FLASH NEWS
  • Loading...

बिहारमा १२ वर्षिया नेपाली मुलकी बालिकाको सामूहिक बलात्कारपछि हत्या

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १४७ पटक पढिएको
बिहारमा १२ वर्षिया नेपाली मुलकी बालिकाको सामूहिक बलात्कारपछि हत्या

भारतको बिहार राज्यस्थित पूर्वी चम्पारण जिल्लामा एक नेपाली मुलकी बालिकालाई सामूहिक बलात्कारपछि हत्या गरिएको छ । १२ वर्षिया बालिकाको बलात्कारपछि हत्या गरी शव जलाइएको बीबीसी हिन्दीले लेखेको छ ।

बीबीसीका अनुसार उक्त घटनामा त्यहाँको स्थानिय पुलिसको पनि मिलेमतो रहेको आशंका गरिएको छ । प्रारम्भिक अनुसन्धान र एक अडियोले उक्त घटनामा स्थानिय थानाका थानाध्यक्षको पनि संलग्नता रहेको संके गरेको छ । एसपी नवीनचन्द्र झाले शंकाको घेरामा रहेका थानाध्यक्षलाई निलम्बन गरिएको र उनीविरुद्ध एफआईआर दायर हुनसक्ने बताए ।

नेपालबाट भारतको मोतिहारीस्थित चैनपुरमा गएर मजदूरी गर्दै आएका सुरेश (परिवर्तित नाम) का अनुसार यो घटना २१ जनवरीको हो । उनका अनुसार त्यस दिन आफू काममा गएको छोरा बजार गएका थिए ।

बेलुका ४ बजेतिर छोरा बजारबाट फर्किँदा घरमालिक सियाराम साहले रोकेको तर उनी घर पुग्दा आफ्नी बहिनीलाई घाइते अवस्थामा भुईंमा लडिरहेको देखेर आफूलाई फोन गरेर बोलाएको सुरेशले निवेदनमा बताएका छन् ।

उनले घर पुगेर हेर्दा छोरी जमिनमै लडिरहेकी र उसको घाँटीमा रातो दाग रहेको बताए । तत्काल उपाचारका लागि डाक्टरकहाँ पुर्‍याए पन कसैले पनि उपचार गर्न नमानेको सुरेशले पूर्वी चम्पारणका अनुमण्डल अधिकारीलाई दिएको लिखित निवेदनमा उल्लेख गरेका छन् ।

सुरेशका अनुसार त्यसपछि त्यहाँ अभियुक्तका मानिसहरु जम्मा भएका थिए । उनीहरुले लाशलाई तुरुन्तै जलाउन दबाब दिन थाले । सुरेशले निवेदनमा भनेका छन्, ‘देवेन्द्रकुमार साहले लाश तुरुन्त जलाउन धम्की दिंदै भने कि अन्यथा तेरो छोराको पनि हत्या गरेर नेपालमा लगी फ्याँकिदिनेछु । त्यसपछि एउटा सादा कागजमा मेरो औंठा छाप लगाइयो र राति १२ बजे बलजफ्ती पोखर रोडमा सडकको किनारमा नून र चिनी हालेर लाश जलाइयो । बिहान भएपछि मलाई नेपालतर्फ लखेटियो ।

२१ जनवरीमा घटना भएपनि एपआईआर भने १२ दिनपछि २ फेब्रअरीमा दर्ता भएको थियो । एफआईआरमा विनय साह, दीपककुमार साह, रमेश साह र देवेन्द्रकुमार साहसहित ११ जनालाई अभियुक्त बनाइएको छ । यस्तै घरमालिक सियाराम शाहमाथि पनि लाशलाई जबरजस्ती जलाएर प्रमाण मेटाएको आरोप लागेको छ ।

एफआईआर दर्ता भएपछि गत ५ फेब्रुअरीमा एउटा अडियो भाइरल भएको थियो । उक्त अडियोमा २१ जनवरीमा कुँडवा चैनपुरका थानाध्यक्ष संजीवकुमार रञ्जन र एक अभियुक्त रमेश साहबीचको कुराकानी रहेको छ । उक्त अडियोमा थानाध्यक्ष संजीवकुमारले अभियुक्त रमेश साहसँग भनेका छन्, ‘केटीलाई ठेगान लगाउ र चिसोले मरेकी भनेर लेख ।’

एसपी झाका अनुसार यो घटनामा दुई जनालाई गिरफ्तार गरिएको छ । अन्य अभियुक्तलाई गिरफ्तार गर्न एउटा कमिटी निर्माण गरिएको छ ।