FLASH NEWS
  • Loading...

कोरोना कहरमा पनि तातोपानीमा विरामीको घुईचो

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २९६ पटक पढिएको
कोरोना कहरमा पनि तातोपानीमा विरामीको घुईचो

प्राकृतिक उपचार केन्द्रको रुपमा स्थापित यहाँका तातोपानीका पोखरीहरुमा विरामीहरुको भीड लाग्न थालेको छ ।
कोभिड–१९ को कारण बन्द भएका तातोपानीका पोखरीहरु माघ १ गतेदेखी मास्क लगाउने समेतका स्वास्थ्य सावधानी पालना गराउने सर्तमा खुल्ला गरिएसँगै तातोपानीका पोखरीहरुमा हाडजोर्नी दुखेको, ग्याष्टिक र छालाका विरामीहरुको भीड बढेको हो । न जाडो न गर्मी हुने भएकोले फागुन–बैशाख तातोपानीका पोखरीमा डुब्ने उपयुक्त मौषम मानिन्छ ।
‘तातोपानी पोखरीमा डुब्दा तथा बजार क्षेत्रमा रहँदा अनिवार्य मास्क प्रयोग समेत स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गराएका छौं’ सिङ्गा तातोपानी कुण्ड ब्यवस्थापन समितिका सचिव कुमार केसीले भने, ‘महामारीको माहौलमा पनि तातोपानी डुब्न आउने विरामीको संख्या घटेको छैन ।’ केसीले थपे, ‘तातोपानी ड्ुब्न आएका विरामीमा कोरोना संक्रमण हुन नदिन शंकास्पद विरामीको पहिचानमा निगरानी पनि गरिरहेका छौं ।’
प्राकृतिक अस्पताल मानिएका तातोपानीहरु मध्य बेनी नगरपालिका, ४ स्थित सिंगा तातोपानी कुण्डमा सवैभन्दाबढी विरामीको भिड लागेको छ । विरामीको अधिक चाप भएकोले सिङ्गा तातोपानीमा महिला र पुरुषहरुको दैनिक दुई घन्टाको पालो लगाईएको छ । कोरोनाको कारणले वन्द गरिएको पोखरीमा विरामी डुब्न खुल्ला गरिएसँगै देशका विभिन्न क्षेत्रबाट प्रकृतिक उपचारकालागी आएका छन ।
‘तातोपानीको पोखरीमा डुब्न आउने विरामीको संख्या बढेसँगै महिला/पुरुषको पनि घन्टा–घन्टाको आलोपालो लगाईएको छ’ सिङ्गातातोपानी ब्यवस्थापन समितिका सदस्य सीता घलेले भनिन, ‘कोरोनाले लामो समयदेखी तातोपानी पोखरी बन्द हुँदा रोकिएका विरामी खुल्नासाथ ओईरिएका छन ।’
सिङ्गा तातोपानी मात्र होईन, अन्नपूर्ण गाउँपालिकाको नारच्याङ्वेसी, भुरुङ्ग–तातोपानी, रातोपानी, महभीरका तातोपानी पोखरी तथा रघुगंगा गापाको दग्नाम तथा धौलागिरीको मुदी बगरा र गुर्जा स्थित प्रकृतिक तातोपानीका मुल तथा पोखरीहरुमा विरामीको ओईरो लागेको छ । तातोपानी डुब्न आउनेमा अधिकांश महिला छन ।
जिल्लाका म्याग्दी, राहुघाट र कालीगण्डकी नदी किनाराका विभिन्न स्थानमा दर्जनबढी तातोपानीका पोखरी/मुल भएपनि बेनी नगरपालिका, ४ सिङ्गा तातोपानीमा धेरै विरामी आउँछन । तातोपानीको पोखरी पनि अन्यत्र भन्दा यहाँ ठूलो छ । पोखरीमा एक पटकमा एक सय ५० जना विरामी डुब्न मिल्ने भएकोले हरेक दुई–दुई घन्टामा पालो फेरिन्छ । तातोपानी डुब्न आउनेमा बढी महिला छन ।
‘अहिले दैनिक ५ सय विरामीले तातोपानीको पोखरीमा डुब्ने गरेका छन । पोखरीमा डुब्न पालो पर्खनु पर्छ’ तातोपानी कुण्ड ब्यवस्थापन समितिका कर्मचारी मेखी खत्रीले भनिन्, ‘सिजनको सुरु मै विरामीको ओईरो लागेकोले घरधनी र होटल ब्यवसायीलाई पाहुना ब्यवस्थापन गर्न धौधौ भएको छ ।’
अर्थोपेडिक औषधीले आजित भएका देशभरका वायुगोला (ग्याँस्टिक), हाडजोर्नी दुखेको, मुटुकोरक्तचाप र छालाका रोगीहरुको यहाँको तातोपानीमा प्राकृतिक उपचारकालागी आउने गरेका छन । तातोपानीमा लगातार दुई घण्टा डुबेपछी बाहिर निक्लेर कम्बलभित्र गुम्सीदै खलखली पसिना निकालेपछि रोग निको हुने विश्वास छ ।
प्राकृतिक तातोपानीमा डुब्दा रोग निको हुने विश्वासमा काण्ठमाण्डौ, पोखरा, बुटवल जस्ता सुविधासम्पन्न शहरी क्षेत्र लगाएत देशका विभिन्न भागबाट विरामीहरु उपचारकालागी यहाँका विभिन्न तातोपानीका कुण्डमा डुब्न आउने गरेका छन ।