सुन्तला : फ्रुट फ्लाई, कोरोना र वर्षा

२७ मंसिर २०७७, शनिबार ०९:०८ मा प्रकाशित (7 महिना अघि)
पुनहिल संवाददाता

म्याग्दीका सुन्तलालाई यस वर्ष फ्रुट फ्लाई (फलफुल भिंmगा), कोरोना र बर्षाको तेहेरो मार परेको छ ।
मंसिरमा वगानमा सुन्तला पाकेर पहेंलै हुनु पर्ने तर अझै वोटमा सुन्तला पहेंला भएका छैनन । अघिल्ला वर्ष मंसिर अन्तिम सातासम्म ब्यापारीले सुन्तला टिपेर बगान खाली भैसक्थ्यो, यो वर्ष कोरोना कहर देखाएर ब्यापारी अझै आएका छैनन ।
‘फ्रुट फ्लाई’ (फलफुल झिंगा) संक्रमणले सुन्तलामा औस (किरा)परेपछि उत्पादनमा ह्रास आएको छ । बगानमा लटरम्म परेका सुन्तला पाक्न थालेसँगै औस किरा परेर झर्न थालेपछि कृषक चिन्तित भएका छन । प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना सुन्तला जोन म्याग्दीका अनुसार जिल्लाका सवै ५ सयबढी हेक्टर क्षेत्रफलमा लगाईएको सुन्तला वगैचामा औस पर्ने समस्या देखिएको छ । प्राविधिक ज्ञान अभावले समयमै संक्रमण रोगथाम नहुँदा फल पाकेर बजार पुर्‍याउने वेला मुखमै आएको वाली खेर जानथालेपछि कृषक आत्तिएका हुन । कृषकहरुका अनुसार ‘फ्रुट फ्लाई’ संक्रमणबाट ५० प्रतिशतसम्म उत्पादनमा ह्रास भएको हो ।


‘हामीलाई समयमै सुन्तलाको फलमा औस पर्ने समस्याको उपचार कहिले, कसरी गर्ने भन्ने ज्ञान नै भएन । एक घन्टा पर सुन्तला जोनको कार्यालय भएपनि कहिल्यै प्राविधिक आएर हामीलाई रोग र उपचारबारे बताएनन’ बेनी नगरापालिका, ४ बास्कुना स्थित अगुवा कृषक तिलक गुरुङले भने, ‘अघिल्लो वर्ष पनि फाट्टफुट्ट यो समस्या देखिएको थियो । हामीलाई ज्ञान भएन, प्राविधिक आएर कहिल्यै भनेनन । सुन्तला वेचेर पैसा हातमा थप्ने वेला औस किरा हात लाग्यो ।’
सुन्तलामा फुल झरेर फल लाग्ने सयम (चैत–जेठ) महिनामै ‘फ्रुट फ्लाई’ ले फलमा अण्डा पार्ने र सोही अण्डाबाट निक्लेका लार्भा विस्तारै फल भित्र पस्ने भएकोले त्यही समयामा सुन्तलाको वोटमा आर्कषण पासो राखेर झिंङ्गा मार्नु नै यो रोगको खास उपचार हो ।
कृषी प्राविधिकका अनुसार अहिले औस परेर झरेका फलभित्रका किरा (लार्भा) माटोमुनी दवेर वस्छन । चैत–जेठसम्म प्युपा बन्छन र विस्तारै एक प्रकारका झिंङ्गा बनेर निक्लन्छन । ति झिंङ्गा फेरी सुन्तला, कागती जस्ता अमिला जातका फलफुलको वितिलामा गै वस्छन र त्यहीं अण्डा पर्ने गर्छन । ‘फ्रुट फ्लाई’ अण्डा पार्ने सयममा नै भाले झिङ्गालाई मार्नु सही उपचार विधी हो । फलमा औस परेर झरेपछि फलमा बाहिरबाट विषदी छर्केर यो समस्या समाधान हुँदैन ।


