- Loading...
म्याग्दी क्याम्पसमा विद्यार्थीबाट शुल्क अपचलन, विगतकै निरन्तरता
- पुनहिल डट कम
- ४ साल अघि
- १३० पटक पढिएको
दुर्गमका विद्यार्थीबाट क्याम्पस भर्ना गर्ने र परिक्षा फारम भरिदिने बहानामा शुल्क अपचलन गर्ने म्याग्दी क्याम्पसका कर्मचारीको पुरानै ‘घट्ना’को सोही क्याम्पसका विद्यार्थी नेताले पनि निरन्तरता दिएको आरोप लागेको छ ।
म्याग्दी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका उपसभापति रहेका इश्वर सुवेदीलाई मालिका गाउँपालिका, ६ दिच्याम घर भै म्याग्दी क्याम्पसमा स्नातक तह ब्यवस्थापन संकाय चौथो वर्षमा अध्ययनरत शिव आचार्यबाट भर्ना, मासिक शुल्क तथा परिक्षा शुल्क तिरिदिने भनि एकमुष्ठ २२ हजार ५ सय रुपैयाँ लिएपनि भर्ना नगरिदिएको आरोप लागेको छ ।
विद्यार्थी आचार्य भने अन्तिम परिक्षाबाट वन्चित भएका छन । गत मंसिर २९ गतेबाट सुरु भएको चौंथो वर्षको अन्तिम परिक्षामा सहभागी हुन क्याम्पसमा प्रवेश पत्र लिए पुगेको आचार्यको भर्ना नभएको र परिक्षा फारम समेत नभरिएको भेटिएपछि रहस्य खुलेको हो । भर्ना शुल्क दुरुपयोग आरोपित सुवेदी यस अघि पनि कक्षा ११ र १२ का विद्यार्थीको परिक्षा शुल्क दुरुयोग गरेको विवादमा फस्दै आएका थिए ।
आरोपित सुवेदी आवद्ध अनेरास्ववियुका जिल्ला अध्यक्ष सुभाष विश्वकर्माले सामाजिक संञ्जाल फेसवुकमा आफ्नो संगठनका सचिवालय सदस्य वारेमा उठेका विषयमा छानविन गर्न उनलाई जिम्मेवारीबाट निलम्बन गरेको जनाएका छन । आरोपित सुवेदीसँग प्रतिकृया लिन मोवाईल सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
मालिका गापाको दरवाङ स्थित एक बचत तथा ऋण सहकारीमा कार्यरत रहेका आचार्यले आफै क्याम्पसमा उपस्थित हुन नसक्ने भएपछि विश्वासका आधारमा स्ववियु उपसभापति रहेका सुवेदीलाई वैंक मार्फत रकम पठाई भर्ना, मासिक शुल्क र परिक्षा शुल्क बुझाउन लगाएका थिए ।
‘परिक्षामा सामेल हुन वन्चित भएका आचार्य क्याम्पसका नियमित तर्फका विद्यार्थी भएकोले र परिक्षा फारम भर्दा परिक्षार्थी स्वय आफै उपस्थित भै फारममा दस्तखत गर्नु पर्ने नियम छ । तर सुवेदीलाई बुझ्दा अन्तिम दिन रकम पठाएको र सोही दिन अन्य धेरै जनाको फारम पर्दा आचार्यको भर्ना र फारम भर्न छुटेको भनी स्वीकार गरेका छन’ क्याम्पस प्रमुख गोरखबहादुर जिसीले भने, ‘क्याम्पसमा बर्षेनी ड्रप आउट हुनेको संख्या बढ्दो हुन्छ । हामीले परिक्षा फारम भर्ने अन्तिम मिती अघि सवै विद्यार्थीलाई फोन र अन्य माध्यमबाट जानकारी गराउँछौं । आचार्यलाई पनि गराएका हौं । उठेको विषय ब्यक्तिगत लेनदेन हो, क्याम्पस जोडिनु जरुरी छैन ।’
दुर्गमका विद्यार्थीबाट रकम लिएर क्याम्पसमा भर्ना तथा परिक्षा फारम नभरी विद्यार्थीलाई बार्षिक परिक्षाबाट वन्चित गरिदिएको स्ववियु उपसभापति सुवेदीको कृत्य पहिलो भने होईन । क्याम्पस श्रोतका अनुसार यस अघि पनि पटक–पटक क्याम्पसका कर्मचारीले विद्यार्थीबाट भर्ना शुल्क लिएर भर्ना नगर्ने, परिक्षा शुल्य फारम नभर्ने गरेका घट्ना गुपचुप पार्ने गरिएको थियो ।
केही वर्ष अघि पनि क्याम्पसका कमचारीले विद्यार्थीबाट परिक्षा फारम भर्ने शुल्य लिएपनि फारम भर्न छुटाई दिएका थिए । तर यो घट्नालाई क्याम्पस प्रशासनले ढाकछोपगरी उल्टै नक्कली प्रवेश पत्रमा परिक्षामा सहभागी गराएपनी ति विद्यार्थीको उत्तर पुस्तिकालाई झिकेर बाँकी उत्तर पुस्तिका मात्र परिक्षणकालागी पठाएको थियो । क्याम्पसले परिक्षा फल आउँदा विद्यार्थीलाई क्याम्पसले ‘परिक्षामा असफल भएको’ झुठो जानकारी गराई अर्को वर्ष मात्र परिक्षामा पुन: सामेल गराएको थियो ।
क्याम्पस श्रोतका अनुसार केही वर्ष अघि बेनी नगरपालिका, १ अर्जम घर भएकी थापा थरकी एक छात्रा विएड तेस्रो वर्षको परिक्षा दिन प्रवेश पत्र लिन आउँदा परिक्षा फारम भर्न छुटेको खुलेपछि ति छात्राले फारम भर्न लेखा प्रशासनमा रकम बुझाएको आरोप लगाएकी थिईन । यो विषयमा ति छात्रा र क्याम्पस विच विवाद नै भएको थियो ।
यसरी टाढा र ग्रामिण भेगका सोझा विद्यार्थीबाट भर्ना गरिदिने, परिक्षा फारम भरिदिने भन्दै लाखौं ठग्ने कर्मचारीबाट क्याम्पस प्रशासनले कारवार्हीको साटो राजनैतिक संरक्षणमा मासिक तलवबाट कट्टागरी असुल गराएको प्रशंग क्याम्पस प्रशासन बृत्तमा फेरी उठेको छ ।