चोरी सिकार बढ्दै

७ माघ २०७७, बुधबार २०:४५ मा प्रकाशित (1 महिना अघि)
पुनहिल संवाददाता

अन्नपूर्ण, धौलागिरी हिमाल र ढोरपाटन शिकार आरक्ष वरपरका जंगलमा चोरी सिकार बढेको त्यस क्षेत्रका जनप्रतिनिधीले बताएका छन ।
अन्नपूर्ण प्रकृती संरक्षण क्षेत्र (एकयाप), धौलागिरी हिमाल र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा वन्यजन्तुको सिकार भएको हो । गाउँ–गाउँमा संरक्षित गरिएको सामुदायिक वनमा चोर सिकारीले दैनिक जसो काजिल, मृग लगाएतका वन्य जन्तु मार्ने गरेका छन ।
‘माथीमाथी डाँडाहरु सँधै बन्दुक पड्कन्छन । यहाँका गाउँमा घरेलु वन्दुक पनि बन्छ भन्छन । माथी लेकका जंगलमा शिकारीहरु निर्वाध सिकार गर्छन’ जिल्ला प्रशासन कार्यालयले सुरक्षा अधिकारीहरु समेत राखेर हालै आयोजना गरेको एक अन्र्तक्रिया कार्यक्रममा बोल्दै मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले भने, ‘श्रोतसाधनरहितको प्रहरी बजारमा मात्र सिमित छ । वनका हेरालु कागजमा सिमित छन ।’
मालिका अध्यक्ष श्रीप्रसादले मात्र होईन, धौलागिरी अध्यक्ष थमसरा पुन, रघुगंगा गापा अध्यक्ष भवबहादुर भण्डारी र अन्नपूर्ण गाउँपालिका अध्यक्ष डमबहादुर पुनले उक्त वैठकमा पनि आ–आफ्नो क्षेत्रमा चोरी सिकारी बढेपनि वन समेत सरोकारवाला निकाय सकृय नभएको रिपोटिङ गरेका थिए ।
डिभिजनल वन कार्यालय बेनीले पनि हाडछालाको ब्यापार भन्दा मासुकालागी वन्यजन्तुको सिकार हुने गरेको सुचनाहरु आएको जनाएको छ । फाट्टपुट्ट प्रहरीले वन्यजन्तुको सिकार गरेको भन्दै सिकारीलाई पक्राउ गर्ने गरेपनि प्रमाण भने फेला पार्न नसकेपछि छुट्ने गर्र्छन ।
राष्ट्रिय वनमा मात्र होईन, वस्ती छेउका सामुदायीक वनमा काजिल र मृग (राते)को बढी चोरी सिकार हुने गरेको बताईन्छ । गाउँ वरपरका सामुदायिक वनमा हुने कालिज लगाएतका पंक्षिको शिकार खेल्ने देखि उच्च हिमाली क्षेत्रका सरकारी वनमा संगठित समुहबाट समेत चोरी शिकार हुने गुनासो आएपनि वन कर्मचारी त्यहाँ पुग्न सकेका छैनन ।
‘सवै गाउँपालिकाका राष्ट्रिय तथा सामुदायीक वन क्षेत्रमा चोरी सिकार हुने गरेको सुचना दिन स्थानीयले डराएको र ढिला सुचना दिँदा अप्रेसन गर्न र प्रमाण फेला पार्न सकेका छैनौं’ निमित्त डिभिजनल वन अधिकृत सन्तोष खनालले भने, ‘खेतवारी योग्य जमिन बाँझिएपछि कालिज, रतुवा वस्ती नजिकै आउने भएकोले गुलेलीले हान्ने, पासो थापेर मार्ने गरेको सुनिन्छ । तर हाडछाला वा अन्य तस्करी/ब्यापारको लागी सिकार हुने गरेको त फेला परेको छैन त्यै सुराकी परिचालन गरीरहेका छौं ।’
त्यसैविच डिभिजनल वन कार्यालय बेनीमा हाल एउटा वन्यजन्तु कालिज सिकार गरेको मुद्दा अनुसन्धानक्रममा छ । प्रहरीले सुराकीको आधारमा गत असोजमा बेनी नगरपालिका, ४ थामडाँडामा कालिज मारी ल्याउँदै गरेको अवस्थामा चार जनालाई भरुवा वन्दुक सहित पक्राउ गरेकोमा वन कार्यालयले चोरी सिकारमा मुद्धा दायर गर्ने तयारी गर्दै छ । प्रहरीले छुट्टै हातहतियार खरखजना मुद्धा दायर गरिसकेको छ । गत वर्ष घोरलको मासु सहित पक्राउ परेका मंगला गाउँपालिका, ५ अर्मनका एक शिकारी विरुद्ध अदालतमा मुद्दा विचराधिन छ ।
