‘सूर्य’ को ताकत : जता सूर्य उतै मतदाता ?

१० माघ २०७७, शनिबार १६:०८ मा प्रकाशित (1 महिना अघि)
पुनहिल संवाददाता

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको संघारमा छ। विभाजन होस् भन्‍ने कामनाका साथ पार्टीभित्र दुई समूह तम्तयार भएर बसेका छन्। एउटा समूहको नेतृत्व गरेका छन् प्रधानमन्त्री केपी शर्मा ओलीले। अर्को समूह पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातमा छ।

नेकपाका कुन नेता कुन समूहमा बस्‍ने कित्ताकाट आफैंले गरिसकेका छन्। कित्ताकाट हुन बाँकी दुई कुरा छन्- पहिलो, पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पाटी (नेकपा)’ र दोस्रो, पार्टीको चुनाव चिन्ह ‘सूर्य’।

दुवै पक्षले अहिले बढी ऊर्जा यिनै दुई कुरा प्राप्तिका लागि खर्चिरहेका छन्। कुनै पनि मञ्‍चमा गएर भाषण गर्दा दुवै पक्षले भन्‍न छुटाउँदैनन्- ‘आधिकारिक नेकपा हामी हो, सूर्य चिन्ह हाम्रो हो।’

“सूर्य- जनतामा स्थापित भइसकेको चुनाव चिन्ह हो। जनतालाई ‘सूर्य’ चिन्हबारे परिचय दिइरहनु पर्दैन। यसैकारण दुवै पक्ष यो चिन्ह गुमाउन चाहँदैनन्,” लेखक/विश्लेषक तथा नेकपा (एमाले)का पूर्वसांसद नारायण ढकाल भन्छन्।

शीर्ष नेताहरूले भाषणमा पार्टीको नामभन्दा बढी चुनाव चिन्ह ‘सूर्य’ को नाम उच्चारण गर्ने गरेका छन्। चाहे त्यो काठमाडौंको कार्की ब्याङ्‍क्‍वेटमा भाषण गर्दा होस् या धनगढीको सभालाई सम्बोधन, प्रधानमन्त्री ओलीले पनि सूर्य चिन्ह आफ्नो भएको दाबी गर्न छाडेका छैनन्।

नेकपाभित्रको प्रचण्ड समूहले पनि कार्की ब्याङ्‍क्‍वेटदेखि नेपाल प्रज्ञा प्रतिष्ठानसम्म भाषण गर्दा ‘सूर्य- हाम्रो हो’ भन्‍न छुटाएनन्। दुवै समूह सूर्यमाथि दाबी गरिरहेका छन्।

दुवै समूह चुनाव चिन्ह ‘सूर्य’को लागि किन मरिहत्ते गर्दै छन्? यसको मनोवैज्ञानिक कारण के हुन सक्छ?

“धेरै बुझ्‍ने मानिसलाई चिन्हले फरक पार्दैन। तर, सामान्य जनतालाई चुनाव चिन्हको ठूलो महत्त्व हुन्छ। चिन्ह जति चर्चित (पपुलर) हुँदै जान्छ त्यति नै पार्टी शक्तिशाली बन्छ। सूर्यको ख्यातिले समाज र जनतालाई प्रभाव पारेको छ। यो प्रभाव र शक्ति सूर्य चिन्ह जता हुन्छ त्यतै सर्छ। त्यसैले सूर्य चिन्हमा दाबी दुवै समूहबाट भएको हो,” ढकालले भने।

कसरी जन्मियो ‘सूर्य’

कुनै पनि चिजको शक्ति कति छ भन्‍ने कुरा त्यसको जन्म र त्यसको पछाडिको इतिहासले देखाउँछ। इतिहासको बलमा नै वर्तमानमा उभिएको हुन्छ।

२०४३ सालको कुरा। राष्ट्रिय पञ्‍चायतको चुनाव हुँदै थियो। उम्मेदवारहरूलाई चुनाव चिन्ह रोज्‍न भनिएको थियो। बामपन्थी नेता पद्मरत्न तुलाधर दोधारमा थिए- चुनावमा उम्मेदवारी दिने कि नदिने! काठमाडौंको नेवार समुदाय नै दोधारमा थियो।

“चुनावमा जाने वा नजाने भन्‍नेमा नेवार समुदायमा द्विविधामा थियो,” हाल नेकपाको तर्फबाट बागमती प्रदेशका सांसद केशव स्थापितले ३४ वर्षअघिको घटना स्मरण गरे, “अन्तत: पञ्‍चायतलाई उपयोग गर्ने भनेर पद्मरत्न तुलाधरलाई उठाउने निर्णय भयो।”