‘सुन्तला समेत अमिला जातका फलफुलमा औस (किरा) पर्ने समस्याको समाधान भनेकै फलमा भएको किरालाई माटो भित्र जान नदिने हो । रोग नियन्त्रण गर्न कृषकले किरा परी झरेका फललाई छिटोछिटो टिपेर प्लास्टिकमा राखेर विषदी राखी नष्ट गर्नु उत्तम विकल्प हो’ सुन्तला जोन प्राविधिक इकाईकी प्राविधिक रुपा विकले भनिन, ‘सुन्तला जोनमा म एक्ली कर्मचारी छु, बाग्लुङ र म्याग्दीकागरी ८ वटा स्थानिय तह हेर्नु पर्छ । प्रशासन हेर्दा प्राविधिक फिल्ड छुट्ने गरेको हो । समस्या विकराल बनेपछि कृषी ज्ञान केन्द्रसँग सहकार्य गरी कृषकको वारीमा पुगी रोग नियन्त्रणको प्रयास थालेका छौं । यो वर्ष किरा परेका फलभित्रका लार्भा ब्यवस्थापन गर्न सकियो भने अर्को वर्षको उत्पादन जोगाउन सकिन्छ ।’
त्यसैगरी मंसिर सुन्तला पाक्ने पीक सिजन हो । यतिवलेला बगानमा कृषकलाई सन्तला टिप्न भ्याई नभ्याई हुनु पर्ने हो तर मंसिर अन्तिमसम्म सुन्तला हरिया नै छन । गुलियो पस्ने वेला (असोजसम्मै) अधिक वर्षाले सुन्तला रसिला भएपनि पाक्न भने ढिला भएको हो । अधिक वर्षाको कारण मनसुन रोकिएपछि माटोमा लामो समय चिस्यान कायम भएकोले सुन्तला मात्र होईन अन्य अन्नवाली पनि पाक्न केही ढिलाई भएको कृषकले बताए ।

‘पारिलो र सुख्खा क्षेत्रमा सुन्तला पाक्न थालेपनि ओसिलो क्षेत्रमा भने अझै सुन्तला हरिया नै छन । सुन्तलाको चिलिङ टेम्प्रेचर ढिला हुँदा अझै गुलियो पसेको छैन’ अन्नपूर्ण गाउँपालिका, ७ दोसल्लेकी कृषक तमायाँ शेरपुजाले भनिन, ‘फल त माघमा पाकेर गुलियो भएपछि टिपौंला, मुल्य पनि बढी पर्ला तर औस किराले पो सत्यानास बनायो । आधाबढी क्षति भैसक्यो ।’


जिल्लाको बेनी नगरपालिका, मालिका, मंगला, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका दाना, घार, दोसल्ले, पिप्ले, महभिर, काउलेगौंडा, पाल्लेखेत, तातोपानी, राखु, सुर्केमेला, थामडाँडा, बास्कुना मरेक, बरंजा, अर्मन, फुलवारी, बिम, ताम्ला, दोवा, भगवती, देविस्थान र ओखरबोटको ५ सयबढी हेक्टर क्षेत्रफल समेटेर ‘सुन्तला जोन’ स्थापना भएको हो ।
सुन्तला जोन बेनी इर्काको तथ्याड्ढ अनुसार आव ०७६/०७७मा बेनी नगरपालिकाबाट १ हजार ४ सय ११ मे.टन, अन्नपूर्णबाट ६ सय ४४ मे.टन, मंगलाबाट ४ सय ९० मे.टन, मालिकाबाट ७ सय १० मे.टन र रघुगंगा गापाबाट ४ सय ३३ मे.टन सुन्तला पोखरा, नारायणगढ, काठमाण्डौसमेतका सहरमा विक्रिगरी ३ करोड बढी नगद भित्राएका थिए ।
तथ्याङक अनुसार यस वर्ष जिल्लामा ४५ हजारबोटमा सुन्तला फल्छन । थप ४० हजारबोटले आगामी ३ बर्ष भित्र फल दिन थाल्ने अवस्थामा छन । अघिल्लो बर्षभन्दा उत्पादन दिने बोट बढेर ४५ हजार ब्यवसायीक बोटबाट तीन हजार पाँच सय मेट्रिक टन सुन्तला उत्पादन हुने अनुमान रहेको छ । तर यस वर्ष सुन्तलामा औस (किसा पर्ने रोग)ले ब्यापक क्षति पुर्‍याएकोले उत्पादन ह्वात्तै घट्ने देखिएको छ ।
‘कृषकले सुन्तला उतपादनमा ५० प्रतिशतसम्म ह्रास आउने बताएपनि २५–३० प्रतिशतसम्म क्षति पुग्नसक्ने आंकलन गरेका छौं’ सुन्तला जोनकी प्राविधिक विकले भनिन, ‘औस पर्ने समस्या जिल्लाभरी देखिएको भएपनि सवै बगैचाको सवै वोटमा देखिएको छैन । नयाँ र राम्रो ग्रेड दिने वोटमा समस्या नभएकोले उत्पादन घटेपनि मुल्यमा समायोजना हुने छ ।’


