FLASH NEWS
  • Loading...

गाउँ पर्यटनको गन्तब्य झिं

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १४९ पटक पढिएको
गाउँ पर्यटनको गन्तब्य झिं

सरकारले रघुगंगा गाउँपालिका, ५ झिं गाउँलाई उत्कृष्ट पर्यटकीय गाउँ छनौट गरेको छ ।

उत्कृष्ट पर्यटकीय गाउँ छनौट भएसंग संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गाउँपर्यटनको पूर्वाधार निर्माण गर्न ७० लाख बजेट समेत ब्यवस्था गरेको छ । यस अघि गाउँपर्यटन मञ्चसमेतका संस्थाले झिं गाउँलाई होमस्टे भिलेज घोषणा गरेका थिए । धौलागिरी सेन्चुरी पदमार्गको प्रवेश द्धारको रुपमा अवस्थित रघुगंगा गाउँपालिका, ५ झिंलाई आवश्यक पूर्वाधार पुगेपछि झिंलाई गाउँघर पर्यटन घरवास ‘होमस्टे’ वस्ती बनाईएको हो ।

नयाँ पदयात्रा मार्गमा आवश्यक होटल, बाटो आदी पुर्वाधार बन्ने क्रमसँगै घरबास (होमस्टे) शुरु गरिएको हो । पदयात्रा क्षेत्रका बस्तीमा पर्याप्त खाना तथा आवासलाई घरबास र बस्ती नभएको पदमार्गमा पर्ने असजिला बाटो फराकिलो बनाईको छ । ठाउँ–ठाउँमा सफा पिउने पानीको प्रबन्ध पनि गरिएको छ ।

‘पदमार्गमा खाने बस्ने ठाउँ नभएकोले पर्यटक आएनन भन्ने सुनेपछि हाम्रा घरमा छुट्टै कोठा, ओढ्नेओछ्याउने, खानेकुरा र पकाउने विधी समेत थोरै सुधार गरी होमस्टे थालेका हौं’ झिंकी सामाजिक अगुवा गौरी गर्वुजाले भनिन्, ‘अहिले फाट्टफुट्ट पर्यटक बास बस्न थालेका छन । विस्तारै पर्यटक बढ्लान भन्ने आसा गरेका छौं ।’

पर्यटकिय सुविधाकालागी रेष्टुरेन्ट, गेष्टहाउस समेतका पूर्वाधार नहुँदा ओझलमा परेको धौलागिरी सेन्चुरी पदमार्गमा होमस्टे संञ्चालन गरिएको हो । स्थानियवासीले पर्यटककालागी आधारभूत खानाका परिकारसहित रैथाने अर्गानिक खाद्यान्नको परिकारले स्वागत गर्ने गरेका छन । परम्परागत घरमा छुट्टै कोठा, बेड थप गरी पर्यटककालागी सुविधा थपेका छन ।

ढुङ्गामाटोले बनेका परम्परागत घर, आगनको छेवैमा उभ्याईएका मकैका थाँक्राले गाउँको आर्कषण थपेको छ । एक सय ८० घरपरिवार बस्ने झिंका सवै घरमा पक्की शौचालय, भाँडा धुने सफा जुठेल्नो र शुद्ध खानेपानीको सुबिधा छ । खाना अघि र फोहोर छोएपछि साबुनपानीले हातधुने त गाउँलेको सस्कृति नै हो ।

‘सरसफाई र स्वच्छता सहितको हाम्रो वस्तीमा होमस्टे शुरु गरिएका छौं’ धौलागिरी पर्यटन विकास परिषदकी सदस्य गौरी गर्वुजाले भनिन, ‘सामुदायिक सकृयतामा प्रवर्द्धधन गरिएको धौलागिरी सेन्चुरी पदमार्गमा फाट्टफुट्ट समुहमा पर्यटक आउन पनि थालेका छन । गाउँ आएका पाहुनालाई कहाँ राख्चे भन्ने समस्या छैन ।’

प्रत्येक घरमा घरायसी फोहोर व्यवस्थापनका लागि खाडल र चोकचोकमा डस्टबिन राखिएको छ । वस्तीका गल्ली र मुख्य पदमार्गमा डस्टवीन राखिएको छ, वयस्कहरुले मात्र होईन बालबालिकाहरु समेत नहुहिने फोहोरलाई यही बोरामा राख्छन । कुनै समय नाक थुनेर हिड्ने गल्ली अहिले सफा र चिटिक्क बनेपछि गाउँले मात्र होईन झिं पुग्ने जो कोही दंग पर्छन । झिं पुग्न सदरमुकाम वेनीबाट माईक्रोवस, जीपबाट दुई घन्टामा पुग्न सकिन्छ । पैदल यात्रा गर्न बेनीबाट उत्तरपश्चिम गलेश्वरसल्लेरीहुँदै चार घन्टामा पुग्न सकिन्छ । धौलागिरी सेन्चुरी पदमार्गमा पर्ने झिं साँस्कृतिक पर्यटनकालागी पनि गज्जवको गन्तब्य हो ।

परम्परागत मगर भेषभुषा, नृत्य हेर्ने चाहने पर्यटककालागी आमा/बाबा समुह तयारी अवस्थामा हुन्छन । रोधीमा रस भएका आन्तरिक पर्यटककालागी स्थानिय आमा समुहलाई निश्चित शुल्य बुझाएर, रातमा रोधी/दोहोरी गाउन पाईन्छ । अर्गानिक तरकारी, च्याउ, सिस्नु, सिमी र रैथाने बोकाको मासु उपलब्ध छन । झ्यालबाटै हिमालको दृष्यपान गर्दै अगेनोको छेउमा बसेर लोकल कुखुरा वा बोकाको माशुले दाँत माझ्नुको मज्जा नै छुट्टै ।

‘दुई बर्ष अघि मात्र धौलागिरी सेन्चुरी पदमार्गको पहिचन गरी नक्सा बनाउने, पदमार्गमा पर्यटन पूर्वाधार निर्माण गर्ने काम भैरहेको छ । धौलागिरी सेन्चुरी कुमारी पदमार्ग हो’ उद्योग बाणिज्य संघका राजेश शाक्यले भने, ‘पर्यटन पूर्वाधारकालागी सामुदायिक तथा ब्यक्तिगत लगानीमा प्रोत्साहन गर्ने र आवश्यक तालिममा सहकार्य गरिरहेका छौं ।’