‘लोकल मार्ट’ स्थानीय कृषी उत्पादन प्रोत्साहन गर्ने माध्यम

४ फाल्गुन २०७७, मंगलवार १८:०१ मा प्रकाशित (2 महिना अघि)
पुनहिल संवाददाता

उपभोक्तामा अर्गानिक खाना प्रति रुची बढेसँगै स्थानीय कृषी उत्पादनका वस्तु राखेर ‘कोसेली घर’ संञ्चालन गर्ने होड नै चलेको छ । सहरका उपभोक्तालाई उच्च ग्रामिण भेगको चिसोहावापानीमा उत्पादित अर्गानिक खाद्य वस्तु उपलब्ध गराउने उद्देश्यले सदरमुकाम समेत गाउँ–गाउँमा ‘लोकल मार्ट’, ‘कोसेली घर’, ‘सौगात घर’ खोल्न थालिएको छ ।

महिलाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन समुह मार्फत उत्पादन भएका सिस्नु पाउडर, टिमुरको चटनी, डालेचुक (सिवकथ्रोन)को जुस समेतका वस्तुको विक्री कक्षको रुपमा बेनीमा पहिलो पटक १० बर्ष अघि लघु उद्यम विकास कार्यक्रमले ‘सौगात कोसेली घर’ स्थापना गरेको थियो ।

‘ग्रामिण महिलालाई समुहमा आवद्ध गरी आयआर्जनको क्षेत्रमा जोड्ने क्रममा महिलाले उत्पादन गरेका वस्तुको बजार खोज्ने क्रममा कोसेली घरको अवधारणा आएको हो’ लघु उद्यम विकास कार्यक्रम म्याग्दीमा काम गरेकी मालिका गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले भनिन, ‘कृषकले घरमा आवश्यक अन्न छुट्टाएर उव्रेको थोरै कृषी उपज होस वा कृषक समुहमा उत्पादित फसल संकलन गथर्ने र पिसेर, कुटेर वा सुकाएर प्याकिङ्ग गरी बजार पुर्‍याउने दुवै काम लोकल मार्ट/ कोसेली घरले गरेका छन ।’

कारखानामा उत्पादित खाद्य सामाग्रीको ब्यापारबाट मनग्य आम्दानी गर्नुको सट्टा गाउँघरका कृषकले उत्पादन गरेको सानो–सानो परिणामको कृषी उत्पादनलाई संकलनगरी सहरका अर्गानिक खानाका पारखी उपभोक्तासम्म पुर्‍याउने गज्जवका माध्यम भएका छन, ‘कोसेली घर’ ।
खासमा यी स्थानीय कृषी उत्पादन विक्री कक्षको रुपमा स्थापित छन । यस्ता कोसेली घर सदरमुकाम बेनीमा मात्र ५ वटा छन ।

पश्चिम मालिका गाउँपालिका केन्द्र रहेको दरवाङमा एउटा छ । यस्ता कोसेली घरहरुमा मार्सी, गौरिया, गुडुरा, जेठोबुढो चामल, कोदो, फापसको पिठो, मैकैको आँटो (च्याँख्ला), जौको पिठो, सातु जस्ता स्थानीय खाद्य सामाग्री, लेकाली सिमी, बोडी, मुलाको धजरा, मुलाको गुन्द्रुक, घ्यु, परम्परागत मुढेघारको मह, भीर मह, चटनी खाने भाँगो, सिलम, जंगली रातो च्याउ, टुसा, निउरोको सुकुटु, ढकायोको गुन्द्रुक समेत पूर्ण अर्गानिक खाद्य सामाग्री विक्रिमा राख्ने गरिएको छ ।

‘एक जना कृषक वा ठाउँको भन्ने छैन । जिल्ला बाहेक बाग्लुङ र मुस्ताङसम्मका उत्पादन राखिएको छ । कृषक समुह वा कोही ब्यक्तिले गाउँमा माना वा पाथीमा संकलनगरी वोरा पुऱ्याएर यहाँ ल्याउने हुन । कसैले चार माना–एक पाथी मात्र पनि ल्याएर आउँछन’ मितेरी लोकल मार्टकी संञ्चालिका पुष्पा पुनले भनिन, ‘खैरो, छिर्केमिर्के सिमी अन्नपूर्ण गापा, १ दोवाबाट ल्याउँछौं । कालो सिमी र फापरको पिठो मुस्ताङबाट ल्याउँछौं । टिमुर तोरीपानीबाट, भाँगो रुम, पात्लेखेत, डढुवा, पूर्णगाउँबाट, बदाम दोवा, बरंजाबाट आउँछन । चामल बाबियाचौर क्षेत्रबाट आउँछ । रातो च्याउ, भीरमह गुर्जाका वडाध्यक्षले ल्याउनुहुन्छ ।’

तीन वर्ष अघि स्थापना भएको मार्टले जिल्लाका विभिन्न गाउँमा उत्पादन भएका ७० बढी प्रकारका स्थानीय कृषी उत्पादनका वस्तु राखेको जनाएको छ । मार्टले दैनिक १०–१५ हजारको ब्यापार गर्ने गरेको छ । लोकल मार्ट/कोसेली घर संञ्चालन गर्न ५ देखी १० लाखसम्म लगानी गरेका छन ।

लोकल मार्ट/कोसेली घरका ग्राहक भने स्थानीय होईनन । म्याग्दी मुस्ताङ्ग घुम्न आएका आन्तरिक पर्यटक तथा जिल्लामा सरुवा भै आएका सुरक्षाकर्मी समेत कर्मचारीहरुले घर फर्कदा घर वा आफन्तलाई कोसेलीको रुपमा यहाँका अर्गानिक कृषी उत्पादनका सामाग्री किन्ने ग्राहक हुन ।

