FLASH NEWS
  • Loading...

पेट्रोलियम पदार्थको मूल्य घटाउन यातायात व्यवसायीको माग

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २१९ पटक पढिएको
पेट्रोलियम पदार्थको मूल्य घटाउन यातायात व्यवसायीको माग

पेट्रोलियम पदार्थमा गरिएका मूल्यवृद्धि तत्काल फिर्ता नलिए आन्दोलनमा उत्रिने यातायात व्यवसायीहरुले चेतावनी दिएका छन्।

कोरोना कहरको चपेटामा परेका कारण ठूलो  आर्थिक व्ययभार पर्न गई बैंक किस्तासमेत तिर्न नसकिएको अवस्थामा पेट्रोलियम पदार्थ गरिएको मूल्यवृद्धिले आफूहरु थप मारमा परेका विज्ञप्तिमा उल्लेख छ। सरकारले मूल्यवृद्धि फिर्ता नलिएर आफूहरुले आफैँ भाडा वृद्धि गर्ने पनि उनीहरुले चेतावनी दिएका छन्। उनीहरुले मूल्यवृद्धि फागुन ८ गतेभित्र फिर्ता लिन सरकारलाई अल्टिमेटम पनि दिएका छन्।

उक्त मितिसम्म मूल्यवृद्धि फिर्ता नलिए तत्कालै एउटा बैठक डाकी आन्दोलनका निर्णयहरु लिइने पनि विज्ञप्तिमा जनाइएको छ। सरकारबाट २०६५ फागुन २० गतेदेखि लागू हुने गरी प्रत्येक आर्थिक बर्षमा भाडा अनिवार्य रुपमा स्वतः   यातायात व्यवस्था विभागबाट समायोजन गर्नुपर्ने व्यवस्था भए पनि हालसम्म कार्यान्वयन नगरिएको यातायात व्यवसायीहरुको भनाइ छ। ‘सवारीसाधनसँग सम्वन्धित च्यासिस, पार्टपुर्जा, लुब्रिकेन्टस लगायतमा अत्याधिक मूल्यवृद्धि भएको छ तर कर, रुट इजाजत, दस्तुर, जाँचपास, बीमा, प्रिमियमलगायतमा सरकारबाट कुनै छुट सुविधा दिइएको छैन’, उनीहरुले भने।

नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल र पेट्रोलमा २ रुपैयाँ प्रतिलिटर बढाएको छ।