त्यतिबेला स्थापित तुलाधरका कार्यालय सचिव थिए। कार्यालय भोटाहिटीमा थियो। तुलाधरलाई निर्वाचनमा उठ्न पर्छ भनी ‘कन्भिन्स’ गर्नेमध्ये उनी एक थिए। तुलाधरलाई जनपक्षीय उम्मेदवार भनियो। तत्कालीन मालेले उनलाई सघायो।

“चुनाव त उठ्ने भनियो, तर चुनाव चिन्ह के लिने, निर्णय गर्न सकिएन,” स्थापितले भने।

५०-६० जना मिलेर चुनाव चिन्ह छान्‍न उनीहरू गए। बाजागाजासहित उनीहरू पुगेका थिए। “ल छान्‍नोस्,” उनीहरू सामु २५-३० वटा चिन्ह देखाइयो। कसैले ‘हवाईजहाज’ लिऊँ भने। प्रचारका क्रममा हवाईजहाज भित्तामा लेख्‍न गाह्रो हुने हुँदा नलिने निष्कर्षमा पुगे।

स्थापितको ध्यान सूर्यमा गयो। उनले भनिहाले, “सूर्य लिऔं।”

सूर्य बनाउन सजिलो थियो। जसले पनि बनाउन सक्ने। बनाउन धेरै ठाउँ नचाहिने। सधंै मानिसले देखिरहने। देख्दा राम्रो पनि। प्रचार गर्न सहज हुने। सूर्यमा सबैको सहमति बन्यो। र, तुलाधरको चुनाव चिन्ह ‘सूर्य’ भयो। सूर्यले तुलाधरलाई जितायो पनि। त्यसपछि त सूर्यको राप झन‍्झन् बढ्दै गयो।

“सूर्य चिन्हको जन्म असहज परिस्थितिबीच भएको थियो। पञ्‍चायतकालमा राष्ट्रिय पञ्‍चायतको निर्वाचनमा पहिलो पटक यो चिन्ह प्रयोगमा आयो। त्यसपछि यो कहिल्यै विवादमा आएन,” स्थापितले भने।

नेकपा एमालेले कसरी पायो ‘सूर्य’

पञ्‍चायतकालमा ‘सूर्य’ चिन्हले ख्याति कमाइसकेको थियो। २०४६ सालमा देशमा राजनीतिक परिवर्तन भयो। प्रजातन्त्र आयो। २०४८ सालमा आमनिर्वाचन गर्ने घोषणा भयो। निर्वाचनअघि २०४७ पुस २१ गते तत्कालीन माले र मार्क्सवादीबीच एकता भयो र बन्यो- नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेलिनवादी) अर्थात् नेकपा एमाले।

चुनाव आइसकेकोले नेकपा एमालेले चुनाव चिन्ह रोज्‍नुपर्ने भयो। धेरैले धेरैथरी सुझाव दिए। तर सबैको मन अडेको थियो- ‘सूर्य’मा।

पञ्‍चायतकालमा तुलाधरलाई सूर्य चुनाव चिन्ह प्रदान गर्न र जिताउन मालेले अहम् भूमिका खेलेको थियो। ढकालका अनुसार तुलाधरले सूर्य चिन्हबाट ६० हजारभन्दा बढी मत पाएका थिए। प्रजातन्त्र आएपछि तुलाधरले स्वतन्त्र रूपमा चुनावमा उठे, तर चुनाव चिन्ह भने सूर्य नै लिए र जिते पनि। जब उनले सूर्य चिन्ह छोडे, तुलाधरले चुनाव पनि हारे।

“त्यतिबेला नै सूर्य जनतामाझ लोकप्रिय बनिसकेको थियो। त्यसैले नेकपा एमालेले सूर्यलाई चुनाव चिन्ह बनाउने छलफल अघि बढायो। तत्कालीन महासचिव मदन भण्डारीले नै यसमा सक्रियता देखाउनुभयो। पोलिटब्युरोमा छलफल भयो, सूर्य लोकप्रिय छ भन्‍ने निष्कर्ष निस्कियो। त्यसपछि सूर्य चिन्ह लिने निर्णय भएको हो,” ढकालले पुराना दिन सम्झे।

सूर्य चिन्हमा अरू कसैले दाबी नगरेपछि निर्वाचन आयोगले २०४८ को निर्वाचनको लागि नेकपा एमालेलाई सूर्य चिन्ह दियो।

‘सूर्य’ चिन्ह लिएर चुनाव लड्न मानेन माओवादी

२०७४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्ने सर्तमा चुनावी तालमेल भयो।

फरक-फरक पार्टीको नाममा चुनावमा जाने भए पनि निर्वाचन चिन्ह सूर्य नै राख्‍ने सहमति बनेको थियो। केही दिनमै माओवादीले उक्त सहमति तोडेको आरोप प्रधानमन्त्री ओलीले लगाउँदै आएका छन्।

२०७५ जेठ ३ गते एमाले र माओवादीबीच पार्टी एकीकरण भयो। नाम राखियो- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)। चुनाव चिन्ह सूर्य नै कायम गरियो।

तथ्याङ्‍कले के भन्छ?