‘कृषकको सानो सानो परिणाममा वस्तु खरिद गर्नु पर्ने भएकोले नगदमै कारोवार गर्नु पर्छ । सिमी, भाँगो, सिलम समेत केही वस्तुको माग अधिक भएकोले कृषकलाई अग्रिम पेश्की छोड्नु पर्छ । अन्य खाद्य वस्तु भन्दा धेरै नै महंगो हुनेहुँदा लगानी थेग्न मुस्किल हुन्छ’ धौलागिरी कोसेली घरकी मीना राम्जालीले भनिन्, ‘सँधै पनि विक्रि हुँदैन कुनै वेला कुनै बाहिरबाट भ्रमण टोली आयो भने झप्पै एकै पटक पनि विक्रि हुन्छ ।समयमा विक्रि भएन खेर जाने हो ।’

स्थानीय अर्गानिक कृषी उत्पादनलाई ब्यवसायीकरण गर्न मालिका गाउँपालिका, ६ दरवाङको आत्मनिर्भर ब्यवसायीक कृषी सहकारी नमुना काम गरिहेको छ । २ सय २५ घरधुरी सदस्य रहेको सहकारीले गाउँमा १७ जना कृषकको १ सय ७० रोपनी बाँझो जग्गा १० बर्षकालागी निशुल्क लिएर तरकारी तथा खाद्यवाली लगाएको छ । सहकारीले अघिल्लो सिजनमा सिमी, कालो भट्ट र गहत खेती गरेका थियो । अहिले सवै १ सय ७० रोपनी जग्गामा जौ खेती गरेको छ । कृषी सहकारी मार्फत संञ्चालित आत्मनिर्भर कोसेली घर भने कृषी वस्तु संकलन र विक्रि गर्ने मात्र होईन, वस्तु–वस्तु विनिमय गर्ने थलो पनि हो ।

‘गत सिजनमा हाम्रो सहकारीले सामुहिक खेतीगरी ६ मुरी कालीभट्ट, २० मुरी सिमी र ७ पाथी गहत उत्पादन गऱ्यौ. । अहिले जौ खेती गरेका छौं’ सहकारीका सन्तोष सुवेदीले भने, ‘कृषकको दैनिक घरायसी समस्या समाधान गर्न वस्तु–वस्तु विनिमय गर्ने संस्था पनि हौ । एउटा कृषकले कोसेली घरमा डोको दिएर मुल्य बरावरको घरमा आवश्यक नुनतेल साटेर लैजान सक्छन ।’

बेनीमा खुलेका कोसेली घर तथा सहरका ठूला पसलमा सिमी बेचेर राम्रो आम्दानी गर्ने वस्ती भने अन्नपूर्ण गाउँपालिका, १ दोवा हो । करिव १ सय ५० घरधुरी रहेको दोवाबाट छिर्केमिर्के जातको लोकल सिमी विक्रिबाट बार्षिक ३० लाखबढी भित्राउने गरेको छ । लेकाली वस्तीमा उत्पादित दोवाको सिमी बेनीमा मात्र होईन पोखरा, काठमाण्डौका होटलहरुले अग्रिम भुक्तानी गरी खरिद गर्ने गरेका छन । अन्नपूर्ण गापाको अन्नभण्डार मानिने दोवाबाट मकै, कोदो र बदामपनि उत्तिकै विक्रि हुने गरोके छ ।

यस्ता स्थानीय कृषी सामाग्री विक्रि गर्ने लोकल मार्ट, कोसेली घर संञ्चालन गर्ने पेशामा सामाजिक तथा राजनैतिक क्षेत्रमा क्रियाशिल महिला तथा जनप्रतिनिधीहरु सकृय छन । सहरीया जीवनशैलीले रोगी वनेपछि धेरै मान्छे रासायनिक मल तथा किटनासक औषधी प्रयोग नभएको कारणले मात्र होईन लेकाली चिसो हावापानीमा उत्पादित खाद्य वस्तु वेजोड स्वादिलो हुने भएकोले गाउँका अर्गानिक खाद्यान्न महंगो मुल्य तिरेरै खान थालेका छन ।

कोसेली घरले महिला तथा साना कृषी उद्यमीहरुलाई प्रोत्साहन गर्नुको साथै स्थानीय उत्पादनको बजारी करणमा सहज भएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले भने, ‘धेरै ब्यक्ति गाउँबाट सहर झरेपनि गाउँमा रहँदा जिव्रोमा गडेको अर्गानिक खानाको स्वाद विर्सन सकेको छैन । त्यसैले सहर झरेकाहरु सँधै भान्सामा लेकाली अर्गानिक स्वाद पकाउन नसकेपनि कहिले काहीं भएपनि अर्गानिक स्वाद चाख्न महंगो मुल्यमै गाउँका कृषी उत्पादन किनेर लैजान्छन ।’

अध्यक्ष कुटुवालले थपे, ‘गाउँबाट सहर झर्दा पनि आफन्तले च्याउ, भाँगो, सिलम, गुन्द्रक, सिमी समेतका लेकाली कृषी उत्पादन कोसेलीको रुपमा ल्याउने र गाउँ आएका सहरका पाहुनालई पनि गाउँले उत्पानको सानो पोको कोसेली हाल्ने चलन हाम्रो समाजमा अझै जीवित छ ।’