- Loading...
संसद विघटनविरुद्ध कांग्रेस : अलमल र विवाद कायमै
- पुनहिल डट कम
- ४ साल अघि
- ३४३ पटक पढिएको

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गर्दै मध्यावधि चुनाव घोषणा गरेपछि कांग्रेसले यो कदमलाई असंवैधानिक त भनेको छ, तर अहिलेसम्म संसद पुन:स्थापनाबारे स्पष्ट धारणा बनाइसकेको छैन।
नेपाली कांग्रेसले संसद विघटनलाई असंवैधानिक कदम भन्दै पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्दैछ। संसद भंग भएलगत्तै प्रधानमन्त्रीको कदम असंवैधानिक भनेको कांग्रेस अहिले आन्दोलनमा अलमलकै बीच जान लागेको हो।
गत मंगलबारदेखि शुक्रबारसम्म केन्द्रीय समिति बैठक डाकेर संसद विघटनबारे छलफल चलाएका सभापति शेरबहादुर देउवा भने निर्वाचनमा जानुपर्ने र संवैधानिक इजलासको फैसला कुर्नुपर्ने पक्षमा छन्। तर, वरिष्ठ नेता रामचन्द्र पौडेलले चाहिँ प्रधानमन्त्री ओलीले निर्वाचन नगराउने आशंका व्यक्त गर्दै संसद पुनःस्थापना गर्न आन्दोलनमा उत्रिनुपर्ने बताउँदै आएका छन्।
संसद विघटनसँगै आगामी बैशाख १७ र २७ गतेका दिन मध्यावधि निर्वाचन मिति तोकिएको छ। पार्टी केन्द्रीय समितिको बैठकमा प्रधानमन्त्री ओलीविरुद्ध आन्दोलनमा जाने र नजाने भन्ने विषयमा सभापति देउवा तथा वरिष्ठ नेता पौडेलबीच चर्काचर्की नै पर्यो। संसद विघटन विरुद्ध बल्लतल्ल मुख खोलेका देउवाले पुष १३ गते निर्वाचन क्षेत्रमा हुने प्रदर्शनमा सहभागी हुन सबैलाई आह्वान भने गरेका छन्।
यद्यपि; देउवाले संसद पुनःस्थापनाको कुरा नउठाउने बताइएको छ। ‘सभापतिज्युले केन्द्रीय समिति बैठकमै निर्वाचनमा जाने र संसद पुनःस्थापनाका पक्षमा बोल्न रोक्नुभयो,’ वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका एक केन्द्रीय सदस्यले भने, ‘अहिले विज्ञप्ति जारी गरेर संसद विघटन असंवैधानिक कदम हो भनेपनि उहाँले संसद पुनःस्थापनाको पक्षमा सडकमा नबोल्ने बुझिएको छ।’
पार्टीभित्र संसद विघटन पक्षमा सभापति देउवा रहेको आरोप खेपेपछि शनिबार देउवाले विज्ञप्ति जारी गरेका थिए। सो विज्ञप्तिमा उनले लेखेका थिए, ‘विघटनकै दिन मैले पार्टीका वर्तमान र पूर्व पदाधिकारीहरूको बैठक आयोजना गरेर बैठकमार्फत संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेका छौं।’ उनले केन्द्रीय कार्यसमितिको निर्णयपश्चात् सम्पूर्ण ध्यान प्रदर्शनमा केन्द्रीत रहेको बताए।
वरिष्ठ नेता पौडेल पक्षका नेताहरू संसद विघटन कदम असंवैधानिक ठहर गर्दै तत्काल आन्दोलनमा उत्रिने, प्रतिनिधिसभा पुनःस्थापना गर्ने पक्षमा लाग्नुपर्ने बताउँदै आएका छन्। संसद पुनःस्थापना गराएर आफू राष्ट्रपति बन्ने सपना देखेको वरिष्ठ नेता पौडेललाई आरोप छ। ‘संसद पुनःस्थापना गरेर राष्ट्रपति बन्ने सपना रामचन्द्र दाइले देख्नु भएको छ।लोकतन्त्रवादी भन्ने निर्वाचनसँग भाग्ने?’ देउवा पक्षका एक केन्द्रीय सदस्यले भने, ‘अदालतमा प्रवेश गरेको विषयको फैसला कुर्न त सक्नुपर्यो नि।’ तर, वरिष्ठ नेता पौडेलले तनहुँमा प्रधानमन्त्री केपी ओलीसँगै चुनावमा भिड्न तयार रहेको बताइसकेका छन्।
सभापति देउवाले प्रदर्शनमा उत्रिन सबैलाई आह्वान गरेलगत्तै वरिष्ठ नेता पौडेलले पनि विज्ञप्ती जारी गरी प्रधानमन्त्री ओलीले संविधान र लोकतन्त्रप्रति विश्वास नगरेकोले आन्दोलनमा उत्रिन सबैलाई आह्वान गरे। पौडेलले ओलीले निर्वाचन गराउनेमा विश्वास नरहेको पनि बताए।
‘संविधानले बहुमतको प्रधानमन्त्रीलाई दिँदै नदिएको अधिकार प्रयोग गरेर लोकतन्त्रको आत्मामा प्रहार गर्नुभयो। कामचलाउ मन्त्रिमण्डल हेरफेर गरेर संवैधानिक मर्यादाको उल्लघंन गर्नुभयो,’ उनले लेखेका छन्, ‘अब हामीलाई उहाँले देशमा सही सलामत चुनाव गराउनुहुन्छ भन्ने पनि विश्वास छैन। बरु, न्यायमूर्तिहरूबाट असंवैधानिक कदमलाई सच्चाइ लोकतन्त्रको जगेर्ना हुनेछ भन्ने विश्वास गर्दछु।’
source- thahakhabar.com

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