त्यसैगरी यस वर्ष सुन्तलामा रोग मात्र होईन, कोरोनाको पनि प्रभाव परेको कृषकले बताएका छन । कोरोना कहरले बजार र मुल्य नभएको भन्दै कृषकको बारीबाट उठाएर उपभोक्तासम्म पुर्‍याउने थोक ब्यापारी (विचौलिया)हरु सुन्तला टिप्न बगैचामा आएका छैनन ।
‘मंसिर अन्तिमसम्म अघिल्ला वर्ष बगान खाली भैसक्थ्यो तर यस वर्ष ब्यापारीहरु बगैचामा आएका छैनन । फोन सम्पर्कमा आएकाले पनि कोरोनाले गर्दा बजार नभएको र मुल्य नपाएको भन्दै पन्छने गरेका छन’ बेनी नपा, ४ स्थित सुन्तला वैगैचा बास्कुनाका तिलक गुरुङ्गले भने, ‘जाँगरिला र उत्साही कृषक, प्रयाप्त सिंचाई, प्राराङ्गारिक मलको ब्यवस्था गऱ्यौं । तर प्राविधिक ज्ञान र सहयोग नहुँदा सुन्तलामा रोगले आक्रमण गऱ्यो, सुन्तला वेचेर पैसा हालमा पर्ने बेला विचौलियाले कोरोना देखाएर विचौलियाले कृषकलाई मुल्यमा ठग्ने प्रयास भैरहेको छ ।’
ग्रामिण वस्तीसम्म सडक पहुँच पुगेपछि कृषकले शुरु गरेको ब्यवसायीक सुन्तला खेतीले परम्परागत जीवनशैलीमा परिवर्तन ल्याउन थालेको छ । बास्कुना कृषी सहकारीका अनुसार बेनी नगरपालिका, ४ सुर्केमेला, बास्कुना र थामडाँडा वस्तीका ७० जना कृषकले मात्र अघिल्लो वर्ष ४५ लाखबढी सुन्तला बेचेर आम्दानी गरेका थिए ।


मुलुकमा उत्पादन हुने फलफूल मध्ये एक तिहाई बजार सुन्तला तथा जुनारको रहेको कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । सुन्तला फ्रेसभन्दा बढी जुसको रुपमा चीन तथा भारतमा विक्रिहुने हुँदा ब्यापारी झोलामा पैसा बोकेर कृषकको बारीमै पुग्ने गरेका छन । भारत र चीन नेपाली सुन्तला जुसका मुख्य बजार हुन् । ग्रामिण वस्तीसम्म सडक पहुँच पुगेपछि कृषकले शुरु गरेको ब्यवसायीक सुन्तला तथा तरकारी खेतीले परम्परागत जीवनशैलीमा परिवर्तन ल्याउन थालेको छ । भनिन्छ, सडक पुग्न गाहे, पुगेपछि अन्य विकासका पूर्वाधार पछ्याउँदै आउँछन । यहाँका ग्रामिण वस्तीमा सडकले स–सानो कृषी क्रान्ति गरिरहेछ ।
ग्रामिण सडक उत्पादनशील हुनु पर्छ । नगद आम्दानी विना जीवनस्तर उकासिन सक्दैन । सडक भए यातायात चल्छ, ढुवानी सहजहुँदा गाउँको उत्पादन बजार पुग्छ, दैनिक उपभोग्य बस्तु सस्तो मुल्यमा दैलोमा आईपुग्छ । सडक दैलोमा पुगेपछि म्याग्दीका कृषकले सुन्तलालाई ब्यवसायीकरण गर्ने प्रयत्न थालेका हुन ।