आच्छ्यु बढ्यो चिसो

२ पुष २०७७, बिहीबार २०:५१ मा प्रकाशित (2 महिना अघि)
पुनहिल संवाददाता

चिसो दिनदिनै बढ्दै गएको छ । सदरमुकाम बेनीमा वदर स्टेसन नभएकोले तापक्रम यति नै भन्ने आधिकारिक उपलब्ध तथ्याङ्क छैन । मोवाईल फोनमा उपलब्ध हुने विभिन्न वदर एप्सहरुले देखाए अनुसार विहिवार विहान बेनीको न्युनतम तापक्रम ५ डिग्री र मध्यान्न १ बजेको अधिकतम तापक्रम २२ डिग्री पुगेको थियो ।
तर जिल्लाका माथिल्ला वस्तीहरु नागी, पुनहिल, चित्रे, गुर्जा लगाएत अधिकांश क्षेत्रमा दिउँसोको तापक्रम नै ५ डिग्रीमा ओर्लेको छ । राती/विहान तापक्रम अझै घटेर माईनस ३ डिग्रीसम्म झर्छ ।
घुम्म बादल लाग्दा भन्दा छ्याङ्ग आकाश खुल्दा तुसारो पर्ने भएकोले झन बढी चिसो हुन्छ । आकास खुलेको विहान सेताम्मे हिउँ जस्तै तुसारोले छोपेको हुन्छ । खेतवारी र बाटोमा तुसारो जमेर सिसामा हिंडेझै क्र्याक क्र्याक गछर्् । हरेक दिन थपिने बाक्लो तुसोरो जमेर बनेको सिसा जस्तो बाक्लो आईसले छोपिएको बाटो चिप्लिएर हिँड्न कठिन हुन्छ । स–सानो पानीको धारा, कुवाको पानी जमेर आईस नै हुन्छ । चर्पीमा समेत तातोपानी खन्याएर शौच बस्नु पर्ने हुन्छ ।
‘दिउँसोको तापक्रम पनि चिसो भएको छ । पारिलो घाममा पनि चिसो सिरेटोले बाहिर टिक्नै गाहे हुन्छ’ पर्यटकीय वस्ती घोरेपानीका शुशिल पुनले भने, ‘अझ यो बर्ष पानी र हिउँ परेकै छैन ।’
चिसो बढेसँगै लेकाली वस्तीको जनजीवन पुरै कष्टकर भएको छ । विहान–साँझ घर बाहिर निक्लन मुस्किल हुने गरेको छ । हिजो आज सवैका घरमा पाईपबाट खानेपानी पुर्‍याईएकोले धारामा पानी थाप्न र हातमुख धुन समेत कठिन हुने गरेको छ ।
लेकाली तथा पहाडका घरहरु काठ वा ढुङ्गामाटोले बनाईने हुँदा सहरका आरसिसि घर भन्दा न्यानो हुन्छ । अधिक चिसो हुने भएकोले लेकाली वस्तीमा विहानै देखी घरेलु मदिरा सेवन गर्ने गरेका हुन्छन । चिसोबाट जोगिन ठूला दाउरा राखेर आगो ताप्ने गरिन्छ । आगो र तातोपानी विना यहाँको दैनिक जीवन संञ्चालन प्राय: असम्भव छ ।
माथिल्लो क्षेत्रका विद्यालयहरुमा चिसो बढी हुँदा कक्षा कोठामा नै आगो फुकेर अध्यापन गराउने गरिन्छ । कर्मचारीहरु कार्यालयमा आगो ताप्दै सेवा दिने गर्छन । अझ हिमालपारीको जिल्ला मुस्ताङ्गका अधिकांश बासिन्दा हिउँदका चार महिना जाडो छल्न बेंशी झर्ने गर्छन । सदरमुकाम समेत क्षेत्रका सरकारी कार्यालयमा भित्रै आगो फुकेर तातो बनाउने गर्छन ।
यो बर्ष अधिक चिसो बढेपनि असोज यता पानी र हिउँ परेको छैन । पानी वा हिउँ पर्दा चिसो अझ बढ्ने भएपनि गहुँ, जौ लगाएत हिउँदे वालीलाई भने फाईदा पुर्‍याउँछ ।