हेमोडायलाईसिस र रक्तश्राव भएका सुत्केरीलाई आवश्यक रगतको खर्च गाउँपालिकाले ब्यवस्थापन गर्ने

२८ पुष २०७७, मंगलवार १८:५७ मा प्रकाशित (1 हप्ता अघि)
पुनहिल संवाददाता

रघुगंगा गाउँपालिकाले बेनी अस्पतालमा हेमो डायलासिस गरिरहेका र सुत्केरी गराउँदा वा अन्य विरामीलाई आवश्यक पर्ने रगतको खर्च ब्यहोर्ने भएको छ ।
बेनी अस्पतालमा उपचार गर्न आएका मृगौला पीडित समेत रक्तश्राव भएका गर्भवती/सुत्केरी र अन्य रगत दिनु पर्ने घाईतेले रगत किन्न लाग्ने खर्च गाउँपालिकाले ब्यहोर्ने भएको हो । गत मंसिर महिनामा मात्र रघुगंगा गाउँपालिका बेनी अस्पतालमा हेमो डायलासिस गरिरहेका ७ जना मृगौला पीडितसमेत कम्तीमा ५२ जनालाई रगत दिनु परेको थियो ।
रक्तदाताले नि:शुल्क दिएको रगत सोझै अर्को विरामीलाई दिन नमिल्ने भएकोले एचआईभी, सुगर, हेपाटाईटिस समेतका विभिन्न रोग भए/नभएको परिक्षण गर्न प्रति पोका रगतमा एक हजार खर्च लाग्ने गरेको छ ।
‘रघुगंगा गाउँपालिकाबाट उपचारमा गएका धेरै विरामीलाई रगत चढाउनु परेको कुरा आएपछि आगामी असारसम्मका लागी एक लाख रुपैयाँको कोष बनाई रगत किन्न आवश्यक खर्च ब्यर्होर्ने निर्णय गरेका हौं’ रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले भने, ‘अति विकट भुगोलमा बस्ती भएकोले धेरै रुखभिरबाट लडेर घाईते हुने, समयै उपचार नहुँदा मृगौला फेल हुने र वस्ती नजिक सहज सुत्केरी गराउने अवस्था नहुँदा र गर्भवती अवस्थामा धेरै भारी काम गर्दा यहाँका गर्भवती/सुत्केरीमा रक्तश्रावको समस्या बढी भएको अस्पतालले हामीलाई सचेत गराएको छ ।’
बेनी अस्पताल ब्यवस्थापन समितिका अनुसार देशका विभिन्न अस्पतालमा ६० जना विरामीले मिर्गौलाको नियमित डायलाइसिस गरिरहेका छन । बेनी अस्पतालमै मिगौलाको डायलाइसिस सेवा सुरु भएपछि म्याग्दीका बाहेक पर्वत र मुस्ताङका विरामीलाई धेरै आर्थिक राहत पुग्ने भएको छ ।
बेनी अस्पताललाई गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले ४ वटा र अष्ट्रेलियामा बस्ने जिल्लाबासीको पहलमा २ वटा समेत ६ वटा हेमोडायलाइसिस मेसिनबाट सेवा सुरु गरिएको हो । ६ वटामध्य २ वटालाई वैकल्पिक हुन ।