तातोपानीका पोखरीमा कोरोना प्रभाव

१४ पुष २०७७, मंगलवार ०८:३१ मा प्रकाशित (4 हप्ता अघि)
पुनहिल संवाददाता

म्याग्दी र कालीगडकी नदी किनारामा भत्भती पोल्ने तातोपानीका मुहान र प्राकृतिक तातोपानीका पोखरीहरु यो वर्ष सुनसान छन ।
कोरोना भाईरस संक्रमितले प्रशस्त तातोपानी पिउन र शरिरलाई न्यानो राख्न डाक्टरले सुझाव दिने गरेका छन । तर यहाँका तातोपानीका प्राकृतिक मुहान भने कोरोना भाईरसबाट प्रभावित भएका छन ।
कोरोना संक्रमण फैलने त्रासले चैत १२ गतेदेखी बन्द गरिएका यहाँका तातोपानीका पोखरीहरु अझै खुलेका छैनन । तातोपानीका पोखरी नखुल्दा सयौं विरामीहरु प्रकृतिक उपचारबाट वन्चित भएका छन ।
‘लक डाउन भएसँगै गत चैत १२ गतेदेखी कोरोना भाईरस संक्रमण फैलने भन्दै तातोपानीका पोखरीहरुमा विरामी डुब्न रोक लगाईएको हो । सवै तिर लकडाउन खुलेपनि तातोपानीका पोखरीहरु अझै खुल्ला भएका छैनन’ बेनी नगरपालका, ४ सिङ्गातातोपानीकी मेखी खत्रीले भनिन, ‘तातोपानीले कोरोना भाईरस मार्छ भन्छन, यहाँ त उल्टो तातोपानी नै बन्द गरिदिएको छ ।’
नेपालमा भेटिएका तातोपानीमध्य सवैभन्दा बढी म्याग्दीमा ९ स्थानमा तातोपानीका मुहान छन । धौलागिरीको मुदीबगरा, गुर्जा खोला, बेनी नगरपालिकाको सिङ्गा तातोपानी, रघुगंगा गाउपालिका, ६ दर्मिजा र अन्नपूर्णको महभीर, रातोपानी, भुरुङ र नारच्याङका तातोपानीका मुहानमा पोखरी बनाई विरामी डुब्ने गरेका छन । म्याग्दीमा पाईएका तातोपानी मध्य सवैभन्दाबढी अन्नपूर्ण गापा,६ रातोपानी स्थित तातोपानीको तापक्रम ७३ डिग्री सेल्सियस, भुरुङ्ग तोापानी ७१ डिग्री, सिङ्गा तातोपानीको तापक्रम ५५ डिग्री रहेको छ ।
गलेको थाकेको शरिरलाई आराम दिन, जोर्नी मर्केको, चोट लागेका विरामीले श्वास्थ्य आरोग्यताकोलागी तातोपानी थेरापी वैकल्पिक उपचार पद्धति हो । पृथ्वीको धेरै तल पुगेको पहाडका ढुङ्गगा भित्री म्याग्माले तातेको ढुङ्गामा पानीको मुल सम्पर्कमा पुग्दा तलको वाफाले धकेलिएर बाहिर तातोपानीको मुहान निक्लने मान्यता छ ।
प्राकृतिक उपचारकालागी प्रख्यात बनेका तातोपानीका कुण्ड (पोखरीहरु) कोरोना कहरले बन्द भएपनि पुसको कठ्याङग्री चिसोमा गाउँलेहरु नुहाउन तल तातोपानीका मुलहरुमा धुईरिएका छन । चिसो सिरेटोमा उभिएर शरिरका न्यानो कपडा फुकाल्दा, फुत्त आवाज निक्लन्छ, आच्छ्यु, जाडो ।
‘पोखरीमा डुबुल्कि लगाउन रोक लगाईकोले तातोपानीको मुलबाट बाल्टीमा पानी थापेर नुहउने गरिएको छ । जाडोमा घर नुहाउन सकिन्न, फुर्सद निकालेर तातोपानी पुग्ने गरिन्छ’ अन्नपूर्ण गाउँपालिका, ६ पोखरेका खड्ग गिरीले भने, ‘जोडो सिजनमा प्राकृतिक उपचारकालागी पोखरीमा डुब्न मात्र होईन, चिसो पानीले नुहाउन नसक्ने सवै तातोपानीमा आईरिन्छन । उपचारपनि हुने, तातोपानीले नुहाउन पनि पाईने ।’
तातोपानीका मुलहरुमा परम्परादेखी स्थानीयले जाडो भगाउन तातोपानीमा डुबुल्की मारेर (हट वाटर स्पा गरी) प्राकृतिक नुहाउँदै आएका छन । घर छेउको धाराको चिसो पानीमा शरिर पखाल्न आँट नहुनेहरु टाढाटाढाबाट पनि गम्छा, सावुन, सेम्फो र फेर्ने कपडा झोलामा बोकेर दिनभरको निमेक खेर फालेरै तातोपानी नुहाउन आउने धेरै हुन्छन । तातोपानी डब्दै जाँदा स्थानीयको अनुभवले अहिले यहाँका तातोपानीका पोखरीहरु प्राकृतिक अस्पताल कहलिएका छन ।
केही तातोपानीका मुलहरुको ब्यवसायीकरण गरिएपनि कालीगण्डकी नदी किनाराको रातोपानी, नारच्याङ, महभीर, दग्नाम र मुदी समेतका तातोपानीका मुलमा अझै परम्परागत शैली अस्थाई पोखरी बनाईन नुहाउने र डुबुल्किी मार्ने प्रचलन जीवित छ ।
संसारको सर्वाधिक गहिरो अन्धगल्छीमा अवस्थित तातोपानी प्राचिन काल भारत–भोट (तिब्बत) नुन ब्यापार गर्ने थलो थियो । भोटको नुन लिएर बेच्न झरेका थकाली र नुन किन्न आएका ढाँक्रेहरुले कालीगण्डकी नदी किनारामा तातोपानी देखेपछि अस्थाई पोखरी बनाई ‘जाडो फाल्न’ नुहाउन थलेका हुन ।
७० बर्ष अघिसम्म सिङ्गाको स्वता नजिक म्याग्दी खोला बगरमा तातोपानीको मुल निक्लन्थ्यो, बग्थ्यो । हिउँदमा गोठालाहरु खोला किनाराको तातोपानीमा अस्थाई पोखरी बनाई नुहाउने चलन थियो । हिउँदको जाडो छल्न तातोपानीको पोखरीमा डुब्दा हाडजोर्नी र पेटका विरामीलाई फाईदा भएपछि वरपरका वस्तीबाट मान्छेहरु डुब्न आउन थालेका हुन । विस्तारै वचन विज्ञापनले मान्छेहरु तातोपानी डुब्न आउने क्रम बढेको हो ।
‘हाडजोर्नी, पेटढुस्स हुने रोगकालागी तातोपानी बढी उपयोगी छ’ म्याग्दी अस्पतालका डाक्टर विराज शर्माले भने, ‘एलोपेथिक उपचारमा पनि कतिपय रोगको उपचार गर्दा तातोपानीले सेक्न लगाउँछौं । र यो उपचार पद्धति वैज्ञानिक पनि छ ।’