आणविक जासुसी उपकरणले बाढी ?

९ फाल्गुन २०७७, आईतवार १९:२२ मा प्रकाशित (1 हप्ता अघि)
पुनहिल संवाददाता

बीबीसी । उत्तर भारतको हिमालय क्षेत्रमा पर्ने एउटा गाउँका बासिन्दाहरूले आफ्नो वासस्थानभन्दा माथिल्लो भेगका हिमालका हिउँ र ढुङ्गामुनि आणविक उपकरण छ भन्ने विश्वास अघिदेखि गर्दै आएका छन्।

फेब्रुअरी महिनाको सुरुमै रैनी गाउँमा बाढी आउँदा गाउँलेहरूमाझ तिनै उपकरण पड्किए भन्ने हल्ला फैलियो र उनीहरू धेरै आत्तिए। तर यथार्थमा वैज्ञानिकहरूले भने त्यसको कारण एउटा टुक्रिएको हिमनदी रहेको विश्वास गर्छन्। त्यसकै कारण उत्तराखण्डमा आएको बाढीमा परेर ५० जनाभन्दा धेरैले ज्यान गुमाए। तर सोही कुरा २५० घरधुरी रहेको हिमाली गाउँ रैनीका बासिन्दालाई सुनाउने हो भने धेरैले यो कुरा पत्याउँदैनन्।

रैनी गाउँका मुखिया सङ्ग्रामसिंह रावतले मलाई भने, ‘हामीलाई लाग्छ ती उपकरणहरूले भूमिका खेलेको हुनुपर्छ। जाडोमा नत्र कसरी हिमनदी टुक्रिन्छ? हामीलाई लाग्छ( सरकारले यसको अनुसन्धान गरेर ती उपकरणहरू पत्ता लगाउनुपर्छ।’

उनीहरूमा रहेको उक्त त्रासपछाडि उच्च हिमाली भेगको एउटा रोचक जासुसी कथा छ जसमा विश्वका शीर्ष आरोही, विद्युतीय जासुसी प्रणाली सञ्चालन गर्ने रेडियोधर्मी पदार्थ र केही जासुसहरू जोडिन्छन्।

यो कथा सन् १९६० को दशकमा कसरी अमेरिकाले भारतसँग सहकार्य गरेर हिमालय क्षेत्रमा आणविक ऊर्जाबाट चल्ने उपकरणहरू जडान गर्दै चिनियाँ आणविक परीक्षण र क्षेप्यास्त्र प्रहारको जासुसी गर्‍यो भन्नेबारे छ। चीनले सन् १९६४ मा आफ्नो पहिलो आणविक उपकरण परीक्षण गरेको थियो।

‘शीतयुद्धको त्रास उत्कर्षमा थियो। कुनै योजना धेरै अस्वभाविक थिएनन्। हैन भन्ने कुरा पुष्टि हुँदैनथ्यो,’ यस विषयमा निकै धेरै लेखेका अमेरिकाको रक एन्ड आइस म्यागजीनका कन्ट्रिब्यूटिङ सम्पादक पिट टेकेडा ठान्छन्।

सन् १९६५ को अक्टोबर महिनामा भारतीय र अमेरिकी आरोहीहरू रहेको एउटा समूह झन्डै ५७ किलो तौल भएको सात प्लूटोनीअम क्याप्सुलहरू र जासुसी उपकरण लिएर निस्किए। ती उपकरणहरू ७,८१६ मिटर अग्लो नन्दादेवी पर्वतको चुचुरोमा राख्नुपर्ने थियो।

नन्दादेवी चीनसँगको उत्तर–पूर्वी सीमा क्षेत्रमा रहेको भारतको दोस्रो अग्लो पर्वत हो। एउटा हिमआँधीका कारण आरोहीहरू चुचुरो नपुग्दै उक्त अभियान त्याग्न बाध्य भए।

