FLASH NEWS
  • Loading...

जसको सफलता वर्षभरी चर्चामा रह्यो

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १३१ पटक पढिएको
जसको सफलता वर्षभरी चर्चामा रह्यो

सफलता र चर्चालाई आधार मान्दै नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पाेर्टस अवार्ड अन्तर्गत ‘पिपल्स च्वाईस विधाकाे उत्कृष्ट ५ खेलाडीको मनोनयन सार्वजनीक गरेको छ ।

अघिल्लो वर्ष प्राप्त सफलता र चर्चाका हिसाबले आयोजक संस्थाले ५ खेलाडीको मनोनयन शुक्रबार सार्वजनीक गरेको हो । गत वर्ष साग खेलकुदको वर्ष रह्यो । अझ नेपालले साग ईतिहासमा ऐतिहासिक सफलता प्राप्त गरेको वर्ष पनि । नेपालले ५१ वटा त स्वर्णनै जित्यो ।

सबै सफलताको चर्चा हुन्छ भन्ने नि हुदैन । तर सफलताले कमाएको चर्चाको मापन गर्ने आधार के ? यसको परिक्षण आम रुपमा गरिन पर्छ ।त्यसैले पनि आयोजक संस्था खेलकुद पत्रकार मञ्चले आम सर्वसाधारणको मत लिने प्रक्रियालाई अझ फराकिलो बनाएको छ ।

अघिल्ला संस्करणमा मोबाईल भोटिङ्गबाट मत संकलन गर्दै आएको मञ्चले यसवर्षबाट विश्वभरबाट मत दिन मिल्ने व्यवस्था गरेको छ । खेलकुदलाई माया गर्ने ठुलो संख्या विदेशमा भएकाले समेत यसपटक विश्वका जुनसुकै स्थानबाट आफुलाई मन पर्ने खेलाडीलाई भोट गर्न मिल्नेछ ।

त्यसो भए पिपल्स च्वाईस अवार्डको मनोनयनमा परेका खेलाडीले गत वर्ष के त्यस्तो सफलता हात गरे त ? जसको चर्चा यहाँ गरिएको छ ।

अरुणा शाही :

अरुणा शाहीका लागि गत वर्ष खेल जिवनकै यादगार समय रह्यो । उनले राष्ट्रिय महिला टिमको कप्तानी गर्ने मौका पाईन् । उनकै नेतृत्वमा नेपालले एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा स्वर्णनै जित्यो ।

उनकै नेतृत्वमा महिला टिमले साग खेलकुदमा पहिलो पटक फाईनल यात्रा तय गर्यो । फाईनलमा चिरप्रतिद्धन्दी भारतलाई कडा टक्कर दियो । सुरुमै दुई सेटको अग्रता समेत बनायो । त्यसलाई जोगाउन भने सकेन । स्वर्ण भारतलाई सुम्पियो । तर दक्षिण एसियाली भलिबलमा आफु नयाँ शक्तिको रुपमा उदाउने संकेत भने गर्यो । त्यसको नेतृत्व कप्तानको हिसाबमा अरुणाले गरेकी थिईन् ।

गौरिका सिंह :

१३ औं सागकी सर्वाधिक सफल र चर्चित खेलाडी हुन्, गौरिका । सागको ईतिहासमा नेपालको तर्फबाट उनले चार स्वर्ण सहित थप दुई रजत र दुई काँस्य जितिन् । आठौं राष्ट्रिय खेलकुदमा आफु सहभागी सबै स्पर्धामा १२ स्वर्ण जितेर वर्षको उत्कृष्ट सुरुवात गरेकी गौरिकाले साग स्पर्धामा समेत नेपाललाई निराश बनाईनन् ।

आठौंमा राष्ट्रिय खेलकुदमा उनले करिश्मा कार्कीले बनाएको एकै प्रतियोगितामा धेरै स्वर्ण जित्ने कीर्तिमान बराबरी गरेकी थिईन् । दक्षिण कोरियामा आयोजित १८ औं फिना विश्व च्याम्पियनसिपमा १ सय र २ सय मिटर फ्रिस्टाईलमा उनले प्रतिस्पर्धा गरेकी थिईन् ।

मण्डेकाजी श्रेष्ठ :

१३ औं साग खेलकुदमा करातेका मण्डेकाजीले दोहोरो स्वर्णको कठिन उपलब्धि हात पारे । सागमा नेपाललाई पहिलो स्वर्ण जिताएका मण्डेले टिम कातामा समेत स्वर्ण जिताउन सफल बने ।

वर्षको सुरुवातमा आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक र टिममा रजत पदक जितेका मण्डेले बंगलादेशमा भएको साफ च्यामिपयनसिपमा टिम कातामा स्वर्ण र एकल कातामा कास्य जितेका थिए । नवौं थाइल्याण्ड ओपन च्याम्पियनसिपमा उनी सिनियर कातामा रजत जित्दै उत्कृष्ट खेलाडी घोषित बनेका थिए ।

सदिन श्रेष्ठ :

स्वर्णमय साग खेलकुदमा धेरै अन्य पदकहरु छायामा परे । त्यसमा बास्केटबलको महिला टिमले पाएको रजत पदक पनि एक हो । त्यही पदक दिलाउने राष्ट्रिय महिला वास्केटबल टिमकी कप्तान हुन्, सदिना ।

महिला बास्केटबललाई नेपालमा लोकप्रिय बनाउन अहम भुमिका खेलेकी सदिनाले आठौं राष्ट्रिय खेलकुदमा प्रदेश ३ बाट रजत पदक प्राप्त गरेकी थिईन् । एनबीएल बास्केटबल लिगमा समृद्धि गोरिल्लाजबाट रजत पदक जितेकी सदिनाको खेलसंगै सुन्दरताको चर्चा घरेलु खेलकुदमा हुने गर्छ ।

सावित्रा भण्डारी :

एउटा स्पष्ट तथ्य के हो भने, सावित्रा नेपाल मात्र हैन्, दक्षिण एसियाकै नम्बर एक महिला फुटबलर हुन् । त्यो भन्दा माथि उनको परिक्षा हुन पाएको छैन । तर उनी जहाँ सम्म पुगेकी छिन्, उनी भन्दा अघि कोही छैन ।

घरेलु फुटबलमात्र हैन, भारतीय महिला लिगमा समेत तहल्ला मच्चाउन सफल सावित्राले सन् २०१९–२० को सिजन गोकुलम केरलालाई लिग च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका खेलेकी थिईन् ।

१३ औं सागमा नेपाललाई रजत पदक दिलाएकी सावित्राले आठौं राष्ट्रिय खेलकुदमा विभागीय टिम एपीएफलाई स्वर्ण पदक जिताएकी थिईन् । घरेलु फुटबलमा एपीएफलाई नम्बर एक टोली बनाउन सफल सावित्राले नेपाललाई नादेझ्दा कपमा समेत उपविजेता बनाएकी थिईन् । उनले गत वर्षमात्र नेपालका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान कायम गरेकी छिन् । उनलाई दक्षिण एसियाली महिला फुटबलको एक नम्बर फुटबलरको रुपमा सबैले स्विकार गर्छन् ।