नेकपाका दुई समूहबीच ‘सूर्य’ चुनाव चिन्हलाई लिएर विवाद हुनु र बढ्नुमा यसको लोकप्रियता प्रमुख मानिएको छ। लोकप्रियता छ र नै यसमा शक्ति छ। र, शक्ति हातमा लिन को चाहँदैन? यो कति लोकप्रिय र शक्तिशाली छ भन्‍ने बुझ्‍न आउनोस् तथ्यांक हेरौं।

तथ्यांक भनेको २०४६ सालको राजनीतिक परिवर्तनपछि सम्पन्‍न भएका चुनावमा ‘सूर्य’ चिन्हमा परेको स्वस्तिक छाप अर्थात् मत वा भोट।

२०४६ पछि नेपालमा २०४८, २०४९, २०५१, २०५४, २०५६, २०६४, २०७० र २०७४ सालमा विभिन्‍न चुनाव भए। यी चुनावमा ‘सूर्य’ चिन्हले कूल सात करोड १२ लाख २२ हजार दुई सय ७२ मत प्राप्त गरेको छ।

निर्वाचन आयोगको तथ्यांकअनुसार २०४८ सालको प्रतिनिधिसभा चुनावमा ‘सूर्य’ चिन्हले २० लाख ४० हजार एक सय दुई मत प्राप्त गरेको थियो। २०४९ सालको स्थानीय निकायको चुनावमा देशभर ‘सूर्य’ चिन्हमा ५७ लाख २४ हजार आठ सय ९० मत परेको थियो।

२०५१ सालमा सम्पन्‍न प्रतिनिधिसभा चुनावमा सूर्य चिन्हले २३ लाख ५२ हजार छ सय एक मत प्राप्त गर्‍यो। यस्तै, २०५४ सालको स्थानीय निकायको चुनावमा सूर्य चिन्हमा खसेको सदर मतको संख्या एक करोड ५५ लाख ४२ हजार आठ सय ६६ रहेको थियो। २०५६ सालमा भएको प्रतिनिधिसभा चुनावमा सूर्यमा २७ लाख २८ हजार सात सय २५ मत खसेको थियो।

२०६४ सालमा सम्पन्‍न पहिलो संविधानसभा चुनावमा सूर्य चिन्हमा प्रत्यक्षतर्फ २२ लाख २९ हजार ६४ र समानुपातिकमा २१ लाख ८३ हजार तीन सय ७० मत खसेको थियो। २०७० सालमा भएको दोस्रो संविधानसभा चुनावमा प्रत्यक्षतर्फ २४ लाख ९२ हजार ९० र समानुपातिकतर्फ २२ लाख ३९ हजार छ सय नौ मत सूर्यले पाएको थियो। नयाँ संविधान जारी भएपछि २०७४ सालमा भएको प्रतिनिधिसभा चुनावमा प्रत्यक्षतर्फ ३० लाख ८२ हजार दुई सय ७७ र समानुपातिकतर्फ ३१ लाख ७३ हजार चार सय ९४ मत सूर्य चिन्हमा खसेको थियो। यी सबै तथ्यांकले स्पष्ट देखाउँछ- सूर्य चिन्ह जनतामा लोकप्रिय छ।

अहिलेको विवाद

तथ्यांक र नतिजा दुवैले ‘सूर्य’ चिन्हको लोकप्रियता देखाउँछ। अहिले नेकपाका दुवै पक्षले ‘सूर्य चिन्ह हाम्रो हो’ भनी दाबी गर्नुको कारण पनि यही हो। दुवै पक्ष जनतामा लोकप्रिय भइसकेको सूर्य चिन्ह पाए चुनाव प्रचार र भोट तान्‍न सहज हुने विश्वासमा छन्।

“सूर्य चिन्ह जनजिब्रोमा झुण्डिसकेको छ। सबैले चिनेका छन्। बनाउन सजिलो छ। प्रचार गर्न झन् सजिलो छ। यस्तो चिन्ह पाउने चाहना कसको नहोला र? अहिले दुवै पक्षले सूर्य चिन्हमा दाबी गर्नुको कारण पनि यही हो,” बागमती प्रदेशसभा सदस्य स्थापितले भने । यो समाचार देखापढीमा प्रकाशित छ ।