संसारकै ठूलो लालीगुराँश जंगलमा लागेको डढेलो ५ दिनदेखी नियन्त्रण बाहिर

१६ पुष २०७७, बिहीबार १९:४९ मा प्रकाशित (1 महिना अघि)
पुनहिल संवाददाता

तस्वीर सौजन्य : विरेन पुन, घोरेपानी ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्र्तगत घान्द्रुक देउराली क्षेत्रको लालीगुराँशको जंगलमा भिषण डढेलो लागेको छ । एक्यापको अभिलेख अनुसार घान्द्रुक–घोरेपानीसम्म फैलिएको जंगल क्षेत्र संसारकै सर्वाधिक ठूलो लालीगुराँशको जंगल हो ।
डढेलोले यस क्षेत्रमा पाईने संकटासन्न प्रजातिका हिमाली कालो भालु र चरी वाघको वासस्थान थप संकटमा परेको छ । यी वाहेक चितुवा, मृग समेतका वन्यजन्तुको वासस्थान संकटमा परेको छ ।
कास्की र म्याग्दीका अन्नपूर्ण गाउँपालिकाको सीमावर्ती क्षेत्रको घना लालीगुराँश, सल्लो र निगालाको झाडी रहेको जंगलमा पुस १२ गतेदेखी डढेलो लागी रहेको पुनहिल/घोरेपानीका पर्यटन ब्यवसायीले जनाएका छन ।
‘घना लालीगुराँस र निकालाको झाडी भएको संरक्षित वनमा भिषण डढेलो लागेपछि १३ र १४ गते घोरेपानी र चित्रेका करिव ५० जना युवाले श्रमदानगरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका तर्फको जंगलमा अग्नी रेखा बनाएका छौं’ घोरेपानीका पर्यटन ब्यवसायी शुशिल गर्वुजाले भने, ‘मान्छे छिर्नै नसकिने घना झाडीमा अग्नी रेखा बनाउन सजिलो छैन, त्यै प्रयास गऱ्यौं । संरक्षित हाव्रे र डाँफे चरा पाईने २७ सय देखी ३१ मिटर क्षेत्रमा फैलिएको डढेलो आकाशबाट पानी नपरी रोकिने छाँट छैन ।’
लामो सयमदेखीको खडेरीले गर्दा एक्याप क्षेत्रको संरक्षित वनमा मंसिर अन्तीम सातादेखी लगातार डढेलो लाग्न थालेको छ । केही दिन अघि निलगिरी साउथ हिमालको पूर्वी फेदीमा रहेको संरक्षित राष्ट्रिय वनमा एक सातावढी भिषण डढेलो लागेको थियो । एक्यापको ब्यवस्थापन कमजोर र खुकुलो बन्दै गएसँगै एक्याप क्षेत्रमा चोरी शिकार बढ्नुको साथै वन डढेलो समेतका वन एवं वन्यजन्तु संरक्षणका काम प्रभावहीन वन्न थालेका छन ।
‘डढेलो कास्कीको घान्द्रुक क्षेत्रको जंगलबाट फैलिएको हो । डढेलो नियन्त्रणमा लिन तीन दिनदेखी एक्याप, प्रहरी, घान्द्रुक संरक्षण क्षेत्र ब्यवसस्थापन समिति, पर्यटन ब्यवस्थापन उपसमिति र स्थानीयले प्रयास गरिरहेका भएपनि नियन्त्रण्मा आएको छैन’ एक्याप घान्द्रुक कार्यालय प्रमुख शेलेन्द्र यादवले भने, ‘ठाउँ ठाउँमा आगो लागेकोले चोर शिकारीले लगाएको हुन सक्छ । शुक्रवार थप जनशक्ति डढेलो नियन्त्रणमा लिन परिचालन गर्ने हुने छन ।’
प्रमख यादवका अनुसारस्थानीयका अनुसार अन्नपूर्ण संरक्षण समितिका अनुसार पछिल्लो एक महिनमा एक्याप क्षेत्रको घान्द्रुकदेखी देउराली, बयली, खोप्राहुँदै निलगिरी नर्थ वेस क्याम्प क्षेत्रको उच्च हिमाली चरन क्षेत्रमा दैनिक जसो डढेलो लाग्ने गरेको छ ।
‘निलगिरी नर्थको वेस क्याम्प क्षेत्रमा डढेलो लगाउने अपरिचित ब्यक्तिलाई स्थानीयले देखेका भएपनि शिकारीको रुपमा पहिचान गर्न नसक्दा उम्केका छन । एक्याप र प्रहरीले खोजी गरिरहेका छौं’ प्रमुख यादलले भने, ‘चरन क्षेत्रमा भने भेडा गोठालाहरुले गोठ वेंशी झारेपछि आगो लगाई छोड्छन, पछि चैतमा गोठ फर्कदा हरियो घाँस पलाउँछ भनेर । वन क्षेत्रमा चोर शिकारीले हैरान बनाउँछन ।’
हिमाल मुनीका राष्ट्रिय वन तथा चरन क्षेत्रमा चोर शिकारीले चरन क्षेत्रका ठूला बुक्यानहरुमा आगो लगाउँदा वन्यजन्तु तथा चराचुरुङ्गीको वासस्थान समेत संकटमा परेका हुन वन डढेलो लाग्ने विभिन्न कारण मध्य मौषम प्रमुख कारण हो । लामो खडेरीले वायुमण्डलको आद्रता सुस्क हुँदा सानो आगोको झिल्कोले पनि डढेलो वा आगोलागी हुन्छ । जति सुख्खा भयो त्यति नै दोब्बर ढंगमा डढेलो फैलन्छ ।
वन कार्यालयको अभिलेख अनुसार जिल्लाको २ लाख २९ हजार ७ सय ६ हेक्टर क्षेत्रफल मध्य ३६.७६ प्रतिशत वन, १.८५ झाडी, २१.२७ प्रतिशत क्षेत्र चरन क्षेत्रले ओगटेको छ । ढोरपाटन सिकार आरक्षले १ हजार २ सय ६० हेक्टर, एक्यापले ३ हजार ७ सय ५३ हेक्टर वन क्षेत्र ओगटेको छ । वन कार्यालयले ब्यवस्थापन गर्ने ७९ हजार ४ सय ३९ हेक्टर वनमध्य २४ हजार २ सय २ हेक्टर वन ३ सय १० वटा सामुदायीक वन उपभोक्ता समुह मार्फत ब्यवस्थापन हुँदै आएको छ । करिव ५ हेक्टर कवुलियत, धार्मिक र निजी वन छ । बाँकी सवै राष्ट्रिय वन हो ।