै ताण्डव नृत्यकै वर्णन छ:

जटाटवी-गलज्जल-प्रवाह-पावितस्थले।

गलेsवलम्ब्य लम्बितां भुजङ्गतुङ्गमालिकाम्।

डमड्डमड्डमडमड्डमन्निनादवड्डमर्वयम्।

चकार चण्डतान्डवं तनोतु न: शिव: शिवम्

अर्थात्- जसले जटारूपी जङ्गलबाट प्रवाहित भएकी गङ्गाको पानीले पवित्र भएको आफ्नै गलामा लपेटिएको सर्पको विशाल मालालाई धारण गरेर डमरुबाट निस्किने डम् डम् आवाज दिने शब्दमा रमण गर्दै जुन प्रचण्ड ताण्डव नाच गर्नुभयो। उनै शिवजीले हाम्रो कल्याण गर्नुहोस्।

यहाँ जीव जल जङ्गल र पर्यावरणीय चेत समेत प्रकटित छ। पौराणिक कथाको आधारमा भगवान् शङ्करले आफ्नो जटामा गङ्गा र शिरमा चन्द्रमाको धारण गर्नुभएको छ। त्यसैले शिवजीको अर्को नाम चन्द्रमौली पनि हो।

यसको साङ्केतिक अर्थ भनेको जस्तो सुकै प्रतिकूलतामा पनि मस्तिष्क भाग सदैव शीतल हुनुपर्दछ भन्ने नै हो। गङ्गाको स्वच्छता र चन्द्रमाको शीतलता शङ्करको शिरमा रहनुले निश्चय पनि यही भाव बुझाउँछ।

यो स्तोत्रमा कठिन र अर्थगाम्भीर्य भएका शब्दहरूको प्रचुर प्रयोग छ।

श्लोकहरूमा निहित केही भाव- जसको निधाररूपी अग्नि धक्-धक् बलेको छ। पर्वतराजकी छोरी पार्वतीको शिरोभूषणबाट सम्पूर्ण दिशा आलोकित भएको देख्दा जसको मन आनन्दी बनेको छ।

जसको दृष्टिले ठुला ठुला कष्टहरू रोकिन्छन्। त्यस्ता दिगम्बरी शिवमा मेरो मन लागिरहोस्। यहाँ प्रकृति नै मानवको सुन्दर उपलब्धि भएको कुरा आकाशलाई वस्त्रको रूपमा चित्रण गर्नुले बुझिन्छ। मनुष्य बाहिरी आवरणभन्दा भित्री आध्यात्मिक ज्योतितर्फ केन्द्रित हुनुपर्ने भाव यस स्तोत्रमा पाइन्छ। बारबार गङ्गा र अग्नि स्फुलिङ्गमय शिवको वर्णनले जलीय तत्त्व र तैजस तत्त्वको महत्त्व बुझाएको छ।

गिरि कन्दरा, दुर्वम विथि आदिको वर्णनमार्फत साह्रै रमणीय प्रकृति चित्रण समेत यस श्लोकमा छ।

साहित्यिक दृष्टिले पनि निकै गहिरो साहित्य यसमा छ। आध्यात्मिक आँखाले हेर्दा एउटा भक्तले भगवत् तत्त्व वा मोक्ष खोजेको देखिन्छ।

कदा निलिम्पनिर्झरीनिकुञ्जकोटरे वसन्।

विमुक्तदुर्मति:सदा शिर:स्थमञ्जलिं वहन्।

विलोललोललोचनो ललामभाललग्नक : ।

शिवेति मन्त्रमुच्चरन् कदा सुखी भवाम्यहम्। (१३ ‌औँ श्लोक)

अर्थात्- निकै राम्रो ललाट भएका भगवान् शङ्करमा दत्तचित्त भएर आफ्ना सम्पूर्ण कुविचारहरू त्यागेर गङ्गातटको निकुञ्जभित्र शिरमा हात राखी व्याकुल आँखाका साथ ‘शिव मन्त्रको’ उच्चारण गर्दै कहिले म अनन्त सुख (मोक्ष)लाई प्राप्त गरूँ ?

नेपाल भारत र पश्चिमा मुलुकहरूमा समेत आधुनिक पुस्तामा लोकप्रिय भएको यो स्तोत्र सौन्दर्यशास्त्रीय दृष्टिले समेत ओजपूर्ण छ।

शास्त्रीय एवम् आधुनिक सङ्गीतको समेत नयाँ नयाँ बान्की र शैलीमा गाइएको यो स्तोत्रका धेरै ओटा लय छन्।

धेरै चलचित्र र नाटकहरूमा समेत यसको धेरै प्रयोग भएको छ। यो स्तोत्र नित्य पाठ गर्नाले शिवजी खुसी भई धेरै प्रकारको सह हुने सम्पत्ति र स्थिर वैभव दिनुहुने माहात्म्य यसै स्तोत्रको अन्तिम श्लोकमा बताइएको छ।  “लक्ष्मीं सदैव सुमुखीं प्रददाति शम्भु:”

source-bbcnepali.com