FLASH NEWS
  • Loading...

निर्मल पुर्जासहित १० नेपाली पुगे केटू हिमालको चुचुरोमा

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २१८ पटक पढिएको
निर्मल पुर्जासहित १० नेपाली पुगे केटू हिमालको चुचुरोमा

विश्वकै दोस्रो अग्लो चुचुरो केटू हिमालमा निर्मल पूर्जासहित १० नेपाली आरोहीहरुको टोलीले शनिबार सफलता हात पारेको छ ।

चीन र पाकिस्तानको सीमामा पर्ने सबैभन्दा कठिन मानिने विश्वकै दोस्रो अग्लो हिमाल केटू (८,६११ मिटर) मा मानव पाइला पुगेको ६७ वर्षयता हिउँदयाममा सयौं आरोहण दलले प्रयास गर्दा पनि कोही सफल भएको थिएन । तर यसपटक पुर्जासहित १० नेपाली आरोहीले हिउँदयाममा अत्याधिक कठिन मानिने सगरमाथापछिको दोस्रो अग्लो चुचुरोमा पुगेर रेकर्ड बनाएका छन् ।

काठमाडौंस्थित सेभेन समिट ट्रेक्स प्रालिका अनुसार, शनिबार नेपाली समय अनुसार सवा ४ बजे नेपाली आरोहीहरुको टोली चुचुरोमा पुगेको हो । सफल आरोहण गर्नेमा पुर्जासहित मिङ्मा डेबिट शेर्पा, मिङ्मा तेन्जी शेर्पा, ग्याल्जेन शेर्पा, पेम चिरी शेर्पा, दावा तेम्बा शेर्पा, दावा तेन्जी शेर्पा, किलु पेम्बा शेर्पा र सोना शेर्पा छन् । केटू हिमाल आरोहणको नेतृत्व गरिरहेका आरोही निर्मल पूर्जाले भनेका छन्, ‘असम्भवलाई सम्भव बनाइयो,’ प्रख्यात आरोही पुर्जाले आफ्नो इन्स्टाग्राममा लेखेका छन्, ‘मानव जातिका लागि इतिहास बनाइयो । नेपालका लागि इतिहास बन्यो ।’

यो हिमाल आरोहणका लागि म्याग्दीका पुर्जासहित १० नेपाली करिब महिनाअघि काठमाडौंबाट पाकिस्तान पुगेका थिए । पुर्जाका अनुसार, नेपाली टोलीले चुचुरोमा १० मिनेट समय बिताएको थियो । गत आइतबार तीव्रगतिको हावाले ६६ सय मिटरमा राखिएको दोस्रो शिविर उडाइदिएपछि र्कितिमानी आरोही पूर्जासहित नेपाली आरोहण दल ४६ सय मिटरमा रहेको केटू हिमालको आधार शिविरमा फर्किएका थिए । यो दोस्रो प्रयासमा उनीहरु आरोहण गर्न सफल भएका हुन् । यसअघि वसन्तकालीन याममा यो हिमाल आरोहण गरिसकेका पुर्जाले मंगलबार मौसममा सुधार आएमा अलि ठूलो भारीका साथ ७ हजार ९ सय ५० मिटर उचाईमा रहेको चौथो शिविरसम्म बाटो बनाउँदै जाने योजना रहेको उल्लेख गरेका थिए । बिहीबारदेखि प्रयास गरिरहेका उनीहरु शनिबार मात्रै चुचुरोमा पुग्न सफल भएका हुन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित दानामा जन्मेका ३७ वर्षीय पुर्जाले गत वर्ष ७ महिनाको अवधिमा सगरमाथासहित विश्वका १४ वटा अग्ला चुचुरो आरोहण गरेर विश्व र्कितिमानी कायम गरेका थिए । उनले अघिल्लो वैशाखमा अन्नपूर्ण गाउँपालिकमै पर्ने नारच्याङमा पर्ने अन्नपूर्ण हिमाल आरोहण गर्दै आफ्नो प्रोजेक्ट पोसिबल अभियान थालेका थिए ।