तलपट्टि भाग्ने क्रममा उनीहरूले ती उपकरणहरू माथिपट्टि नै छाडे। तीमध्ये एउटा छ फुट लामो एन्टेना, दुईवटा रेडिओ सञ्चार उपकरण, एउटा ऊर्जा भण्डारण गर्ने पावर प्याक र प्लूटोनीअम क्याप्सूलहरू थिए। एउटा म्यागजीनले लेखेअनुसार ती सामानहरू उनीहरूले पर्वतको एउटा खोँचमा राखेर आएका थिए।

भारतीय टोलीको नेतृत्व गरेका र सीमा सुरक्षा गर्ने एउटा मुख्य सङ्गठनमा काम गरेका प्रसिद्ध आरोही मनमोहन सिंह कोहली भन्छन्, ‘हामीहरू तल झर्नैपर्थ्यो। अन्यथा कैयौँ आरोहीको ज्यान जान्थ्यो।’

जब आरोहीहरू अर्को वसन्त याममा ती उपकरण खोजेर फेरि चुचुरोमा पुर्‍याउन सकियोस् भनेर हिमालमा फर्किए, ती सामग्री त्यहाँ थिएनन्। झन्डै आधा शताब्दीभन्दा बढी समयपछि र खोजका लागि गरिएका कैयौँ आरोहणपछि पनि ती क्याप्सूलहरू कहाँ गए भन्ने कसैलाई थाहा छैन।

रक एन्ड आइस म्यागजीनमा टेकेडाले लेखेका छन्, ‘आजका दिनसम्म पनि हराएको प्लूटोनीअम हिमनदीमा हुन सक्छ, टुक्रिएर धूलो भएको पनि हुन सक्छ, गङ्गा नदीसँगै बगेको पनि हुन सक्छ।’ यस विषयलाई धेरै सोचिएको पनि हुन सक्ने वैज्ञानिकहरू बताउँछन्।

प्लूटोनीअम आणविक बम बनाउन प्रयोग हुने मुख्य तत्त्व हो। तर प्लूटोनीअम ब्याटरीमा भने त्यसको भिन्न आइसटोप अर्थात् प्लूटोनीअम–२३८ प्रयोग गरिन्छ। उक्त तत्त्वको हाफ–लाइभ ८८ वर्ष छ। अर्थात् उक्त रेडिओधर्मी पदार्थ वियोजित भएर आधा हुन त्यति समय लाग्छ। अहिलेसम्म बचेको भनेको उक्त विशेष आरोहणको कथा हो।

आफ्नो किताब नन्दादेवीः अ जर्नी टु द लास्ट स्याङ्चरी मा ब्रिटिश यात्रा लेखक हग थम्पसनले कसरी अमेरिकी आरोहीहरूलाई आफ्नो छाला कालो देखियोस् र स्थानीय बासिन्दालाई शङ्का नहोस् भनेर भारतीय सन ट्यान लोशन प्रयोग गर्न लगाइएको थियो भन्ने लेखेका छन्।

आरोहीहरूलाई उनीहरू एउटा उच्च भूभाग कार्यक्रम अन्तर्गत आफ्नो शरीरमा कम अक्सिजनले पार्ने असरको अध्ययन गर्न गएको जसरी व्यवहार गर्न भनिएको समेत लेखेका छन्। आणविक सामान बोक्ने भरियाहरूलाई त्यसमा एकखाले मूल्यवान् सामान, सुन पनि हुन सक्ने भनिएको थियो।

एक अमेरिकी म्यागजीन आउटसाइडले लेखेअनुसार त्यसअघि आरोहीहरूलाई अमेरिकाको नर्थ क्यारलाइनास्थित सीआईएको एउटा आधारशिविरमा लगेर आणविक जासुसीको एउटा प्रशिक्षण दिइएको थियो। उक्त आरोहणलाई भारतमा सन् १९७८ सम्म गोप्य राखिएको थियो।