त्यस्तै धौलागिरी फेदीको राष्ट्रिय जंगलमा वन्यजन्तुको सिकार गरेको आरोपमा भरुवा वन्दुक सहित रघुगंगा गाउँपालिका, ७ चिमखोलाका एक ब्यक्तिलाई पक्राउ गरेपनि अदालतबाट जमानतमा रिहा भएका थिए ।
‘वन र वन्यजन्तुको संरक्षणमा खेतीवालीको वास्ता गर्दैनौं तर रातभर जंगलमा वन्दुक पड्कन्छन । पल्लो गाउँका शिकारी आएर कालिज सखापै पारे’ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्र्तगत पर्ने अन्नपूर्ण गाउँपालिका, ६ चित्रेका युवा नविन पुनले भने, ‘एक्यापको संरक्षण गतिविधी पछिल्ला केही वर्षदेखी सुस्ताएपछि चोरी सिकार र सार्वजनिक जग्गा अतिक्रमण धेरै बढेको छ ।’
स्थानियका अनुसार शिकारीहरुले पासो, कुकुर लगाएतका रैथाने प्रविधि बाहेक भरुवा वन्दुक र लाईसेन्स प्राप्त हतियारहरु पनि चोरी सिकारमा प्रयोग भैरहेको गुनासा छन । असोज–जेठसम्मको समय वन्य जन्तुको शिकार खेल्ने सिजन हो । अक्सर पासो र डढेलो लगाएर शिकार गर्ने गर्छन् ।
‘सुचना आउँछ, प्रमाण हुँदैन, शंकाको भरमा घरमा भएको माशु उठाएर ल्यायो, प्रजाति पहिचान गर्न राष्ट्रिय विधी विज्ञान प्रयोगशालामा पठाएर डिएनए परिक्षण गराउनु पऱ्यो । प्रकृया नै लम्बेतान छ’ अधिकृत खनालले थपे, ‘हिजोआज फार्ममा पाल्ने भएकोले सिकारीलाई फार्मबाट ल्याएको भन्न सजिलो भएको छ । जनशक्ति र प्रविधीको पनि अभाव छ ।’
पछिल्ला वर्षमा वन कार्यालयमा दर्ता भएका मुद्धाले पनि चोरी सिकार बढेको देखिन्छ । प्रहरीले अघिल्लो बर्ष चितुवाको छाला, टाउको सहित माशु, घोरल, रतुवा समेतका वन्यजन्तुको छालासहित बराम भएका तीन वटा मुद्धा दर्ता भएका थिए ।
अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन शिकार क्षेत्र र विचमा पर्ने धौलागिरी हिमाल वरपरका जंगलमा बाघ, लोपुन्मुख कस्तुरी, भालु, झारल, नाउर मुनाल र डाँफेको चोरी सिकार हुने गरेको छ । जिल्लाको उपल्लो राष्ट्रिय तथा संरक्षित वनमा पित्तकोलागी भालु, विनाकोलागी कस्तुरी, छाला र दाहको लागी बाघको शिकार हुन्छ । रंगिन कल्की तथा प्वाख र माशुकोलागी डाँफे चराको बढी चोरी शिकार हुने गरेको छ । तल्लो सामुदायीक वनमा भने रतुवा र कालिजको बढी सिकार हुने गरेको छ ।
मुलुकको एक मात्र वैधानिक सिकार क्षेत्र ढोरपाटन हो । ढोरपाटन शिकार आरक्षको मुख्य आकर्षण नाउर अर्थात नीलभेडा (द्यगिभ कजभभउ) हो । यहाँ नाउर, झारलको सिकार गर्न विश्वभरका नामुद सिकारी आउँछन ।
धौलागिरी हिमश्रृखला भित्र रुकुम, म्याग्दी र बाग्लुङ तीन जिल्लामा १ हजार तीन सय २५ बर्ग किमी क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्ष विसं २०४० सालमा स्थापना भएको हो । ढोरपाटन क्षेत्रमा ३२ थरीका स्तनधारी वन्यजन्तु र एक सय ३० प्रजातिका चराचुरुङ्गी पाईन्छन । ८ सय ५२ नाउर, दुई सय झारल रहेको ढोरपाटन सिकार आरक्षले जनाएको छ । ढोरपाटनमा निलभेडा (नाउर) र झारल (हिमाली थार) बढी पाईन्छ । हिउँ चितुवा, चित्तल, थारल, घोरल, भालु, बँदेल, हिमाली कालो भालु, झुक्ने मृग, रातो पाण्डा लगाएतका लोपुन्मुख बन्यजन्तुको भने सिकार गर्न निषेध छ ।