सन् १९७८ मा वाशिङ्टन पोस्ट पत्रिकाले आउटसाइड म्यागजीनले लेखेको समाचारलाई समातेर सीआईएले अमेरिकी आरोहीहरूलाई आफ्नो कामका लागि नियुक्त गरेको लेखेको थियो। त्यस बेला भर्खर सगरमाथाको सफल आरोहण गरेका आरोहीहरू पनि थिए भन्ने उक्त पत्रिकाको विवरण थियो।

उसले दुईवटा हिमालयका चुचुरोमा चीनको जासुसी गर्न आणविक ऊर्जाबाट चल्ने उपकरण राख्न त्यस्ता नियुक्ति भएको लेखेको थियो। उक्त पत्रिकाले सन् १९६५ मा पहिलो अभियान सामग्रीहरू हराएका कारण अन्त्य भएको पुष्टि गरेको थियो। दोस्रो प्रयास त्यसको दुई वर्षपछि भएको र त्यसमा सीआईएका एक भूतपूर्व अधिकारीका अनुसार आंशिक सफलता हात परेको लेखिएको थियो।

सन् १९६७ मा गरिएको तेस्रो प्रयासमा नयाँ उपकरणहरू राखिएका थिए। सफल भएको उक्त अभियानमा त्यस बेला तुलनात्मक रूपमा सजिलो र पुरानै हिमालसँग जोडिएको ६,८६१ मिटर अग्लो नन्दाकोट हिमाललाई प्रयोग गरिएको थियो।

कुल १४ जना अमेरिकी अरोहीलाई तीन वर्षसम्म हिमालयमा जासुसी उपकरण राख्नका लागि प्रतिमहिना एक हजार डलरका दरले पैसा दिइएको थियो।

सन् १९७८ को एप्रिलमा तत्कालीन भारतीय प्रधानमन्त्री मोरारजी देसाईले संसद्‍मा एउटा खुलासा गर्दै नन्दादेवीमा तीनवटा आणविक ऊर्जाबाट चल्ने उपकरण राख्न भारत र अमेरिकाले शीर्ष तहमा सहकार्य भएको बताएका थिए। तर त्यस बेलाको एक रिपोर्टका अनुसार देसाईले त्यस बेला अभियान कुन हदसम्म सफल भयो भनेर खुलाएका थिएनन्।

सोही महिनाको अमेरिकी विदेश मन्त्रालयको पछि सार्वजनिक गरिएको एउटा गोप्य दस्तावेजमा दिल्लीस्थित दूतावासबाहिर झन्डै ६० जना मानिसहरूले भारतमा सीआईएको भनिएका गतिविधि विरुद्ध प्रदर्शन गरेको उल्लेख छ।

प्रदर्शनकारीहरूले सीआईए, भारत छोड र सीआईएले हाम्रो पानी विषाक्त पारिरहेको छ आदि नारा लेखिएका सङ्केतचिह्न बोकेका थिए।अझैसम्म कसैलाई ती उपकरण के भए भन्ने पत्तो छैन।

‘हो, त्यो उपकरण हिउँपहिरोमा पर्‍यो र हिमनदीमा मिसियो। त्यसको असर के हुनेछ भन्ने भगवान् जानून् ,’ एकजना अमेरिकी आरोही जिम मक्कार्थीले रक एन्ड आइस म्यागजीनका टेकेडालाई भनेका थिए।

आरोहीहरूका अनुसार रैनीको एउटा सानो केन्द्रले नियमित पानी र बालुवामा रेडिओधर्मी पदार्थको जाँच गरिरहेको हुन्छ, तर त्यसमा के भेटिएको छ भन्ने स्पष्ट छैन।

मैले ८९ वर्षीय क्याप्टेन कोहिललाई के हिमालयमा आणविक उपकरण हराउने उक्त मिशनको हिस्सा भएको तपाईँलाई ग्लानि छ भनेर सोधेँ। ‘कुनै ग्लानि वा खुसीको कुरा छैन। मैले मात्र आदेश पालना गरेको थिएँ,’ उनले भने।